site stats
बाह्रखरी :: Baahrakhari
खेल
सायम कलेज फुटसल असार दोस्रो सातादेखि

काठमाडौं । सायम कलेजको आयोजनामा हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिता असार ११  गतेदेखि हुने भएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा सायमका प्रिन्सिपल अशोकराज पाण्डेले प्रतियोगितामा २४ देखि ३२ छात्र टिमको सहभागिता अपेक्षा गरिएको बताए । स्नातक तह सेमेस्टर प्रणालीका कलेजले प्रतियोगितामा सहभागी हुनेछन् । प्रतियोगिताको मुख्य प्रायोजकमा एसीको बिक्रेता हाइसेन्स नेपाल रहेको छ ।

Argakhachi Cement Island Ad

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ९० हजार, ४० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले पाँच हजार तथा उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान तीन–तीन हजार नगद पुरस्कारसहित गिफ्ट भौचर प्राप्त गर्नेछन् । उत्कृष्ट प्रशिक्षकले ट्रफीसहित गिफ्ट भौचर पाउने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब पाँच लाख ५० हजार खर्च हुने सायमका भाइस प्रिन्सिपल विशाल श्रेष्ठले जानकारी दिए । तीनदिने प्रतियोगिताका खेल भक्तपुरको दिब्येश्वरी प्लानिङस्थित रोयल नेपाल फुटसलमा लिग कम नकआउट आधारमा खेलाइने छ ।

सायम प्रिमियर लिग इन्ट्रा कलेज क्रिकेटको पाँचौँ संस्करण सफलतापूर्वक आयोजना गरिसकेको सायमले पहिलोपटक फुटसल आयोजना गर्न लागेको प्रतियोगिता संयोजक दशरथ शाहीले बताए । उनले आगामी दिनमा महिलाको फुटसल पनि आयोजना गर्ने सोच रहेको बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  २२:१३
प्रतिक्रिया दिनुहोस्