काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टोली जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साहले प्रतियोगितामा सहभागी सबै टिम राम्रो रहेकाले अंक लिनु महत्त्वपूर्ण भएको बताएका छन् ।
लिगको पहिलो खेलमा शनिबार जनकपुरले विराटनगर किंग्सविरुद्ध आठ विकेटको जित निकाल्दै सुखद सुरुआत गरेको छ । खेलपछि पत्रकारसँगको कुराकानीमा पहिलो जितले टिम उत्साहित रहेको अनिलले बताए ।
“पहिलो जितको आशा सबै टिमले गरेका हुन्छन् । पहिलो खेलमा दुई अंक लिन पाउँदा टिमका सबै खेलाडी उत्प्रेरित छन् । सबै खेल महत्त्वपूर्ण छन् । प्रतियोगिताका सबै टिम राम्रा छन् । यसले पनि अंक लिनु महत्त्वपूर्ण छ,” उनले भने, “योजनाअनुसार हामीले सामान्य क्रिकेट खेल्यौँ । आफ्नो उत्कृष्ट दियौँ । विदेशी खेलाडी आए पनि नआए पनि प्रतियोगिताका कुनै पनि टिम कमजोर छैनन् ।”
खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो । १२८ रनको लक्ष्यसहित मैदानमा उत्रिएको जनकपुरले १५.३ ओभरमा दुई विकेट गुमाएर जित निकालेको थियो ।
शनिबार सुरु प्रतियोगितामा आठ टिमको सहभागिता छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगिता आउँदो पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।