site stats
बाह्रखरी :: Baahrakhari
देश
ऐन विपरीत कर्मचारी सरुवा गरिएको भन्दै मुख्यमन्त्री कार्यालयमा उजुरी

कर्णाली । कर्णाली प्रदेशमा कार्यरत कर्मचारीको सरुवा प्रदेश निजामती सेवा ऐन, २०८० विपरीत भएको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ । 

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती कर्णाली प्रदेश समितिले प्रदेश सरकारका निमित्त प्रमुख सचिव आनन्द सारुसमक्ष कानुन विपरीत भएका सरुवा बदर गर्न माग गर्दै उजुरी दिएको हो । मुख्यमन्त्री कार्यालयले गत साउन ३२ गते प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फका १११ कर्मचारीको एकैसाथ सरुवा गरेको थियो ।

Argakhachi Cement Island Ad

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती कर्णाली प्रदेश समितिका उपाध्यक्ष जमानसिंह परियारले प्रदेश निजामती सेवा ऐन, २०८० को दफा २४ को उपदफा (३) को प्रतिबन्धात्मक व्यवस्थामा बाहेक कुनै कर्मचारीले एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा हुनका लागि दुई वर्षको समयावधि पूरा गरेको हुनुपर्ने बताए । त्यसभन्दा अगाडि सरुवा गर्न नपाइने व्यवस्थालाई मिचेर सरुवा गरेको उनको भनाइ छ । 

“प्रदेश निजामती ऐनमा कम्तीमा दुई वर्ष एक कार्यालयमा बस्ने व्यवस्था गरिएको छ, तर दुई महिनादेखि दुई वर्ष नपुगेका धेरै कर्मचारीलाई राजनीतिक आस्थाका आधारमा सरुवा गरिएको छ,” उनले भने, “यो ऐन नियम विपरीत गरिएका कर्मचारीहरुको सरुवा बदरको माग राख्दै हामीले मुख्यमन्त्री कार्यालयमा उजुरी दर्ता गरेका छौँ ।” रासस
 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १२:५१
प्रतिक्रिया दिनुहोस्