काठमाडौं । भक्तपुरमा भएको कुलप्रसाद आचार्य र उनका छोरा प्रवीणको हत्या घटनाको प्रहरी अनुसन्धान कुलप्रसादकै जेठा छोरा मिलनतिर मोडिएको छ ।
खोटाङ स्थायी घर भएका आचार्य र छोरा प्रवीणको शव सोमबार बिहान भक्तपुर बालकोटको एक घरमा फेला परेको थियो । कुलप्रसाद जिल्ला हुलाक खोटाङका सुब्बा हुन् ।
शनिबार साँझ कुलप्रसाद, मिलन र प्रवीण सँगै खाना खाएर सुतेका थिए । तर, सोमबार बाहिरबाट ताल्चा लगाइएको र भित्र दुईवटा छुट्टाछुट्टै कोठामा शव फेला परेको थियो ।
जेठा छोरा मिलन फरार रहेकाले उनले नै हत्या गरेको आंशका भक्तपुर प्रहरीले गरेको छ । “धारिलो हतियार प्रयोग गरेर हत्या गरेको पाइएको छ । सँगै सुतेका जेठा छोरा फरार छन्, हामीले उनको समेत खोजी गरिरहेका छौँ,” जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले बाह्रखरीसँग भने ।
शवलाई भक्तपुर प्रहरीले पोस्टमार्टमका लागि त्रिवि शिक्षिण अस्पताल महाराजगञ्ज पठाएको छ । कुलप्रसाद कामका लागि केही दिन अघिमात्रै काठमाडौं आएका थिए ।