site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एसिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य

काठमाडौं । पहिलोपटक घरेलु भूमिमा एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा प्रतिस्पर्धा गर्न लागेको नेपालको महिला र पुरुष टोली सुखद् प्रदर्शन गर्ने लक्ष्यमा छ ।

नेपालको पुरुष–महिला टोली पहिलोपल्ट सिनियरस्तरको एसिया रग्बी सेभेन्स ट्रफी घरेलु भूमिमा शुक्रबारदेखि खेल्दै छ । जहाँ नेपाली टोलीले आफ्नो प्रदर्शन सुधार गर्ने अपेक्षासहित लामो समयदेखि तयारी पनि गरेको छ । सिर्जना राईको कप्तानीमा रहेको महिला टोली र विक्रम पुरीको कप्तानीमा रहेको पुरुष टोलीले यसपल्ट सुखद् प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । घरेलु भूमिमा हुने सेभेन्स ट्रफीलाई विशेष बनाउन नेपाली टोलीले करिब तीन महिनादेखि बन्द प्रशिक्षण समेत गरेको छ ।

न्युजिल्यान्डका प्रशिक्षक फ्रेड मोए, नेपालका पूर्वकप्तान तथा प्रशिक्षक कृष्ण क्षेत्री र विनोद तामाङले नेपाली टोलीलाई प्रशिक्षण दिएका थिए । नेपालमा तेस्रोपल्ट एसियालीस्तरको रग्बी प्रतियोगिता हुन लागेको हो । एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ हुन लागेको हो । शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

यस सेभेन्स ट्रफीमा एसियाका १६ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् । पुरूषमा १४ र महिलामा सात राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका हुन् । महिलामा आठ राष्ट्रको चुनौती तय थियो । आन्तरिक कारणले इरानको सहभागिता नभएको हो । इरानले महिला टोलीलाई सहभागी गराउन लागेको थियो । पुरुषतर्फ चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइने भएको छ । नेपालको समूह ‘बी’ मा बहराइन र उज्वेकिस्तानले चुनौती प्रस्तुत गर्ने भएका छन् । 

समूह ‘ए’ मा फिलिपिन्स, पाकिस्तान र जोर्डन, समूह ‘सी’ मा काजाकिस्तान, कतार, साउदी अरब र श्रीलंका तथा समूह ‘डी’ मा अफगानिस्तान, भारत, बंगलादेश र चाइनिज ताइपेईं छन् । 

महिलातर्फ सात राष्ट्रलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा नेपालसहित फिलिपिन्स र गुआम, उज्वेकिस्तान तथा समूह ‘बी’ मा भारत, इण्डोनेसियाले खेल्नेछन् । सेभेन्स ट्रफी खेल्ने सबै राष्ट्र नेपाल आइसकेको संघका महासचिव घिमिरेले जानकारी दिए ।

सेभेन्स ट्रफीको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन् । यो प्रतियोगिता एसिया रग्बी सेभेन्स सिरिज २०२५ को छनोट समेत हो । नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले कार्यक्रमलाई सफल र भव्य बनाउन सरोकारवालाई अनुरोध पनि गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro