site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अघि बढ्यो बारका अध्यक्ष घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दा

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध चलाइएको अदालतको अवहेलना मुद्दा अघि बढेको छ ।  बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको इजलासले घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दामा प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको छ ।

गत असोज १४ गते सर्वोच्चमा दर्ता भएको अदालतको अवहेलनासम्बन्धी प्रतिवेदन तयार पारेका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले प्रतिवेदन फिर्ता लिने बताएका थिए । तर, बिहीबार पहिलो पेसी नै संयुक्त इजलासमा चढाएर सुनुवाइ भयो । घिमिरेले आफ्नो कुरा राखेर निवेदन फिर्ता लिने घोषणा गरे पनि फिर्ताका लागि निवेदन नदिएपछि सुनुवाइ प्रक्रिया अघि बढेको हो ।

“म हिजोदेखि निदाउँन सकेको छैन । जीवनभर प्रजातन्त्रको पछि लागियो । बा सधैँ यसकै लडाइँ लड्नुभयो,” घिमिरेले असोज १७ गते मध्यरातमा फेसबुकमा लेखेका थिए, “बार जनताको आवाज हो, लोकतन्त्रको हिमायती हो । त्यसको नेतृत्वविरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले अदालत खुलेपछि आफ्ना कुरा राखेर निवेदन फिर्ता लिने पनि बताएका थिए ।

बारका अध्यक्ष घिमिरेले भने आफूविरुद्ध अदालतको अवहेलना मुद्दा फिर्ता नभएकाले अब प्रक्रियाअनुसार अघि बढ्ने बताए । उनले आफूले कुनै मुद्दा विषयमा वा प्रधानन्यायाधीशको काम कारबाहीमा नभई न्याय परिषद्का अध्यक्षमाथि टिप्पणी गरेको बताए । यस विषयमा अब प्रक्रियागत जवाफ दिएर अघि बढ्ने उनको भनाइ छ ।

“मैले कुनै मुद्दा विषयमा टिप्पणी गरेको छैन । प्रधानन्यायाधीशको भूमिकामा पनि प्रश्न उठाएको छैन,” घिमिरेले भने, “मैले न्याय परिषद् नियमावलीमार्फत भएको अनियमितता र न्याय परिषद् अध्यक्षको भूमिकामा प्रश्न उठाएको हुँ । यसमा म जवाफ दिँदै अघि बढ्ने छु ।”

उनले सिंगो बार, हजारौँ कानुन व्यवसायी र नेपाली जनताले यस मुद्दाको मूल्यांकन गर्ने पनि बताए ।

Aadesh-1729164558.jpg


सर्वोच्चका मुख्य रजिस्ट्रार र रजिस्ट्रार उच्च अदालतको न्यायाधीशमा नियुक्त हुँदा मुख्य रजिस्ट्रार मुख्य न्यायाधीशपछिको वरीयतामा हुने र रजिस्ट्रार नियुक्त हुँदा रजिस्ट्रार नियुक्तिपछि नियुक्त न्यायाधीशभन्दा अघिको वरीयतामा हुने व्यवस्था गरेपछि बारले विरोध गर्दै आएको छ । बारले 'संविधानविपरीत गरिएको नियमावली संशोधन' खारेज हुनुपर्ने माग गर्दै आएको थियो ।

माग सम्बोधन नभएपछि बार न्याय परिषद्को बैठक नै अवरोध गर्ने गरी आन्दोलनमा उत्रिएको थियो । तर, असोज ११ मा आन्दोलन जारी रहेकै बेला सर्वोच्चका दुई न्यायाधीश सिफारिस भएपछि बारका अध्यक्ष घिमिरेले आक्रोश पोखेका थिए ।

न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठले बारका 'जायज माग' सम्बोधन नगरेरै न्यायाधीश नियुक्त गरेपछि उनको लेनदेन हुन सक्ने बारका अध्यक्ष घिमिरेको आरोप थियो । त्यसैलाई लिएर उनीविरुद्ध असोज १४ गते अवहेलना मुद्दा दर्ता भएको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्