काठमाडौं । अर्जेन्टिनाका फरवार्ड एन्जल कोरियाको निर्णायक गोलप्रेरित एट्लेटिको मड्रिडले यूईएफए च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मन (पीएसजी) विरुद्ध २–१ को जित निकालेको छ । बुधबार राति पीएसजीको मैदान पार्क डे प्रिन्सेसमा एट्लेटिकोले १–० ले पछि परेको स्थिति उल्टाउँदै जित निकालेको हो ।
खेलको १४औँ मिनेटमा वारेन जौरी एमेरीको गोलमा पीएसजीले अग्रता बनाएको थियो । तर, पीएसजीको यो अग्रता लामो समय टिकेन । त्यसको चार मिनेटपछि नै न्याहुल मोलिनाको गोलमा एट्लेटिको खेलमा फर्किएको थियो । इन्ज्युरी समयमा कोरियाले गोल गरेपछि एट्लेटिकोले पीएसजीलाई उसैको घरमा निराश बनाएको हो ।
जितसँगै चार खेलबाट ६ अंक जोडेको एट्लेटिको तालिकाको २३औँ स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंकको पीएसजी २५औँ स्थानमा छ । प्रतियोगितामा पीएसजीको यो दोस्रो हार हो ।
इन्टर मिलान १–० आर्सनल
बुधबार नै भएको अर्को खेलमा इन्टर मिलानले आर्सनलविरुद्ध १–० को जित निकाल्यो । सान सिरोमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउन हकान चाल्हाननोलुले निर्णायक गोल गरे । उनले पहिलो हाफको इन्ज्युरी समयमा प्राप्त पेनाल्टीलाई सदुपयोग गरेका हुन् ।
जितसँगै चार खेलबाट १० अंक जोडेको इन्टर तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । समान खेलबाट १२ अंकको आर्सनल सातौँ स्थानमा छ । प्रतियोगितामा आर्सनलको यो पहिलो हार हो ।