site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पत्रकार गणेश बस्नेतलाई प्रहरीले किन पक्राउ गर्न खोजेको थियो ?

काठमाडौं । प्रहरीको साइबर ब्युरोको टोलीले पत्रकार तथा एमाले निकट प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई पक्राउ गर्न खोजेको विषयले बिहीबार सामाजिक सञ्जाल तात्यो ।

काठमाडौंको बागबजारमा भएको कार्यक्रममा पुगेका सादा पोशाकका प्रहरीले उनलाई नियन्त्रणमा लिन लागेपछि प्रेस चौतारी निकट पत्रकारले ‘प्रहरी हस्तक्षेप’ भन्दै विरोध जनाएका थिए ।

उनीहरुले समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिल जानुपर्ने भन्दै चर्को विरोध जनाए । सामाजिक सञ्जालमात्रै होइन पत्रकार महासंघदेखि विभिन्न संगठनले प्रेस स्वतन्त्रता कुन्ठित गर्न खोजेको भन्दै विरोध जनाए ।

यो विषय अझै मत्थर भइसकेको छैन । बस्नेत पक्राउको प्रयासविरुद्ध विभिन्न पत्रकार संगठनहरुले विज्ञप्ति जारी गरिरहेका छन् । 

महासंघले विज्ञप्ति जारी गर्दै भन्यो, “नेपाल पत्रकार महासंघका राष्ट्रिय परिष्द सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत समाचारको विषयलाई लिएर साइब ब्युरोले पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।”

विज्ञप्तिमा अगाडि लेखिएको छ, “प्रहरीको यो हस्तक्षेप र प्रेस स्वतन्त्रता सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।’ बस्नेतलाई सोधपुछका लागि ब्युरोको कार्यालय जान प्रहरीले आग्रहमात्रै गरेको जनाएको छ ।

कार्यक्रममा सहभागी र प्रहरीबीच विवाद हुँदा बस्नेतलाई पक्राउ गर्न पुगेको प्रहरीको टोली रित्तो हात फर्किएको थियो । 

ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले बस्नेतलाई फोन सम्पर्क गरेर बोलाउँदा पनि ब्युरोको कार्यालयमा नआएपछि उनको खोजी गरिएको बताए ।

उनले भने, “एकजना महिलाको उजुरीका आधारमा बस्नेतलाई सोधपुछका लागि बोलाएका थियौं । तर, उहाँ आउनुभएन । नआएपछि लोकेसन बागबजार देखिएपछि हाम्रो टोली पुगेको हो ।”

कार्यक्रमबारे पूर्वजानकारी लिएर भने बागबजार नगएको उनको भनाइ छ । शुक्रबार भने बस्नेतले आफैँ ब्युरोमा उपस्थित हुने खबर गराएको एसपी अवस्थीले बताए ।

विषय के हो ?

बस्नेतमाथि प्रहरीले सोधपुछ गर्नुपर्ने विषय भने समाचारसँग सम्बन्धित नै छ । प्रहरीका अनुसार भने एक महिला नेतृको अश्लिल भिडियोबारे बस्नेत सम्पादक रहेको जनता टाइम्सले साउन ३२ मा सनसनीपूर्ण शीर्षक राखेर समाचार लेखेको थियो ।

एक पार्टीकी केन्द्रीय सदस्यको भिडियो भन्दै लेखिएको समाचारमा उनको अर्धनग्न तस्बिरसमेत राखिएको पाइएको छ । उक्त समाचारमा अश्लिल भिडियोको तस्बिरसमेत राखिएको थियो । 

तर ती केन्द्रीय सदस्यले आफू त्यस्तो कुनै क्रियाकलापमै संलग्न नभएको बताउँदै प्रहरीले निष्पक्ष छानबिन गरेर त्यस्तो भिडियो बनाउने र समाचार प्रकाशित गर्ने दुवैलाई कारबाहीको माग गरेकी छन् ।

बाह्रखरीसँगको सम्पर्कमा आएकी ती नेतृले भनिन्, “त्यो भिडियोसँग सम्बन्धित व्यक्ति म होइन । भिडियो मैले पनि हेरेँ । राज्यका कुनै पनि निकायबाट त्यो भिडियो मेरै भएको पुष्टि भए मलाई सजाय गरे हुन्छ । तर पुष्टि भएन भने मेरो चरित्र हत्या गर्न पाइँदैन । मेरा पनि परिवार आफन्त छन् । मैले कसरी मुख देखाएर हिँड्नु ?”

सामाजिक सञ्जालमार्फत् पनि उनले उक्त समाचारपछि आफू विक्षिप्त अवस्थामा पुगेको उल्लेख गरेकी छन् । उनले सामाजिक सञ्जालमा आत्महत्याको अवस्थामा पु¥याउनु भनेको बलात्कारपछि हत्या गरेजस्तै भएको बताएकी छन् ।

जनता टाइम्सले लेखेको समाचारले आफ्नो मानमर्दन भएको र उक्त भिडियो नै आफ्नो नभएको दाबी गर्दै प्रेस काउन्सिल नेपालमा उजुरी दिँदा पनि कारबाही नभएपछि आफू बाध्य भएर प्रहरीकहाँ पुगेको बताएकी छन् ।

सोही प्रकरणमा ब्युरोले बस्नेतमाथि अनुसन्धान गरिरहेको र पटक पटक बोलाउँदा पनि नमानेपछि समात्न पुगेको जनाएको छ । पीडित महिलाले कानुनी कारबाहीका लागि अन्तिमसम्म लड्ने बताएकी छन् ।

ती महिलाले भनिन्, “म अझै पनि जहाँ पुगेर जस्तोसुकै जाँचका लागि तयार छु । तर समाचार लेख्ने पत्रकार तयार हो कि होइन ? उनले तथ्य स्थापित गर्न सक्छन् कि सक्दैनन् ? होइन भने कानुनी कारबाहीका लागि तयार हो कि होइन ? यो प्रश्नको जवाफ खोजीरहेकी छु ।”

जनता टाइम्सले यसअघि चौतर्फी विरोध भएपछि तस्बिर परिवर्तन गरेको थियो भने अहिले समाचार नै हटाएको पाइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro