site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘छक्का पञ्जा’ टिमसँग काम गर्न तयार छु, मनमुटाव स्वाभाविक थियो (भिडियोवार्ता)
Tiktok banner adTiktok banner ad

काठमाडौं । काँचको पर्दा हुँदै रजतपटमा उक्लिएका कलाकार जितु नेपाल पछिल्लो समय चलचित्रमा व्यस्त छन् । जितु चरित्र अभिनेता हुँदै मुख्य भूमिकामा आइसकेका छन् । जितु मुख्य भूमिकामा रहेको चलचित्र ‘ज्वाइँ साब’ गएको दसैँमा रिलिज भएको थियो । ‘ह्यारी कि प्यारी’मा पनि उनी मुख्य भूमिकामा थिए, जुन चलचित्रले उनलाई हिरो बन्ने अवसर प्रदान गरेको थियो ।

समय फेरियो, दर्शक फेरिए । मेकर नयाँ आए, कथा भन्ने शैलीमा बदलाव आयो । अनि, मौका पाउन थाले सहायक भूमिकामा काम गर्दै आएका जितुलगायत कलाकारले । योसँगै भत्कियो टल एन्ड हेन्डसम व्यक्ति मात्र हिरो हुन्छ भन्ने मानक ।

अहिले व्यक्तिभन्दा पनि कथा हिरो हुने समय आएको जितु बताउँछन् । त्यसको उदाहरण विजय बराल र आफू स्वयं भएको उनको भनाइ छ । त्यसो त यसको श्रेय दयाहाङ राई, सौगात मल्ललाई पनि जाला । त्योभन्दा अगाडि जाने हो भने पनि केही चलचित्र र यस्ता पात्र छन् ।

jitu-nepal4-1733205620.jpg
नेपाली दर्शकको टेस्ट परिवर्तन हुँदै गएको जितुले महसुस गरेका छन् । दर्शकले ठेट नेपाली चलचित्र हेर्न थालेको उनको निष्कर्ष छ । त्यसैले यसलाई उनी आत्मसात् गर्दै छन् । 

कसरी ? 

जितु आफैँ चलचित्र बनाउँदै छन्, जसमा लगानी केही साथीसहित उनी स्वंयले गर्नेछन् । कथा लेख्दै छन् । अभिनय गर्दै छन् । निर्देशन आफैँ गर्दै छन् । र, यो चलचित्र हुनेछ ठेट नेपाली । उनकै शब्दमा– आमनेपालीका दुःखसुख समेटिएको चलचित्र हुनेछ । दर्शकले हेर्न चाहेजस्तो हुने उनको दाबी छ ।

भलै, सबै चलचित्र चल्छन् भन्ने छैन । सबै राम्रा चलचित्र चल्दैनन् । र, चलेका सबै चलचित्र राम्रा हुँदैनन् । जितु यो तथ्यलाई स्वीकार गर्छन् । उनी सिनेमा चल्ने र नचल्ने विषयमा केही पक्ष भाग्यमा पनि छोड्छन् । यसको आधार उनी कति राम्रा चलचित्र नचलेको र औसत सिनेमा चलेको विगतलाई मान्छन् । 

० ० ०

मुख्य भूमिकामा देखिइसकेका जितुले अब सहायक रोल स्वीकार गर्छन् कि गर्दैनन् ? मुख्य भूमिकामा नै हुनुपर्छ भन्ने अबको उद्देश्य नभएको उनी बताउँछन् ।

“यही चलचित्रमा काम गर्न पाए हुन्थ्यो भनेर वर्षौँ संघर्ष गरियो । हिरो पाउँदा मात्रै खेल्ने, सहायक भूमिका नखेल्ने भन्ने हुँदैन,” उनी प्रस्ट पार्छन्, “कस्तो रोल छ भनेर हेर्छु होला । तर, सहायक रोल गर्दिनँ भन्ने हुँदैन । मेरो रोलको प्रभाव कति छ भन्ने मुख्य कुरा हो । दुई सिन मात्रै छ भने पनि राम्रो छ भने त्यसले अर्थ राख्छ । त्यस्तो रोल लामो होस् वा छोटो खेल्छु ।”

jitu-nepal3-1733205646.jpg
जितु कुनै समय ‘छक्का पञ्जा’का कलाकार थिए । दीपकराज गिरी र दीपाश्री निरौलाको टिममा थिए । सँगै काम गर्थे । सिनेमा मात्र होइन, अरू कार्यक्रममा पनि उनीहरूको सहकार्य थियो ।

तर, दीपक–दीपा र जितुले सहकार्य टुंग्याए । उनीहरूले छुट्टाछुट्टै काम गर्न थालेको पनि धेरै भइसक्यो । ‘छक्का पञ्जा’सँगको सहकार्य टुटेपछि नै जितुले ‘ह्यारी कि प्यारी’मा मुख्य भूमिकामा काम गर्ने मौका पाएका थिए । मुख्यसँगै सहायक भूमिकामा पनि जितुले काम गरिरहेका छन् ।

‘छक्का पञ्जा’बाट सहायक क्यारेक्टरका निम्ति अफर आए जितुले के गर्लान् ? गर्दिनँ भन्नुपर्ने कुनै कारण नरहेको उनी प्रस्ट पार्छन् । आफू जुनसुकै टिमसँग कार्य गर्न स्वतन्त्र रहेको र दिएको पात्र चित्त बुझे काम गर्ने उनी बताउँछन् । चरित्र र पारिश्रमिक चित्त बुझे काम गर्न तयार रहेको उनले सुनाए ।

“सबै आफ्ना हुन्, सबै सहकर्मी हुन् । काम गर्दै जाँदा मनमुटाव हुन्छ होला, त्यो स्वाभाविक हो । आफ्नै दाजुभाइसँग त कति लामो समय भेटघाट र बोलचाल हुँदैन । साथीभाइ र काम एकै ठाउँ गर्ने भन्ने हुँदैन,” जितु भन्छन्, “त्यसैले योसँग काम गर्ने योसँग नगर्ने भन्ने हुँदैन । हिजो कलाकार बन्न पाए हुन्थ्यो भनेर खाली पेट र खाली खुट्टा संघर्ष गरियो । आज त्यही काम पाउँदा योसँग गर्ने र नगर्ने भन्ने हुँदैन ।”

jitu-nepal5-1733205686.jpg
काँचको पर्दाका कलाकार हुन् वा स्टेजका, पछिल्लो समय अधिकांशको गन्तव्य रजतपट बनेको छ । किन ? टेलिभिजन कार्यक्रम सुस्ताउनु मुख्य कारण भएको उनको भनाइ छ । 

टेलिभिजनका दर्शकलाई लक्षित गरे युट्युबतिरका छुट्ने, युट्युबका दर्शकलाई लक्षित गरे टेलिभिजन हेर्नेबाट कन्टेन चिप भएको प्रतिक्रिया आउने उनी बताउँछन् । त्यसैले सानो पर्दाका कलाकारको गन्तव्य सेतो पर्दा हुने गरेको उनको ठहर छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro