काठमाडौं । अन्तर्राष्ट्रिय अध्ययनले गत असोज १० देखि १२ गतेसम्म नेपालमा नाटकीय रुपमा परेको अविरल वर्षा र बाढी आउनुका पछाडि प्रमुख दुई कारण देखाएको छ ।
अध्ययनले देखाएको अकल्पनीय वर्षा र बाढी आउनुको प्रमुख दुई कारक हुन्– जलवायु परिवर्तन र तीव्र सहरीकरण (अव्यवस्थित बस्ती विस्तार) ।
नेपाल, भारत, स्वीडेन, अमेरिका र बेलायतका विश्वविद्यालय र मौसम विज्ञान एजेन्सीहरूका वैज्ञानिकहरूसहित वल्र्ड वेदर एट्रिब्युसनका अनुसन्धानकर्ता सम्मिलित एक समूहले यो अध्ययन गरेको हो । अध्ययनमा २० जना अनुसन्धानकर्ता सहभागी थिए ।
“गत असोज महिनामा तीन दिन परेको पानीले ठूलो जनधनको क्षति गरेपछि हामीले कारण पत्ता लगाउन अनुसन्धानकर्ताहरूलाई अनुरोध गरेका थियौं,” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाह्रखरीसँग भने, “अध्ययनले ठूलो वर्षा र बाढी आउनुपछाडि प्रमुख दुई कारण रहेको देखाएको छ ।”
असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोले नेपालमा २४४ जनाको ज्यान लिएको थियो । बाढी, पहिरो र डुबानले अर्बौं रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो । बाढी तथा पहिरोले सबैभन्दा बढी असर काठमाडौं उपत्यका र वरपरका जिल्लामा गरेको थियो ।
‘नेपालमा नाटकीय बाढीको प्रभाव पार्ने प्रमुख कारक तीव्र सहरीकरण र जलवायु परिवर्तन हुन्’ शीर्षकमा अध्ययनको निचोड प्रकाशित गरिएको छ ।
जलवायु परिवर्तनले असोजको तीन दिन नेपालमा आएको घातक वर्षा र बाढीको गति १० प्रतिशतले बढाएको निस्कर्ष अध्ययनको छ । काठमाडौं जस्ता बाढी प्रकोपयुक्त सहरमा तीव्र विकासले प्रभाव झनै बढाएको अनुसन्धानकर्ताहरूले उल्लेख गरेका छन् ।
अध्ययनले सहरका होचो भाग र नदी किनारका क्षेत्रमा हुने विकासका गतिविधिलाई विशेष ध्यान दिन सुझाएको छ । यस्ता विपद् दोहोरिन सक्ने भएकाले जोखिम कम गर्न तथा बच्न प्रारम्भिक चेतावनी र उद्धार प्रणालीको विकास गर्नुपर्ने जनाइएको छ ।
विश्वले जीवाश्म इन्धन (फोसिल फ्युल) लाई ऊर्जाको नवीकरणीय स्रोतहरूले प्रतिस्थापन नगरेसम्म नेपालमा थप विनाशकारी वर्षा र बाढीको जोखिम झन् बढ्ने निचोड अध्ययनको छ ।
सहरका बाढीको जोखिम बढी रहेका स्थानमा विकास कम गर्नाले भविष्यमा यस्ता क्षति न्यूनीकरण गर्न सकिने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
“नेपालमा आएको विस्फोटक मनसुन वर्षा जलवायु परिवर्तनका कारण बढेको हो,” इम्पेरियल कलेज लन्डन, पर्यावरण नीति केन्द्रका अनुसन्धानकर्ता मरियम जकारियाले भनेका छन्, “यदि वातावरण जीवाश्म इन्धन उत्सर्जनले ओभरलोड भएको हुँदैनथ्यो भने बाढी कम विनाशकारी र घातक हुने थियो ।”
अध्ययनले बढ्दो वर्षाका कारण एसिया वर्ष २०२४ मा कति जोखिममा छ भनेर प्रकाश पारेको छ । आफ्नो अध्ययनले भारत, चीन, ताइवान, युनाइटेड अरब इमिरेट्स, ओमान र नेपालमा आएको घातक बाढीमा जलवायु परिवर्तनको भूमिका के कस्तो थियो भन्ने उजागर गरेको दाबी उनले गरेका छन् ।
२०८१ असोज १० गतेदेखि लगातार तीन दिन भारी वर्षा भएको थियो । असोज १२ गते केही मौसम स्टेशनहरूले ३२० मिलिमिटर भन्दा बढी वर्षा मापन गरेका थिए जुन लन्डनको कुल वार्षिक वर्षाको आधा थियो ।
मनसुन वर्षापछि महिनौंसम्म बढ्दै गएका नदी तथा खोलामा मुसलधारे पानी जम्मा भएको थियो । जसले बाढी र पहिरो निम्तायो, २४४ भन्दा बढी मानिसको ज्यान लियो । हजारौं विस्थापित भए, जलविद्युत आयोजनामा क्षति पुर्यायो, घरहरू ध्वस्त भए र सडक तथा पुलहरू बगाए ।
जीवाश्म इन्धन उत्सर्जनले मौसमलाई तातो बनाउँदै लग्दा तीन दिनमा नेपालमा ठूलो वर्षा भएको निष्कर्ष उनीहरूको छ ।
जीवाश्म इन्धन उत्सर्जनले वातावरण तताएको र यसले आर्द्रता बढाउँदा भारी वर्षा हुने गरेको उनीहरूले जनाएका छन् ।
“यी बाढीले काठमाडौंका सडकलाई खोलामा परिणत गरेको छ,” इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी बम्बेका अनुसन्धानकर्ता रोशन झाले भनेका छन्, “जलवायु परिवर्तन अब एसियाका लागि टाढाको खतरा रहेन ।”
रेड क्रस रेड क्रिसेन्ट क्लाइमेट सेन्टरका प्राविधिक सल्लाहकार माजा वाह्लबर्गका अनुसार, यो अध्ययनले नेपाल किन जलवायु परिवर्तनका लागि विश्वको सबैभन्दा जोखिममा रहेको देश हो भन्ने कुरालाई स्पष्ट पार्ने काम गरेको छ ।
तेल, ग्याँस र कोइलाबाट विश्वमा भइरहेको परिवर्तन सबैभन्दा गरिब र कमजोर मानिसहरूको मृत्युको कारण बनिरहेको इम्पेरियल कलेज लन्डन, पर्यावरण नीति केन्द्रका सिनियर लेक्चर फ्रेडरिक ओटोले जनाएका छन् ।
“यस्ता बाढीहरू अझ बढी घातक र महँगो हुँदै जानेछन् जबसम्म जीवाश्म इन्धनहरू नवीकरणीय ऊर्जामा प्रतिस्थापित हुँदैनन्,” ओटोले भनेका छन् ।
नेपालमा स्पष्ट रूपमा देखिएका विपद्हरू विकासका समस्या भएको भनाई कोपेनहेगन विश्वविद्यालयको आपदा अनुसन्धान केन्द्रका निर्देशक इमानुएल राजुको छ । जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरणमा ध्यान केन्द्रित गर्ने समय आएको उनले जनाएका छन् ।
“असुरक्षित क्षेत्रमा निर्माण कार्य गर्न नदिने प्रयास गर्नुपर्छ । भविष्यमा हुने विपद् जोखिम न्यूनीकरणमा सहयोग गर्न तत्काल सामाजिक सुरक्षामा लगानी आवश्यक छ,” उनले भनेका छन् ।
अध्ययनका क्रममा अनुसन्धानकर्ताले गण्डकी, वाग्मती, मधेस र कोशी प्रदेशसहित तीन दिनको वर्षाले क्षति पुर्याएको क्षेत्रमा भएका वर्षाको घटनाहरूको विश्लेषण गरेका थिए ।
काठमाडौं र ललितपुर महानगरपालिकामा ढल व्यवस्थापन राम्रो नभएका कारण बाढीको उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ ।
सन् १९९० देखि २०२० को बीचमा काठमाडौं उपत्यकामा सहरीकरण ३८६ प्रतिशतले वृद्धि भएको अध्ययनले देखाएको छ । सन् १९८९ देखि २०१९ सम्म काठमाडौं उपत्यकामा भएको वन क्षेत्र २८ प्रतिशतले खुम्चिएको छ, जसले गर्दा प्राकृतिक जलप्रक्रियामा बाधा पुर्याएको जनाइएको छ ।
२०७२ सालको गोर्खा भूकम्पले पहाड र ढल निकासको पूर्वाधारलाई कमजोर बनाएको अध्ययनको क्रममा देखिएको छ । कोभिड–१९ महामारीले निम्न र मध्यम वर्गका व्यक्तिहरूको आयमा असर गर्दा बाढी तथा पहिरोको जोखिम न्यूनीकरण गर्न उनीहरूले नसकेको जनाइएको छ ।