काठमाडौं । चर्चित अस्ट्रेलियन अलराउन्डर बेन कटिङ लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।
कटिङले विश्वभरका टी–२० लिगहरूमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । उनी इन्डियन प्रिमियर लिग (आईपीएल), बिग बास लिग (बीबीएल), पाकिस्तान सुपर लिग (पीएसएल) र क्यारिबियन प्रिमियर लिग (सीपीएल) जस्ता ठूला फ्रेन्चाइजहरूमा सहभागी भइसकेका छन् ।
लुम्बिनी लायन्ससँगको सम्झौतापछि कटिङले प्रतियोगिताका निम्ति आफू उत्साहित रहेको बताए ।
“नेपाल प्रिमियर लिगको पहिलो सिजनको हिस्सा हुन पाउँदा र विशेष गरी लुम्बिनी लायन्समा सामेल हुन पाउँदा म निकै उत्साहित छु । लुम्बिनी लायन्सलाई एनपीएलको उपाधि जिताउन अर्थपूर्ण योगदान पुर्याउने मेरो लक्ष्य रहेको छ,” उनले भने ।
आफ्नो करियरभर बेन कटिङले आफूलाई टी–२० फर्म्याटमा एक विश्वसनीय अलराउन्डरको रूपमा स्थापित गरेका छन् । उनले १७० भन्दा धेरै टी–२० खेल खेलेका छन् । जसमा उनले २००० भन्दा बढी रन बनाएका छन् । उनले १२६ विकेट पनि लिएका छन् ।
आठ फ्रेन्चाइजी टिमहरू रहेको नेपाल प्रिमियर लिग २०२४ मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म चल्नेछ ।