काठमाडौं । भुटानको यू–१६ महिला टिमले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल यू–१९ टोलीविरुद्ध ५–१ को सहज जित निकालेको छ ।
शुक्रबार घरेलु मैदान दशरथ रंगशालामा भएको खेलमा पाहुना टिमलाई जित दिलाउन कुइन्देन सोनम चोङ्ग्याल र छिरिङ ल्हामोले समान दुई गोल गरे । यस्तै, युगेन चोमोले एक गोल थपिन् । नेपालकी सविना तामाङले सान्त्वना गोल फर्काइन् ।
खेलको २५औँ मिनेटमा चोङ्ग्यालको गोलमा भुटानले अग्रता बनाएको थियो । ३६औँ मिनेटमा ल्हामोले पाहुना टिमको अग्रता दोब्बर बनाइन् । ४०औँ मिनेटमा ल्हामोले नै दोस्रो गोल गरेपछि भुटानले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो ।
६६औँ मिनेटमा चोङ्ग्यालले गोल गर्दै भुटानलाई ४–० को अग्रतामा राखिन् । यस्तै, ८४औँ मिनेटमा चामोले गोल गरेपछि भुटानले अग्रतालाई ५–० मा पूर्याएको थियो ।
८६औँ मिनेटमा नेपालकी सविनाले सान्त्वना गोल फर्काइन् ।
अब नेपालको यू–१९ महिला टोलीले आइतबार भुटानको यू–१९ टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने छ ।