site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस बैठक : चुनावका बागी र अन्तर्घातीमाथि कारबाही गरिँदै

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका केही पदाधिकारी र अनुशासन समितिबीच गएका चुनावमा अन्तर्घात गर्नेहरूमाथि कारबाही गर्ने सन्दर्भमा छलफल सुरु भएको छ ।

शुक्रबार सभापति निवास बूढानीलकण्ठमा बसेको बैठकमा ०७९को निर्वाचनमा स्थानीय, प्रदेश र संघीय चुनावसम्म पार्टीमाअन्तर्घात गरेको भनी परेका उजुरीमा छलफल भएको अनुशासन समितिले जनाएको छ ।

छलफलमा सभापति देउवासहित उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिए । 

Argakhachi Cement Island Ad

त्यस्तै, अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगानासहित सदस्यहरू ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जय गौतम र राजीव कोइराला सहभागी थिए । 

गत आइतबारको पदाधिकारी बैठकबाट आफ्नै गृहमन्त्री रमेश लेखकको सामाजिक सञ्जाल र मिडियामा आएका अप्रमाणित समाचारका भरमा राजीनामा मागेको भन्दै नेता डा. शेखर कोइराला, तथा सांसद सुनिल शर्मा र राजेन्द्र बजगाईंलाई स्पष्टीकरण सोध्ने भनिएको थियो । 

अनुशासन समितिमा कुनै उजुरी नपरेकाले त्यो जिम्मा अनुशासन समितिलाई आउनसक्ने आकलन समितिका संयोजक र सदस्यहरूको थियो । तर, बूढानीलकण्ठ बैठकमा उक्त विषय प्रवेश नै भएन ।

“आजको बैठक हामीले भएका प्रगति के–के छन् र अब कसरी काम गर्ने हो भन्ने विषयमा परामर्श लिनेमा केन्द्रित थियो,” समितिका संयोजक ढुंगानाले भने, “त्यसबाहेक अन्य नेताहरूको स्पष्टीकरणको विषय उठेन ।”

०७९को स्थानीस्य तह निर्वाचनदेखि संघीय निर्वाचनसम्म बागी उम्मेदवारी दिएका, पार्टीमा अन्तर्घात भएका तथा विपक्षी उम्मेदवारलाई सघाएकासहितका दुई हजार एक सय उजुरी अनुशासन समितिमा छन् । 

ती उजुरीको अध्ययन गरी प्रारम्भिक प्रतिवेदन केन्द्रीय समितिमा ब्रिफिङ गरिसकेको अनुशासन समितिले शुक्रबार थप अपडेटपिहतका ‘ब्रिफिङ’ गरेको छ । 

महामन्त्री गगन थापा नेतृत्वको सदस्यता वितरणसम्बन्धी अन्तिमपटक असार मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरी विवरणसहित शुल्क जम्मा गरिसक्न परिपत्र गरेको छ । त्यसलाई प्रभावित हुन नदिन असार १५ भित्र कारबाही सिफारिसपछि केन्द्रीय समितिको निर्णयसहित परिपत्र गर्ने कांग्रेसको तयारी छ । 

“सदस्यताको विवरण अध्यावधिक गरिसक्न पछिल्लोपटक असार मसान्तको समय तोकिएको छ, त्यसैलाई दृष्टिगत गरी असार १५ भित्र सिफारिस गरिसक्नू भन्ने भएको छ,” ढुंगानाले भने, “हामी कस्ता उजुरीमा कस्तो कारबाही गर्ने भन्ने मापदण्ड बनाउँदै त्यसैका आधारमा सिफारिस गर्छौं ।”

कांग्रेसमा २१ सयमध्ये केन्द्रीय नेताहरू, जिल्ला सभापतिहरू, क्षेत्रीय सभापतिदेखि विभिन्न तहको जिम्मेवारीमा रहेकासमेत चारसय बढी उजुरी छन् । उनीहरूलाई कसरी काम गराउने भनी पनि चाँडो निर्णय आवश्यक भएको कांग्रेसको केन्द्रीय कार्यालयले बताएको छ । 

सचिवालयका अनुसार, हालसम्म अनुशासन समितिको ३३ पटक बैठक बसेको तथा उजुरीका आधारमा ४२८ जनालाई स्पष्टीकरण सोधेको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १९:४७
प्रतिक्रिया दिनुहोस्