site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रवि लामिछानेमाथि बारम्बार बजिरहेको घण्टी

काठमाडौं । ‘हामी भ्रष्टहरुको दिमागमा घण्टी बजाउछौँ,’ असार २०७९ मा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गर्दैगर्दा रवि लामिछानेले भनेका थिए । 

तर, राजनीतिमा आएका तीनवर्ष पनि नपुग्दै उनै लामिछानेमाथि बारम्बार घण्टी बजिरह्यो ।  ४ मंसिरको प्रतिनिधिसमा चुनाव हुन ६ महिना बाँकी हुँदा राजनीतिक दल नै खोलेर ‘होल टाइम’ राजनीतिमा होमिएका लामिछानेले यो बीचमा सांसददेखि गृहमन्त्रीसम्म पद गुमेको नमिठो अनुभव पनि लिए ।

राजनीतिमा प्रवेश गरेको छोटो समयमा उनले ठूलै उतारचढाब बेहोर्नुपरेको छ । २०७९ मंसिर ४ कोे चुनावमा चितवन–२ बाट निर्वाचित भएलगत्तै उनले गृहमन्त्री पद पाए ।  गृह मन्त्रालयको कमान सम्हालेको एक महिनामै (१३ माघ ०७९)उनको गृहमन्त्री पदसँगै सांसद पद पनि गुम्यो । 

नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएका उनीसँग नेपालको गृहमन्त्री भइसक्दा पनि नेपालको वैधानिक नागरिकता थिएन् । एकपटक नेपाली नागरिकता त्यागिसकेका नेपाली नागरिकले फेरि नेपाली नागरिकता लिनुपर्दा अर्को देशको नागरिकता त्यागेको प्रमाण दिनुपर्छ भन्ने हेक्का भने राखेको पाइएन । 

जिल्ला प्रशासन कार्यालयमा अमेरिकी नागरिकता त्यागेको प्रमाण दिएर लामिछानले आफ्नो पुरानो नेपाली नागरिकता ब्युँताए । त्यसपछि वैशाखमा भएको उप–निर्वाचनमा उनी फेरि चितवन–२ बाट निर्वाचित भए । संयोग नै भन्नुपर्छ उनको पोल्टामा गृह मन्त्रालय पर्‍यो ।

नेपालमा सञ्चारकर्म गरिरहेका लामिछाने लामो समय अमेरिका बसे । 

२०६९ मा अमेरिकाबाट फर्किएर बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने स्थापित गर्न भन्दै उनले ६२ घण्टा लामो ‘टक शो’ चलाएर गिनिज बुकमा नाम लेखाए ।  आफ्नो त्यो कामको नेपाली सञ्चार जगतले स्रहाना नगरेको भन्दै उनी पछिसम्म पनि गुनासो गरिरहन्थे ।

६२ घण्टा लामो ‘टक शो’ चलाएर हौसिएका लामिछाने फेरि सञ्चारकर्ममा फर्किए । उनले ‘सिधा कुरा जनतासँग’ नामको टेलिभिजन कार्यक्रम चलाउन सुरु गरे ।  टेलिभिजन कार्यक्रम मार्फत रवि लामिछाने आफैँ आम जनताका गुनासा र समस्या सम्बोधन गर्न खटिन थाले ।

‘प्रहरी, प्रशासन, अदालत’ सबैको काम टेलिभिजन कार्यक्रमबाटै गर्न थालेको आरोप उनीमाथि थियो ।

‘इन्सट्यान्ट सोलुसन’ खोजिरहेका आम मानिस उनको शैलीबाट प्रभावित भए । सामाजिक सञ्जाल र युट्युबको दुनियामा लामिछाने ‘सेलिब्रेटी’ भए । आफ्नो त्यही ‘सेलिब्रेटी’ रुपको फाइदा उनले चुनावमा मात्र उठाएनन् अहिलेसम्म त्यसको लाभ लिइरहेका छन् ।

पार्टी खोलेको दश दिनपछि धनगढी पुगेर उनले आफू टेलिभिजनमा गरेको कामको ब्याज नखाने दाबी गरेका थिए । 

उनले त्यतिखेर भनेका थिए, “अब मलाई राजनैतिक कसीबाट जाँच्नु होला । राजनैतिक मन्चबाट नै हेर्नु होला ।”

तर, राजनीतिक कसीमा भने लामिछानेको सुरुवात नै कमसल भयो ।

वैकल्पिक राजनीतिको नेपाली चाहनालाई संसदसम्म पुर्‍याएका लामिछानेले आफूसँग जोडिएका हरेक विवादमा राजनीतिक नैतिकता देखाएनन् । वैकल्पिक राजनीतिको सबैभन्दा बलियो मान्यता नै नैतिकता हो । टेलिभिजन कार्यक्रम प्रस्तोता हुँदा उनको ‘क्रेज’ कतिसम्म थियो भने ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा उनका सहकर्मी शालिग्राम पुडासैनीले २०७६ मा आत्महत्या गरे । आत्महत्या गर्दा उनले रविको नाम लिए । 

आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरीले लामिछानेलाई पक्राउ गरेर ९ दिनसम्म हिरासतमा राख्यो ।  चितवनमा लामिछाने हिरासतभित्र रहँदा उनका समर्थक चितवन जिल्ला अदालत र प्रहरी कार्यालय अगाडि लामिछानेको ‘सिधा कुरा जनतासँग’कै शैलीमा नाराबाजी गरिरहेका थिए ।

राजनीति सफा गर्छौँ भन्दै राजनीतिमा छिरेका लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् ।

सहकारी प्रकरणमा सुरुवातमा आफूलाई केही थाहा नभएको दाबी गर्ने लामिछानले आफ्ना पूर्वसाझेदार छविलाल जोशी पक्राउ पर्दा आफू नडराएको बताउँदै भनेका थिए, “मान्छे बेचेर राजनीतिमा आएको होइन, डराएर भागेको छैन ।”

वैकल्पिक राजनीतिलाई संसदसम्म पु¥याए पनि आफ्नै विगतले गर्दा लामिछानेले त्यसको शाख जोगाउन सकेनन् । 

२०८० को असारमा पहिलो ‘राष्ट्रिय स्वतन्त्र पार्टी’(रास्वपा)को स्थापना दिवस मनाउँदै गर्दा लामिछानले भनेका थिए, “इतिहास पढ्ने विषय मात्र होइन रच्ने विषय पनि हो ।”

उनले नेपाली राजनीतिमा इतिहास त रचे तर, यो इतिहास दोहोर्‍याउन लायक भने देखिँदैन ।

२०७९ मा चुनावको मुखमा राजनीतिक दल खोलेका लामिछानेलाई आलोचकहरुले रास्वपाको विचार छैन भन्ने आरोप लगाउँछन् । तर उनीहरुलाई जवाफ दिँदै  लामिछानेले भनेका थिए, “भ्रष्टहरुलाई एकैपटक जेलमा कोच्ने विचार छ ।”

र, संयोग नै भन्नुपर्छ उनै लामिछाने अब ठगीको आरोपमा प्रहरी हिरासत पुगेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro