site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
महामारी बन्दै 'एक्लोपन', बर्सेनि हजारौँले ज्यान गुमाउँछन्

काठमाडौं । परिवार र साथीभाइबाट अलग भएका हजारौँ दक्षिण कोरियालीहरूले प्रत्येक वर्ष गुपचुप ज्यान गुमाउँछन् । यसरी ज्यान गुमाउनेको शव कहिलेकाहीँ त हप्तौपछि फेला पर्छ ।

यस्तो मृत्युलाई कोरियाली भाषामा ‘गोडोक्सा’ भनिन्छ । जसको अर्थ हुन्छ ‘एक्लो मृत्यु’ । दक्षिण कोरिया एक्लोपनले सिर्जित यो गम्भीर समस्यासँग जुधिरहेको छ । दक्षिण कोरियाली सरकार ‘एक्लो मृत्यु’को समस्या रोक्ने दबाबमा छ ।

एक्लोपनको यो समस्या रोक्न भनेर दक्षिण कोरियाली सरकारले त्यहाँको राजधानी सिओलमा मात्र ३२७ मिलियन अमेरिकी डलर खर्च गर्ने बताएको छ । पाँच वर्षभित्र राजधानी सिओललाई कोही पनि एक्लो नहुने सहर बनाउन यो रकम छुट्याइएको हो ।

एक्लोपनको समस्यासँग जुध्न दक्षिण कोरियाले चौबिसै घण्टा उपलब्ध हुनेगरी एक्लोपन परामर्शदाताको सुविधा उपलब्ध गराएको छ । यो सुविधा अनलाइनबाट उपलब्ध हुनेछ, यसका साथै परामर्शदाताले एक्लोपनबाट ग्रसित मान्छेसँग भेटघाट पनि गर्ने व्यवस्था मिलाइएको छ ।

राजधानी सिओलका मेयर ओ से–हुनका अनुसार एक्लोपन व्यक्तिगत समस्या मात्र होइन । उनी भन्छन्, “यो त समाजले मिलेर समाधान गर्नुपर्ने काम हो ।”

एक्लोपनको यो समस्या दक्षिण कोरियामा एक दशकयता देखा परेको हो । समाचार संस्था सीएनएनका अनुसार सन् २०२२ मा मात्र दक्षिण कोरियामा एक्लोपनबाट मृत्यु हुनेको संख्या तीन हजार ५५९ थियो । २०२३ मा यो संख्या तीन हजार ६६१ पुग्यो ।

सामाजिक रूपमा एक्लिएर बस्ने, परिवार, आफन्त वा साथीभाइसँग सम्पर्क नभएका आत्महत्या वा रोगका कारण मरेका व्यक्तिको मृत्युलाई एक्लो मृत्यु भन्ने गरिन्छ । दक्षिण कोरिया सरकारले नै सामाजिक आइसोलेसनमा बस्ने परिवार, साथीभाइसँग नबस्ने व्यक्तिको मृत्युलाई ‘एक्लो मृत्यु’को रूपमा परिभाषित गरेको छ । सन् २०२३ मा एक्लो मृत्युमध्ये ८४ प्रतिशत पुरुष थिए ।

एक्लोपन दक्षिण कोरियाका लागि नौलो होइन । दक्षिण कोरियालीहरूले  आफूलाई सान्दर्भिक वा महत्त्वपूर्ण नठान्नुलाई एक्लोपन भन्छन् । आफ्नो कुनै उदेश्य, औचित्य नहुनुलाई दक्षिण कोरियालीहरू एक्लोपन भन्छन् ।

दक्षिण कोरियाको ‘जेन जी’ आलोचना, आत्म आलोचना र असफलतासँग डराउँछ । यही वर्षको जुनमा प्रकाशित एक अध्ययनअनुसार एकल घरधुरीको संख्या बढ्नु, काम र परिवारभन्दा बाहिरको सामाजिक अन्तर्क्रिया घट्नु, समाजिक सञ्जालको दबदबालाई एक्लोपनको कारणका रूपमा अथ्र्याएको थियो । अर्कोतिर दक्षिण कोरियाको उपलब्धिकेन्द्रित प्रतिस्पर्धात्मक समाजले पनि मान्छेलाई एक्लोपनतर्फ डोर्‍याउने गरेको छ ।

एक्लोपनबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि दक्षिण कोरियाले एक्लो मृत्यु निवारण तथा व्यवस्थापन ऐन पनि ल्याएको छ । सन् २०२३ मा सरकारले युवाहरूलाई समाजमा पुनः प्रवेश गराउन मदत गर्न भनेर मासिक ४७५ अमेरिकी डलर दिने योजना पनि ल्याएको छ ।

एक्लोपनसँग संघर्ष गरिरहेको दक्षिण कोरिया एक्लै होइन, जापान पनि यस्तै समस्यासँग जुधिरहेको छ । जापानले त यो समस्याको समाधान गर्न भनेर एक मन्त्री नै नियुक्त गरेको छ । यसबाहेक बेलायतले पनि यस्तै मन्त्री नियुक्त गरेको छ । संयुक्त राज्य अमेरिकामा पनि विज्ञहरूले एक्लोपन र आइसोलेसनलाई महामारी भनेर चेतावनी दिइरहेका छन् । विश्व स्वास्थ्य संगठनले पनि एक्लोपनलाई स्वास्थ्य चेतावनीका रूपमा लिएर एक आयोग बनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  ०७:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro