काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलअघि सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले जनकपुरलाई सहज प्रतिद्वन्द्वीको रूपमा नलिएको बताएका छन् ।
यसअघि, सुदूरपश्चिमले प्रतियोगिताको लिग चरणमा जनकपुरविरुद्ध ७२ रनको जित निकालेको थियो । लिग चरणको शीर्ष स्थानमा रहँदै प्लेअफ प्रवेश गरेको सुदूरपश्चिमले पहिलो क्वालिफायरमा पनि जनकपुरविरुद्ध आठ विकेटको जित निकालेको थियो ।
लिग चरणको दोस्रो स्थानमा रहँदै जनकपुरले भने दोस्रो क्वालिफायरमा कर्णालीविरुद्ध दुई विकेटको जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो ।
फाइनलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दीपेन्द्रले जनकपुरविरुद्ध यसअघि जित निकालेको भए पनि उनीहरूको टिम राम्रो भएको बताए ।
“यसअघिका खेलहरू सबै राम्रो भए । राम्रो भइरहेको छ, प्रशिक्षण पनि । भोलिका लागि तयार छौँ । हरायौँ भन्दैमा सहजरूपमा लिने होइन । उनीहरूको टिम पनि राम्रो छ । जसरी लिगका खेलहरू खेलेका थियौँ, त्यसरी नै खेल्ने छौँ । धेरै सोचेका छैनौँ । आफ्नो शतप्रतिशत दिनेछौँ,” दीपेन्द्रले भने ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनल खेल शनिबार मध्याह्न १२ः१५ बजेदेखि सुरु हुनेछ ।