काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरा प्रहरीले छैटौँपटक थुनामा राखी अनुसन्धान गर्न म्याद थप भएको छ । उनीमाथि छानबिनका लागि थप चार दिन म्याद दिइएको छ । जिल्ला अदालत कास्कीले थप चार दिन अनुसन्धानका लागि समय दिएको हो ।
गत मंसिर ९ गते पाँचौँपटक १५ दिन म्याद थपिएको थियो । त्यो म्याद पनि सकिएपछि आइतबार उनलाई थप १३ दिन थुनामा राखी अनुसन्धान गर्न म्याद थप्न प्रहरीले लामिछानेलाई कास्की अदालत पेश गरेको थियो ।
पछिल्लो समय चितवनको साहारा सहकारीको रकम अपचलनबारे बयानका लागि चितवन पुर्याइएका लामिछानेलाई मध्यरातमा पोखरा फर्काएपछि भने प्रहरीको आलोचना भएको छ । लामिछानेलाई मानवअधिकार हनन् हुने गरी रातका बेला पोखरा लगिएपछि प्रहरीको आलोचना हुन थालेको हो ।
लामिछानेका कानुन व्यवसायी सुशील पन्तले यसअघि नै लामिछानेलाई रातारात दुःख दिने नियतसाथ चितवनबाट पोखरा लगिएको भन्दै यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्न रास्वपालाई सुझाव दिएका थिए । पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा कार्तिक २ मा पक्राउ परेका लामिछानेविरुद्ध पाँच जिल्लामा सहकारी ठगी प्रकरणका पक्राउ पुर्जी जारी भएको छ ।
उनलाई कास्कीबाहेकका जिल्ला पुर्याएर बयान लिने क्रम जारी छ ।
उनलाई चितवनबाहेक, काठमाडौं, रुपन्देहीसमेत लगिएको थियो । पोखराबाट काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे काठमाडौं ल्याइएका उनलाई काठमाडौंबाट सिधै चितवन पुर्याइएको थियो ।
चितवनको साहारा सहकारीको रकम अपचलनबारे दुई दिन बयान लिएको प्रहरीले गएको बिहीबार भने रातारात पोखरा पुर्याएको थियो । मध्यरातकालीन व्यवहारले प्रहरी र सरकारमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लागेको छ ।
पक्राउ परेको एक महिनासम्म कुनै राजनीतिक दलका शीर्ष नेता उनलाई भेट्न थुनामा पुगेका थिएनन् । तर, चितवनबाट राति पोखरा पुर्याएपछि भने लामिछानेलाई भेट्न राजनीतिक दलका नेता पोखरा पुग्न थालेका छन् ।
शुक्रबारमात्रै पूर्वप्रधानमन्त्री एवं नेपाल समाजबादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले लामिछानेलाई भेटेका थिए । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै राज्यले लामिछानेमाथि राम्रो ढंगले व्यवहार नगरेको प्रतिक्रिया दिएका थिए ।
त्यस्तै शनिबार मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि भेटेका थिए । उनले पनि मानव अधिकारको गम्भीर हनन् भएको भन्दै संलग्न प्रहरी अधिकारीमाथि कारबाहीको माग राखेका थिए ।
त्यस्तै शनिबारमात्रै कांग्रेस नेता शेखर कोइरालाले पनि एक कार्यक्रममा कांग्रेस लोकतन्त्र र मानव अधिकारको पक्षमा रहने पार्टी भएको भन्दै रविमाथिको व्यवहार कुनै पनि हालतमा मानवअधिकारको पक्षमा नरहेको बताए ।
उनले भनेका छन्, “सहकारी प्रकरणमा अदालतको कुरा हो । त्यो आफ्नो प्रक्रिया होला । तर, रातिको १२ बजे उठाए हिँडाउनु मानव अधिकारको उल्लंघन हो । अमानवीय व्यवहार भयो । कसैलाई पनि यस्तो व्यवहार गर्नु हुँदैन ।”
के भन्छ प्रहरी ?
चितवन प्रहरीले भने रविलाई राति पोखरा लैजानुका पछाडिका सुरक्षा चुनौती मानेको छ । गएको बुधबार लामिछानेको स्वतन्त्र पार्टीले चितवनको चौबिसकोटीबाट रिहाइको माग गर्दै गरेको प्रर्दशन जिल्ला प्रहरी कार्यालयसम्मै पुगेका थियो ।
जिल्ला प्रहरी कार्यालय अगाडि पुगेपछि प्रहरीले बल प्रयोग गरेको थियो । त्यही क्रममा केही प्रहरी र लामिछानेका समर्थक घाइते भएका थिए । बिहीबारसमेत लामिछानेका समर्थकले चौबिसकोटीबाट नै प्रर्दशन गर्ने बताएका थिए ।
तर, बुधबार नै बयान सकिएपछि उनलाई त्यही रात चितवनबाट पोखरा लगिएको हो ।
चितवन प्रहरी स्रोतले बिहीबार हुने प्रर्दशनलाई मध्यनजर गरेर आफूहरूले सुझबुझपूर्ण तरिकाले लामिछानेलाई पोखरा लगिएको बताए । ती अधिकारीले भने, “बुधबार नै हाम्रो कार्यालयको गेटसम्म नै प्रर्दशनकारी आएका थिए । बल प्रयोगसमेत गर्नुपर्यो । बिहीबारसमेत लामिछानेका समर्थक महिलाहरूले सडकमै सुतेर प्रर्दशन गर्ने योजना बनाएको सूचना पाएपछि हामीले राति नै पोखरा लिने नियर्ण गरेका हौँ । बिहीबार मात्रै लगेको भए प्रहरीले बल प्रयोग गर्नुपर्ने अवस्था आउन सक्थ्यो ।”
वाग्मती प्रदेश प्रहरी प्रमुख डीआईजी कृष्णहरि शर्माले लामिछानेलाई सुतेपछि उठाएर भने नलगिएको दाबी गरे । उनले भने, “बयान केही ढिलो गरी सकियो । हामीले खाना खाएर करिब १२ बजेतिर नै लगेका हौँ । तर, उहाँलाई सुतेर उठाएको भन्ने कुरा गलत हो ।”
बिहीबार चितवन–पोखराको एउटा फ्लाईट मात्रै हुने र मौसमको कारण उडानलाई मध्यनजर गरेर राति लगिएको बताए । उता लामिछानेले भने आफूलाई भेट्न पोखरा पुग्ने नेता कार्यकर्तालाई आफू सुतेका बेला प्रहरीले उठाउँदै लगेको र आफ्नो डायरीसमेत प्रहरीले नियन्त्रणमा राखेको बताउँदै आएका छन् ।
प्रहरीको केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले सुरक्षाका जोखिमबारे प्रहरीले विश्लेषण गरेर राति पोखरा पुर्याएको बताए ।
त्यसो त, लामिछाने पक्राउ लगत्तै चितवनमा उनका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको र सुरक्षा गर्न नसकेको भन्दै गृहमन्त्रालयले चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवलाई हटाएको थिए ।
त्यहीदिन प्रहरी प्रधान कार्यालयले चितवनका एसपी भावेश रिमाललाई तानेर एसपी गौमत मिश्रलाई पठाएको थियो । रास्वपाले भने मानवअधिकार उल्लंघन भन्दै उजुरी दिएको छ ।
यस्तो छ रास्वपाले दिएको उजुरी