site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सडक पुनर्निर्माण नहुँदा च्याङथापूवासी प्रभावित
Tiktok banner adTiktok banner ad

पाँचथर । बाढीपहिरोले बगाएको सडक र गोरेटो बाटो मर्मत नहुँदा जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका बासिन्दाले १८ महिनादेखि समस्या झेल्दै आएका छन् । यहाँका १० वटा बस्तीबाट बिरामीलाई ‘स्टेचर’मा स्वास्थ्य संस्था पुर्याउने बाटो पनि छैन ।

यहाँका मेवा खोलासहित उक्त खोलामा जोडिने मुरुंगा, देवीखोला र लम्बाखोलामा आएको बाढी तथा सयौँ स्थानमा खसेको पहिरोका कारण भौतिक संरचना क्षतिग्रस्त हुँदा गोरेटो बाटोसमेत अवरुद्ध छ । 

बाटो नहुँदा च्याङथापूका समरजुङ, मंगरडाँडा, खोलाघारी, मास्लोगाउँ, एकराते, चोक, फेदी, ढाँडगाउँ, याकलिङ र काङदाङका बासिन्दाले बिरामीलाई स्टेचरमा बोकेर सडकसम्म पुर्याउन कठिन भएको याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईले बताए ।  

जिल्लाको उत्तरी च्याङथापू बजारबाट पर्यटकीय क्षेत्र लामपोखरी जोड्ने सडकले यी बस्तीलाई समेटेको थियो । गत वर्षको बाढीले उक्त सडकको मेवाखोला किनारामा पर्ने झण्डै तीन किलोमिटर मोटरबाटो बगाएको छ । मोटरबाटो नै यी बस्तीबाट च्याङथापू पुग्ने पैदलमार्ग थियो । बाढीले दशकौँदेखि चलनचल्तीमा रहेको गोरेटो बाटा पनिक्षतिग्रस्त बनाएको हो ।

“खोला किनारामा सडकको संरचना पनि नभेटिने अवस्था छ”, वडाध्यक्ष खालिङले भने, “यहाँका झण्डै तीन सय घरपरिवार अहिले सडकको पहुँचभन्दा बाहिर छौँ ।”

गोरेटो बाटो पनि नभएपछि गत महिना यहाँका एक बालक गम्भीर बिरामी भएपछि उपचारका लागि  बोकेर समरजुङ हुँदै च्याङथापू पुर्याउनु परेको उनले बताए । 

यी क्षेत्रबाट मेवा खोलालाई पाँच स्थानमा तरेपछि मात्रै च्याङथापू बजार पुगिन्छ । खोला तर्नुपर्ने पाँचमध्ये तीन स्थानमा बाँस र काठको अस्थायी फड्केको सहायताले खोला तर्ने गरिएको छ । 

गाउँले मिलेर पैदलमार्ग बनाए पनि स्टेचर बोकेर हिँड्न मिल्ने ठाउँ छैन । “हामी ठूलो समस्यामा छौँ । डेढ वर्ष भयो यस्तो बेहाल भोगेको । बाढी आयो कि फड्के बगाइहाल्छ”, बाढीपहिरो प्रभावित क्षेत्र मङ्गरडाँडाका स्थानीयवासी वडाध्यक्ष खालिङले भने, “गाउँलेहरू मसँग गुनासो गर्नुहुन्छ । हामी एक्लैले समस्या समाधान गर्न सकेनौँ ।”

आफूले याङवरक गाउँपालिकासहित सम्बन्धित निकायलाई जानकारी गराए पनि उक्त सडकको तत्कालै पुनर्निर्माण हुने स्थिति नरहेको उनले बताए । 

“यो सडक पुनर्निर्माण गर्न थोरै पैसाले पुग्दैन । प्रदेश र संघीय सरकारले हाम्रा समस्या बुझेका छैनन्”, वडाध्यक्ष खालिङले भने । 

गोरेटो बाटो नहुँदा यहाँका स्थानीयले खाद्यान्नलगायत आवश्यक सामग्री बोकेरै घर पुर्याउने गरेका छन् ।
 
अर्कातर्फ यहाँका बालबालिकालाई विद्यालय पुग्न असाध्यै कठिन छ । खोलाघारीकी सुकमाया राईका अनुसार स–साना बालबालिका फड्के तरेर विद्यालय जान र फर्किन सक्दैनन् । 

बच्चाहरूलाई जोखिम मोलेर विद्यालय पठाउनुपर्ने बाध्यता छ । यी क्षेत्रबाट कतिपय  स्थानीय बसाइँ सरेका छन् । “कोही च्याङथापू झरेका भने कोही झापा नै पुगे”, वडाध्यक्ष खालिङले भने, “साना नानी हुने धेरै जनाले अहिले गाउँ छाडिसकेका छन् ।” 

दर्जनौँ स्थानमा पहिरो झरेर झण्डै तीन महिना विस्थापित हुनुपरेपछि यहाँको चोक नामक बस्तीका अशोक राईको परिवार अहिले च्याङथापूमा डेरा लिएर बसेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  ०८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro