धरान (सुनसरी) । धरानमा गत आर्थिक वर्षमा लागुऔषधको कारोबार गर्ने १९३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानको तथ्यांकअनुसार गत आव २०८०/८१ मा १७६ पुरुष र १७ महिला गरी १९३ जना लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् ।
प्रहरी निरीक्षक भीमराज राईले चालु आव २०८१/८२ को साउन महिनामा मात्रै १० वटा मुद्दामा १६ पुरुष र एक महिलालाई पक्राउ गरिएको जानकारी दिए । यसरी पक्राउ पर्नेमध्ये अधिकांश युवापुस्ता रहेका उनले बताए । गत आवमा आफ्नो कार्यालयमा लागुऔषधका १०२ मुद्दा दर्ता भएका राईले बताए ।
आर्थिक वर्ष २०७८/८९ मा ५५ मुद्दा दर्ता भई ७९ पुरुष र चार महिला पक्राउ परेका थिए भने आव २०७७/७८ मा ५७ मुद्दा दर्ता भएकामा ७९ पुरुष र चार महिला पक्राउ परेका थिए । .
उमेर समूहका आधारमा १८ देखि ३५ वर्ष उमेरका युवाको सङ्ख्या बढी रहेको छ । अघिल्ला दुई आर्थिक वर्षमा यो समूहका ४६ जनालाई पक्राउ गरिएको थियो भने १७ वर्षभन्दा कम उमेरका ३२ जना पक्राउ परेका थिए ।
धरान उपमहानगरपालिकाले हरेक शुक्रबार लागुऔषध विरुद्ध सचेतना अभियान पनि सञ्चालन गरिरहेको छ । उपमहानगर प्रमुख हर्कराज राईले घर र विद्यालय तहबाटै सचेतना जगाउनु आवश्यक रहेको र हरेक अभिभावकले आफ्ना परिवारका सदस्यको निगरानी गर्न आवश्यक रहेको बताए । रासस