site stats
बाह्रखरी :: Baahrakhari
देश
असईमाथि १३ हजार रुपैयाँ घुस लिएको आरोप, जिल्ला तानिए

विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा कार्यरत नेपाल प्रहरीका असईमाथि घुस लिएको आरोप लागेको छ । उनलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान थालिएको छ ।

प्रहरीको सीआरभी युनिट केसलियाका इन्चार्ज रामअवतार यादवमाथि १३ हजार रुपैयाँ घुस लिएको आरोप लागेको हो । उनी वडा प्रहरी कार्यालय विराटनगरमा कार्यरत थिए । उनलाई केही दिनअघि सीआरभी इन्चार्जको जिम्मेवारीमा पठाइएको थियो ।

Argakhachi Cement Island Ad

सुनसरीको देवानगन्ज गाउँपालिका–७ का इन्द्रदेव यादवसँग घुस लिएको आरोप लागेको हो । विराटनगर–१८, भेडियारी बस्ने आफन्तलाई दिएको सापटी रकमवापतको एक लाख ७५ हजार रूपैयाँ बोकेर इन्द्रदेव आफ्नो घर फर्कने क्रममा सीआरभीको चेकिङमा परेका थिए । रकम बरामद भएपछि त्यही बेला नियन्त्रणमा लिएर असई रामअवतारले १३ हजार रूपैयाँ लिएको आरोप लगाएका छन् ।

शनिबार राति ८ः३० बजेतिर सीआरभीकै गाडीमा राखेर इन्द्रदेवलाई नहरतिर लगेको र करिब २ घण्टासम्म नियन्त्रणमा राखेपछि पैसा मागेको उनले बताएका छन् । 'किन यति धेरै पैसा लिएर हिँडेको भन्दै असई यादवले मुद्दा चल्यो भने जेल जानुपर्छ' भन्दै डर देखाएर पैसा मागेको इन्द्रदेवको दाबी छ । 

घटना बाहिर आएपछि असई रामअवतारलाई गत सोमबार सीआरभी नेतृत्वको जिम्मेवारीबाट हटाइएको छ । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तानिएको छ । असईले घुसवापत लिएको दाबी गरिएको रकम भने बरामद नभएको जिल्ला प्रहरी कार्याल मोरङले जनाएको छ ।

घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयले डीएसपी कोपिला चुँडालको नेतृत्वमा छानबिन समिति बनाएको छ । मोरङका एसपी नारायणप्रसाद चिमरियाले घटनाबारे समितिले छानबिन गर्ने बताएका छन् । 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  २०:१५
प्रतिक्रिया दिनुहोस्