
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद चन्दा कार्कीले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने बताएकी छन् । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद कार्कीले गृहमन्त्रीको राजीनामा माग गरेकी हुन् ।
गृहमन्त्री लेखकको भिजिट भिसामा संलग्नता रहेको देखिएकाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने उनको माग छ । छानबिनबाट निर्दोष भए पुनः मन्त्री हुन कसैले नछेक्ने उनको भनाइ छ ।
"हामीले गृहमन्त्रीको कुनै दोष छ भनेका छैनौँ । तर, एउटा नैतिकताको कुरा आफैँबाट हुनुपर्छ । सुसंस्कृत राजनीतिक अभ्यास गरेको मान्छेबाट त्यो हामीले अपेक्षा गर्दछौँ । गृहमन्त्रीज्यूले पहिल्यै दिन राजीनामा दिएको भए उचाइ अझ ठूलो हुन्थ्यो । अझै पनि अपेक्षा छ," उनले भनिन् ।