site stats
बाह्रखरी :: Baahrakhari
देश
न्याय परिषद् नियमावली सच्याउन नेपाल बारले थाल्यो आन्दोलन, समन्वय समितिको बैठक जारी 
न्याय परिषद्‌मा आइतबार दिइएको धर्नाको दृश्य ।

काठमाडौ ।  कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले आन्दोलन थालेको छ । बारमा आबद्ध कानुन व्यवसायीले सोमबार दिउँसो २ देखि ३ बजेसम्म सर्वोच्च अदालत परिसरमा एक घण्टा धर्ना दिएका हुन् ।

धर्नामा नेपाल बारसहित विभिन्न बारमा आबद्ध प्रतिनिधि सहभागी थिए । धर्नापछि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बार–बेन्च समन्वय समितिको बैठक डाकेका छन् । बैठकमा हुने समझदारीका आधारमा बारको आन्दोलनको रूप निर्धारण गरिने नेपाल बारकी उपाध्यक्ष आशा राईले बताइन् ।

उच्च अदालतका न्यायाधीशभन्दा माथि वरीयतामा सर्वोच्चका मुख्य रजिस्ट्रार र रजिस्ट्रारलाई राख्ने गरी न्याय परिषद् नियमावली संशोधन गरिएपछि बारले विरोध जनाउँदै आएको छ ।

Argakhachi Cement Island Ad

सर्वोच्चका मुख्य रजिस्ट्रार मुख्य न्यायाधीशमा नियुक्त हुने, त्यसो नभए मुख्य न्यायाधीशपछिको वरीयतामा रहने व्यवस्था गरिएको छ ।

त्यो व्यवस्था पहिल्यै नियुक्ति लिएर काम गरिरहेका न्यायाधीशहरूलाई नैतिक रूपमा गिराउने र प्रशासकलाई माथि राख्ने गरी संशोधन गरिएको बारको आरोप छ ।

कानुन व्यवसायीले आइतबार न्याय परिषद् घेरेर त्यसको बैठक नै प्रभावित पारेका थिए । अदालत परिसरमा धर्ना दिएपछि नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूहरू अब निरन्तर आन्दोलनमा उत्रिएको बताए ।

बारले यसअघि प्रधानन्यायाधीश श्रेष्ठसहित न्याय परिषद्लाई ज्ञापनपत्र बुझाएर नियमावली संशोधनको विरोध गरेको थियो । उनले उच्च अदालतका न्यायाधीश हीन भावनाले काम गर्न बाध्य भएको भन्दै उनीहरूका तर्फबाट पनि आफूले आन्दोलन गर्न लागेको बताए ।

“न्यायाधीश भइसकेको व्यक्ति या त राजीनामा दिएर बिदा हुन्छ, होइन भने उसले आन्दोलन गर्दैन,” घिमिरेले भने, “उहाँहरू मन खुम्च्याएर पदमा बस्न बाध्य हुने अवस्था छ । मन खुम्चिएको न्यायाधीशबाट प्रभावकारी र रचनात्मक न्यायसम्पादनको अपेक्षा गर्न सकिँदैन । त्यसकारण हामीले उहाँहरूको भावना प्रतिनिधित्व गरेका हौँ ।”

उनले न्यायप्रशासन र न्यायाधीश फरक जिम्मेवारी भएकाले प्रशासक बन्ने वा न्यायाधीश भएर सेवा गर्ने छनोट हुनुपर्ने बताए । “प्रशासक बन्ने रहर गर्नेले प्रशासनबाट बिदा लिन तयार छु भनेर सेवामा रहनुपर्‍यो । सेवामा रहँदा प्रशासककै धर्म निर्वाह गर्नुपर्‍यो, ताकि भविष्यमा न्यायाधीश बन्न अनुकूल काम गरेर बस्नु भएन,” उनले भने, “न्यायाधीश बन्ने हो भने समयमै गएर न्यायसम्पादनमा काम गर्नका लागि तयार हुनुपर्‍यो ।”

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्