site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाल एमेच्योर ओपन गल्फ : नेपाल ‘ए’ लाई स्वर्ण, सदभावको कोर्स रेकर्ड

काठमाडौं । नेपाल नम्बर एक गल्फर सदभाव आचार्यको कोर्स रेकर्डमा नेपाल ‘ए’ ले ११औँ संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको टिम स्पर्धामा स्वर्ण पदक जित्न सफल भएको छ ।  

नेपाल ‘ए’ का सदभाव र राहुल विश्वकर्माले ३६ होलको समाप्तिमा २४ अन्डर २६४ को स्कोरमा स्वर्ण जितेको हो ।  गोकर्ण गल्फ क्लबमा बुधबार सदभावले १२ अन्डर ६० को स्कोरमा नयाँ कोर्स रेकर्ड बनाए । राहुलले ४ अन्डर ६८ स्कोर गरे । नेपाल ‘ए’ ले आज १६ अन्डर १२८ को स्कोर गर्दा भुटानलाई २४ स्ट्रोकको फराकिलो अन्तरले हरायो ।

Argakhachi Cement Island Ad

निम दोर्जी तामाङ र डेचेन लेण्डुपको भुटानी टिम काउन्ट ब्याकमा दोस्रो भयो । भुटान र बंगलादेश इभन–पार २८८ मा बराबरी भएपछि काउन्ट ब्याकमा नतिजा निकालिएको हो । सफिकुल इस्लाम र मोहम्मद सहाब उद्दीन सम्मिलित बंगलादेशको टिमले कास्य पदक हात पार्‍यो ।

च्याम्पियनसिपको दोस्रो दिन व्यक्तिगत स्पर्धामा नेपालका सदभाव शीर्षस्थानमा कायमै रहन सफल भएका छन् । ३६ होलको समाप्तिमा समग्रमा १८ अन्डर १२६ को स्कोरमा सदभावले भारतका सुमित कोटवाललाई आठ स्ट्रोकले पछि पारेका छन् । 

सदभावले १२ अन्डर ६० को सानदार स्कोरमा प्रोफेसनल गल्फर शुक्रबहादुर राईको नाममा रहेको ११ अन्डर ६१ को रेकर्ड तोडेका हुन् । शुक्रले सन् २०२३ को सूर्य नेपाल सेन्ट्रल ओपनमा सो रेकर्ड बनाएका थिए । 

कोर्स रेकर्ड बनाउने क्रममा सदभावले १२ बर्डी प्रहार गरे । फ्रन्ट र ब्याक नाइन दुवैमा ६ अन्डर ३० को स्कोर निकाले । सदभावले पहिलो होलमा बर्डी प्रहार गर्दै दोस्रो दिनको सुरूआत गरे । यसपछि तेस्रोदेखि छैटौँ होलमा लगातार चार र नवौँ होलमा पनि अर्को बर्डीको सफलता प्राप्त गरे । 

तीनदिने ५४–होलको प्रतिस्पर्धामा नेपालसहित दक्षिण एसियाका बंगलादेश, भुटान, श्रीलंका र भारतका गरी कुल पाँच राष्ट्रका ५७ खेलाडीको सहभागिता रहेको छ । यो प्रतियोगिता वर्ल्ड एमेच्योर गल्फ र्‍याकिंङ (डब्लूएजीआर) द्वारा मान्यता प्राप्त हो । प्रतियोगितामा सहभागी पुरुष तथा महिला खेलाडीहरूले र्‍याकिंङ अंक समेत प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  २२:२२
प्रतिक्रिया दिनुहोस्