पोखरा । सहकारी ठगी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उक्त रक्तचाप देखिएको छ । उनलाई बुधबार पर्साबाट काठमाडौं हुँदै पोखरा विमानस्थलमा ल्याइएको थियो ।
पोखरा ल्याइएपछि लामिछानेको स्वास्थ्य परीक्षण गर्दा रक्तचाप १७० (सिस्टोलिक) र १०० (डायस्टोलिक) देखिएको रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले जानकारी दिए । फिस्टेल हस्पिटलमा स्वास्थ्य परीक्षण गराउँदा चिकित्सकले भर्ना गर्नुपर्छ भनेको रास्वपाका नेताहरूले बताएका छन् । तर, लामिछाने भने हिरासतमा नै फर्किएका छन् ।
लामिछानेमाथि आइतबार थपिएको म्याद बुधबार सकिएको छ । बिहीबार पुनः उनलाई म्याद थपका लागि अदालत लगिनेछ ।
रविलाई लैजाँदै गर्दा पोखरामा उनको समर्थनमा प्रदर्शन भइरहेको छ । काठमाडौंबाट गएका केही ‘स्वतन्त्र अभियन्ता’हरूको नेतृत्वमा प्रदर्शन भएको हो । प्रदर्शनपछिको सभामा उनीहरूले रविलाई निःशर्त रिहा गर्नुपर्ने माग गरेका छन् ।