-1738034780.jpg)
काठमाडौं । श्रीमान्ले युद्ध मोर्चाबाट पठाएका तस्बिर र भिडियो हेरेर सिर्जना बस्नेतको मुटुमा चिरा पर्थ्यो । अनि उनी श्रीमान्सँग भन्थिन्, “यस्तो दुःख गर्नुभन्दा त फर्किनुहोस् ।”
श्रीमान् विनोद सुनुवार जवाफमा भन्ने गर्थे, “भाग्न सक्ने स्थिति छैन । यताबाट भागेका साथीहरूलाई मस्कोबाट समातेर फेरि यहीँ ल्याउँछ । भागेर गएमा जेलमा राख्छ । भागेर दुःख पाउनुभन्दा यहीँ ठीक छ ।”
करिब १५ महिना पहिले रुसी सेनामा भर्ती भएका सिर्जनाका श्रीमान् विनोद सुनुवारले यो जाडोमा नेपाल आउने वाचा गरेका थिए । सिर्जना पनि श्रीमान्को बाटो कुरिरहेकी थिइन् । साढे दुई महिनायता उनको पखाई छटपटीमा परिणत भयो ।
“साढे दुई महिनादेखि सम्पर्कविहीन हुनुभयो,” सिर्जनासँग अब सम्झना मात्र बाँकी छ, “अरु बेला त दिनकै कुराकानी हुन्थ्यो ।”
म्यासेन्जर र ह्वाटसएपमा दैनिक कुराकानी हुने श्रीमान्सँग एकाएक सम्पर्क विच्छेद भयो । श्रीमान्को फोन र म्यासेजका पर्खाइमा सिर्जना मिनेट–मिनेटमा मोबाइल हेर्थिन् ।
“केही गरे पनि सम्पर्क भएन,” सिर्जनाले आश मारेकी थिइनन् । उनलाई लागेको थियो, ‘श्रीमान् युद्धको फ्रन्टलाइनमा गएका होलान् ।’
यसअघि पनि युद्धको ‘फ्रन्ट लाइनमा’ जाँदा केही दिन सम्पर्क हुँदैनथ्यो । सुरुको एक महिना सिर्जनालाई पनि यस्तै लागेको थियो । लडाईं चलिइरहेको होला, सम्पर्कमा आउनुहोला भन्ने लाग्थ्यो, सिर्जनाका मनमा ।
एक–दुई दिन गर्दागर्दै साढे दुई महिना बित्यो । दिन बित्दै जाँदा सिर्जनाका मनमा सम्झनाका लहर चल्न थाले । श्रीमान्सँगका कुराकानी उनको स्मृतिमा आउन थाले । “त्यहाँको फोटो, भिडियो सबै पठाउनुहुन्थ्यो,” सिर्जना सम्झिन्छन्, “त्यो हेरेर पनि भित्रै मनदेखि सहनै नसक्ने हुन्थ्यो ।”
१८ वर्ष लामो नेपाली सेनाको जागिरबाट विनोद सुनुवारले ०८० को असोज ५ मा राजीनामा दिएका थिए । त्यसपछि उनले पठाओ चलाउन थाले । पठाओ चलाउन सुरु गरेको केही दिनमै उनले रुसी सैनामा पठाइदिने नेपाली एजेन्ट भेटे ।
६ लाख रुपैयाँ नेपाली एजेन्टलाई तिरेर उनी १७ असोजमा रुसी सेनामा भर्ती हुन नेपालबाट रुसतिर लागे ।
रुस पुगेपछि उनले श्रीमतीलाई फोनमा भनेको कुरा सिर्जनाको कानमा गुञ्जिरहेकै छन् । “मिसनबाट आ’को पैसा सबै सकेपनि भविष्य राम्रो होला जस्तो छ, बुढी नआत्तिऊ, भन्नुहुन्थ्यो,” सिर्जनाले भनिन् ।
युद्धको मोर्चाबाट श्रीमान्ले केही हुँदैन भनी ढाडस दिए पनि सिर्जनाको मनमा भने हरदम सन्त्रास छाइरहन्थ्यो ।
“उहाँले फेसबुकमा जिन्दगीको भरोसा छैन भन्दै लडाईंको भिडियो हाल्नुहुन्थ्यो,” यो देख्दा यता नेपालमा सिर्जनाका आँखा रसाउँथे । अनि लडाईंको मोर्चाबाट क्याम्पमा फर्केपछि विनोदले फोन गरेर सिर्जनालाई भन्थे, “बाचेँ है बुढी म त बाचेँ ।”
तर, यसपटक विनादले सिर्जनालाई फोन गरेर ‘बाचेँ है बुढी म त बाचेँ’ भन्न पाएनन् । करिब साढे दुई महिना सम्पर्कविहीन भएका विनोद युक्रेनी ड्रोन आक्रमणमा मरेको खबर आइपुग्यो तीन दिन अगाडि ।
श्रीमान्को बाटो कुरेर बसेकी सिर्जनाले मृत्युको पीडादायी खबर पाइन् । यो खबरसँगै उनको जीवनबाट धेरैथोक खोसियो । श्रीमान्को शव नपाएपछि सोमबार सिर्जनाले पशुपति आर्यघाटमा कुशको शव बनाएर दाहसंस्कार गरिन् ।
विनोदसँग अन्तरजातीय प्रेम विवाह गरेकी सिर्जनाले सोमबार पशुपति आर्यघाटमा कुशको शवमाथि चुरा, पोते, लिपिस्टिक, नङ पालिस राखिन् । अनि उनका १४ वर्षे छोराले दागबत्ती दिए ।
ओखलढुंगा मोलुङ गाउँपालिका पात्ले स्थायी घर भएकी सिर्जना आजभोलि छोरासँग कीर्तिपुर बस्छिन् । श्रीमान् सम्पर्कविहीन भएको साढे दुई महिनादेखि रोइरहेकी सिर्जनाका आँखाबाट आँशु समेत सकिइसक्यो ।
उनीसँग छ त केवल मौनता । कुशको शव, शव छेउमा राखिएको विनोदको फोटो र १४ वर्षे छोरालाई पालैपालो हेर्छिन् र सुस्केरा काढ्छिन् । २६ नोभेम्बर २०२४ मा विनोदले रुसी राहदानी पाइसकेका थिए । रुसी नागरिक भएपछि उनले आफ्नो करार सम्झौता पनि नवीकरण गरेका थिए ।
राहदानी लिएर करार सम्झौता नवीकरण गरेपछि विनोदले खुसी हुँदै श्रीमती र छोरालाई पनि रुस बोलाउने योजना सिर्जनालाई सुनाएका थिए । तर, यी सबै योजना चकनाचूर भए । ३६ वर्षे सिर्जनासँग अब कहिल्यै नमेटिने श्रीमान्का सम्झना मात्र बाँकी छन् ।
सरकारसँग छैन तथ्यांक
नेपाल सरकारसँग रुसी सेनामा कतिजना नेपाली भर्ती भएका छन् । कति जनाको मृत्यु भयो भन्ने यकिन तथ्यांक छैन । सरकारी तथ्याङ्क अनुसार, रूसी सेनामा भर्ती भइ युक्रेनसँगको युद्धको क्रममा मृत्यु हुने नेपालीको संख्या ४९ पुगेको छ ।
रूसी सेनामा भर्ती भएका आफन्तलाई फिर्ता गरिदिन अनुरोध गर्दै ३४१ जनाले निवेदन दिएका छन् । रुसी सेनामा भर्ती भएर सम्पर्कविहीन भएकाहरूको खोजीका निम्ति १२२ वटा निवेदन परेका छन् ।
तर, ‘रुसी सेनामा भर्ती भएका नेपाली नागरिकको जीवन रक्षा अभियान’ चलाइरहेकी अभियन्ता कृतु भण्डारीका अनुसार, रूसी सेनामा भर्ती भइ युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या ६५ भन्दा बढी छ ।
“अवैध तरिकाले रुसी सेनामा भर्ती भएकाहरूको मृत्यु भएको जानकारी पाएपछि यता परिवारले पनि नेपाल सरकारलाई थाहै नदिई अन्तिम संस्कारको काम सक्छन्,” भण्डारी भन्छिन् ।
यसरी मरेकाहरूले क्षतिपूर्ति पाउनुपर्छ भनी आफूहरूले दबाब दिइरहेका उनले सुनाइन् । भण्डारीका अनुसार, रुसी सेनामा भर्ती भएर मृत्यु भएका केही परिवार क्षतिपूर्तिका लागि भनी रुस पुगेका छन् ।
भण्डारीले गएको एक वर्षदेखि रूसी सेनामा भर्ती भएका नेपालीहरूलाई स्वदेश फर्काउने अभियान चलाइरहेकी छन् । उनी रुसी सेनामा भर्ती भएका, युद्धमा मृत्यु र घाइते भएका नेपालीको तथ्याङ्क संकलन गरिरहेकी छन् ।
भागेर नेपाल !
विनोदका अन्तिम संस्कारमा भेटिए सुदिप खत्री । ओखलढुंगा चम्पादेवी गाउँपालिका ३ का खत्री भूतपूर्व रुसी सेना हुन् । करिब दूई महिना अगाडि उनी रुसी सेनाको जागिर छोडेर नेपाल फर्किएका हुन् ।
खत्रीका अनुसार उनी र विनोदले एकै स्थानमा सैन्य तालिम लिएका हुन् । खत्री भन्छन्, “विनोदजी र मैले तालिम एकै ठाउँमा लियौं । त्यसपछि भने हामीलाई फरक–फरक ठाउँमा खटायो ।”
खत्रीका अनुसार उनी रुसी सेनासँग गरेको सम्झौता अवधि बाँकी रहँदै भागेर आएका हुन् । उनी सुनाउँछन्, “यहाँबाट लगेपछि सुरुमा २ महिना तालिम दिन्छ । त्यसपछि युद्धमा खटाउँछ । केही समय युद्धमा लडेपछि २ महिनाको छुट्टी दिन्छ ।”
यो दूई महिनाको छुट्टीमा रुस छाडेर बाहिर भने जान पाइँदैन । खत्री भने भागेर आए । “रुसभित्र घुम्ने छुट्टी हुन्छ म भने भागेर आएको हुँ,” खत्रीले भने ।
खत्रीका अनुसार तालिम अवधिमा १ लाख ९० हजार रुसी रुबेल अर्थात् २ लाख ७१ हजार नेपाली रुपैयाँ तलब पाइन्छ । तालिम सकेर युद्ध मोर्चामा गएपछि भने २ लाख ६० हजार रुबेलसम्म तलब पाइन्छ ।
खत्रीले यस अगाडि पनि रुसबाट भाग्ने प्रयास गरेका थिए ।
पहिलोपटक भाग्न खोज्दा रुसी सेनाले पक्राउ गरेर फेरि युद्ध मोर्चामा खटाएको उनले सुनाए ।
“भागेर समातेपछि अलिअलि सजाय त दिन्छन्,” उनी सुनाउँछन्, “त्यहाँ गोलाबारीले मर्नु भन्दा त भाग्नु ठिक भनेर म दोश्रो चोटी पनि भागेर यहाँ आईपुगे ।”
र, अब उनी फेरि रुसी सेनामा जाने मुडमा छैनन् ।
“पशुपतिनाथको कृपाले म बाँचेर आइपुगेँ,” छेउमा जलिरहेका विनोदको प्रतिकात्मक कुशको शव देखाउँदै उनी भन्छन्, “नभए त मेरो अवस्था पनि यस्तै हुन्थ्यो ।”
तस्बिर– हरिशजंग क्षेत्री