
काठमाडौं । नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य रेकर्ड स्कोरमा ११औँ संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन् । नेपालकै राहुल विश्वकर्मालाई १० स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै सदभाव पहिलोपटक यो च्याम्पियनसिपको उपाधि जित्न सफल भएका हुन् ।
गोकर्ण गल्फ क्लबमा सदभावले बिहीबार २ अन्डर ७० खेल्दै समग्रमा २० अन्डर १९६ को स्कोर खडा गरे । उनले ५४ होलको १८ अन्डरको कुल रेकर्ड समेत तोडे । सदभाव यो प्रतियोगितामा दोहोरो स्वर्णको सफलता प्राप्त गर्न सफल रहे । टिमतर्फ राहुलसँग मिलेर स्वर्ण जिते । उनले दोस्रो दिन १२ अन्डर ६० खेल्दै गोकर्णको कोर्स रेकर्ड पनि तोडेका थिए ।
नेपालका राहुल र भारतका सुमित कोटवालले समान १० अन्डर २०६ को स्कोर बनाए । काउन्ट ब्याकमा राहुल दोस्रो र सुमित तेस्रो भए । राहुलले एक स्वर्ण र एक रजत हात पारे । राहुलले ४ अन्डर ६८ को उत्कृष्ट स्कोर निकाले । सुमितले इभन–पार ७२ खेले ।
महिलातर्फ भारतकी अनन्थी विवेकले समग्रमा इभन–पार २१६ सहित उपाधि जितिन् । उनले भारतकी दिया क्रिस कुमारलाई १९ स्ट्रोकको फराकिलो अन्तरमा हराइन् । गत संस्करणमा तेस्रो भएकी अनन्थीले यो पटक उपाधि जितिन् । आज उनले ३ ओभर ७५ स्कोर गरिन् । समग्रमा १९ ओभर २३५ सहित दियाले दोस्रो स्थानमा चित बुझाइन् । उनले बिहीबार ८–ओभर ८० खेलिन् । नेपालकी तारा कार्की चित्रकार तेस्रो भइन् । उनले समग्रमा २५४ स्कोर गरिन् । आज ९१ स्कोर बनाएकी थिइन् ।
यू–१६ तर्फ भारतका भिभान उभयाकरले उपाधि जिते । समग्रमा १ अन्डर २१५ स्कोर गरे । २ अन्डर ७० स्कोर गर्दा उनले भारतका प्रिन्स बैंस्लालाई ६ स्ट्रोकले हराए । भिभानले फ्रन्ट नाइन २ अन्डर ३४ र ब्याक नाइन इभन–पार ३६ मा सकाए ।
प्रिन्सले इभन–पार ७२ खेल्दै समग्रमा ५–ओभर २२१ स्कोर गरे । नेपालका रूबेन थापाले समग्रमा १३–ओभर २२९ सहित तेस्रो भए । उनले आज ४–ओभर ७६ मा सकाए । काउन्ट ब्याकमा रुबेनले भारतका अड्भय बाग्लालाई पछि पारे ।
च्याम्पियन्सिपका विजयी खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य कमलबहादुर भट्टराई, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, नेपाल गल्फ संघका उपाध्यक्ष फुर्साङ लामा र नेपाल गल्फ संघका सदस्य रतन टण्डनले पुरस्कार वितरण गरे ।
तीनदिने ५४ होलको प्रतिस्पर्धामा नेपालसहित दक्षिण एसियाका बंगलादेश, भुटान, श्रीलंका र भारतका गरी कुल पाँच राष्ट्रका ५७ खेलाडीको सहभागिता रहेको थियो । यो प्रतियोगिता वर्ल्ड एमेच्योर गल्फ र्याकिंङ (डब्लूएजीआर) द्वारा मान्यता प्राप्त हो । प्रतियोगितामा सहभागी पुरुष तथा महिला खेलाडीहरूले र्याकिंङ अंक समेत प्राप्त गर्नेछन् ।