काठमाडौं । भारतले बंगलादेशको चटगाउँमा हिन्दुमाथि भएको आक्रमणको निन्दा गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बंगलादेशलाई हिन्दुहरूको सुरक्षा सुनिश्चित गर्न र चरमपन्थीहरूविरुद्ध कारबाही गर्न आग्रह गरिएको बताए ।
पछिल्लोपटक सामाजिक सञ्जालमा चटगाउँको इस्कोन मन्दिर र सनातन धर्मलाई लिएर विवादास्पद टिप्पणी आएपछि बंगलादेशका हिन्दुहरू आक्रोशित भएका छन् ।
यसैको विरोधमा मंगलबार हजारौँ हिन्दु समुदायले प्रदर्शन गरेका थिए । हिन्दु संगठन सडकमा उत्रिएपछि सेनाले आन्दोलनकारीमाथि लाठीचार्ज गरेको थियो ।
अर्कोतर्फ, चटगाउँ प्रहरीका अतिरिक्त उपायुक्त काजी तारेक अजिजले विवादास्पद पोस्ट सेयर गर्ने व्यक्तिलाई पक्राउ गरिएको बताएका छन् ।
अगस्टदेखि बंगलादेशमा हिन्दुहरूमाथि आक्रमणका २५० भन्दा बढी घटनाहरू रिपोर्ट गरिएको छ ।