कास्की । पोखरामा यही पुस ११ गतेदेखि २१औँ संस्करणको ‘माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस’ प्रतियोगिता सञ्चालन हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रतियोगिताको सबै तयारी सकिएको आयोजकले आज पत्रकार सम्मेलनमार्फत जनाएको छ ।
यही पुस १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिला तथा पुरुषतर्फ ‘सिंगल्स’ र ‘डबल्स’ तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्ष माथि उमेर सूमहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवं कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष नवीन चालिसेले जानकारी दिए । प्रतियोगितामा सहभागिताका लागि नेपालका विभिन्न प्रदेश र जिल्लासहित छिमेकी देश भारत, भुटान, बेलायत, जापान, हङकङलगायतका मुलुकबाट खेलाडी पोखरा आइपुगेका छन् ।
खुलातर्फ नेपालका शीर्ष वरीयताका प्रदीप खड्कासहित जितेन्द्र परियार, कमल भण्डारी, आरभ सम्राट हाडा, नेहालजंग थापा, रोहित सुनुवार, मनोज राणा र महिलातर्फ सुनिरा थापा, सलोनी तामाङ लगायतका खेलाडीको सहभागिता रहने प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले बताए ।
अधिकारीका अनुसार पुरुष एकलतर्फ ३१ खेलाडी, महिला एकलमा ११ खेलाडी, ३५ वर्षमाथि ३२, ४५ वर्षमाथि २९ खेलाडी, ५५ वर्षमाथि २० जनासहित एक सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
महिला तथा पुरुष एकलतर्फ विजेताले नगद ८० हजार रुपैयाँ उपविजेताले ४० हजार रुपैयाँसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद २० हजारसहित मेडल पुरस्कार प्राप्त गर्नेछन् ।
महिला तथा पुरुष डबल्सतर्फ विजेताले नगद ३० हजार रुपैयाँ उपविजेताले १५ हजार रुपैयाँसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १० हजारसहित मेडल पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक चालिसेले जानकारी दिए ।
यसैगरी, ३५ वर्षमाथिको एकलतर्फ विजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १५ हजारसहित मेडल पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी ३५ वर्षमाथिको डबल्स बिजेताले नगद २० हजार उपविजेताले १० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १० हजारसहित मेडल पुरस्कार प्राप्त गर्नेछन् ।
आयोजकका अनुसार ४५ वर्षमाथिको एकलतर्फ विजेताले नगद ४० हजार, उपविजेताले २० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १० हजारसहित मेडल र पुरस्कार प्राप्त गर्नेछन् । ४५ वर्षमाथिको डबल्स विजेताले नगद २० हजार, उपविजेताले १० हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्ने बताइएको छ ।
नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले यो प्रतियोगिता नेपालकै टेनिस इतिहासमा सबैभन्दा लामो समयसम्म निरन्तर रूपमा आयोजना भएको र खेल पर्यटन प्रवर्द्धनका लागि सहयोगी भएको बताए । कास्की टेनिस संघका अध्यक्ष राजकुमार गुरुङले प्रतियोगिताले पोखराको खेल पर्यटनमा पनि महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।