काठमाडौं । सत्तारुढ नेकपा (एमाले)ले काठमाडौंमा शक्ति प्रदर्शन आह्वान गरेपछि अहिले काठमाडौं उपत्यकाको ट्राफिक अस्तव्यस्त बनेको छ । दरबारमार्गमा जागरणसभा सुरु हुनुअघि एमालले काठमाडौंका विभिन्न स्थानबाट र्याली निकालेको छ ।
भद्रकालीमा भेला भएर नेता कार्यकर्ता नारा लगाउँदै कोणसभास्थल दरबारमार्गतर्फ अघि बढिरहेका छन् । नेकपा एमालेले काठमाडौंको मुख्य भागमा शक्ति प्रदर्शनको नाममा र्याली निकालेपछि सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ ।
सभालाई प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
ट्राफिक प्रहरीका अनुसार काठमाडौँ उपत्यका स्थित दरबारमार्ग, माइतीघर र बालकुमारीमा आज कार्यक्रम हुने भएकोले उक्त स्थानहरू हुँदै चल्ने सवारी साधनको आवागमनमा प्रभावित भएको छ । उल्लेखित सडकखण्ड हुँदै यात्रा गर्ने सम्पूर्ण सवारी चालकलाई अत्यावश्यक बाहेक अन्य वैकल्पिक सडकको प्रयोग गरी यात्रा गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । काठमाडौँको दरबारमार्गमा हुने कार्यक्रमका कारण सवारी साधनलाई विभिन्न स्थानबाट डाइभर्सन गरी चलाइएको छ ।
दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट डाइभर्सन गरिएको हो ।
सवारी डाइभर्सन कारण पद्मोदयमोड, पुतलिसडक, कमलादीमोड, कृष्णपाउरोटी, जयनेपाल, जमल, महेन्द्रशालिक, केशरमहल, लैनचौर हुँदै चल्ने सवारी साधन क्युमा चलिरहेका छन् ।
ट्राफिक सम्बन्धि कुनै पनि गुनासो तथा समस्या भएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाईन नम्बर १०० मा सम्पर्क गर्न सकिनेछ ।
यसबाहेक काठमाडौँ उपत्यकाको अन्य स्थानको सवारी आवागमन भने सामान्य रहेको छ ।
बिहानको पिक आवरमा बढेका सवारी साधनका कारण काठमाडौँ उपत्यकास्थित जडिबुटी, कोटेश्वर, बालकुमारी, ग्वार्को, सातदोबाटो, माइतीघर, थापाथली, कुपण्डोल, त्रिपुरेश्वर र टेकु हुँदै चल्ने सवारी साधन केही क्युमा चलिरहेका छन् । यसबाहेक एयरपोर्ट गोल्डेनगेट, गौशाला, मित्रपार्क, चाबहिल र नारायणगोपाल चोक हुँदै चल्ने सवारी साधनले चोकमा केही समय रोकिनु पर्नेछ । बिभिन्न नाकाहरू हुँदै काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन भने सामान्य तवरले सञ्चालन भइरहेको ट्राफिक कन्ट्रोल रुमले जानकारी दिएको छ ।