site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
गैरकलाकार विदेशमा लैजानु र छोड्नु : ओपन सेक्रेट
SkywellSkywell

काठमाडौं । विदेशमा हुने कार्यक्रममा गैरकलाकार लैजानु ‘ओपन सेक्रेट’जस्तै भएको स्वयं कलाकारले बताएका छन् । विदेशमा हुने कार्यक्रममा कलाकारका नाममा अरूलाई लैजाने कार्य कतिपयको ‘व्यवसायिक धन्दा’कै रूपमा रहेको कलाकारको भनाइ छ ।

कलाकारको भनाइलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले बुधबार नेपाल संगीत उद्योग संघको केन्द्रीय कार्यालयमा छापा मारेको घटनाले पनि पुष्टि गर्छ । मोटो रकम असुल गरेर गैरसंगीतकर्मी र कलाकारलाई विभिन्न देश पठाउने गरेको गुनासोपछि ब्युरोले छापा मारेको एसपी गौतम मिश्रले बताएका थिए । एसपी मिश्रका अनुसार, कार्यालयमा भएका कागजात अध्ययन गर्ने कार्य भइरहेको छ ।

कलाकारको ‘फेक पेपर’ बनाएर गैरकलाकारलाई विदेश लैजाने र मोटो रकम लिएर उतै छोड्ने विषय ओपन सेक्रेटजस्तै रहेको गीतकार लोकराज अधिकारी बताउँछन् । “यसले वास्तवमा जो कलाकार हो, उसलाई कठिन भइरहेको छ,” अधिकारी भन्छन्, “सांगीतिक कार्यक्रममा जाने कलाकारलाई यस्तो धन्दाले दूतावासले भिसाका लागि अनावश्यक इन्क्वाइरी गरेर दुःख पाउने अवस्था छ ।”

Dabur Nepal
NIC Asia

यो विकृतिलाई तत्काल रोक्न नसके अवस्था झन् बिग्रिएर जाने र गैरकलाकारलाई मोटो रकम लिएर विदेश पठाउने कार्य नरोकिने उनको भनाइ छ । “दुईवटा गीत गाएका गायकगायिकालाई २० वटा गीत गाएको भनेर फेक पेपर बनाउने चलन छ । हामी दुई दशकदेखि काम गरिरहेका संगीतकर्मीभन्दा दुईवटा गीत गाउने कलाकारको पेपर बलियो बनाएर पठाउने चलन छ,” एक संगीतकर्मीले नाम नबताउने सर्तमा बाह्रखरीसँग भने, “यो त भयो भएको भन्दा राम्रो डकुमेन्ट बनाउने प्रचलन, तर यहाँ त गैरकलाकारलाई नै लैजानु सामान्य भइसक्यो ।”

कलाकारसँगै उनीहरूका आफन्त, नाता तथा चिनजानका व्यक्तिलाई पनि फेक डकुमेन्ट बनाएर विदेश लैजाने र उतै छोडेर आउने धन्दा मौलाएको ती संगीतकार बताउँछन् । यसले वास्तविक सर्जक मारमा परिरहेको उनको गुनासो छ ।

“जुन छापा मारेको प्रसंग छ, केही न केही नभई प्रहरीले छापा मारेन होला । प्रहरीले केही डकुमेन्ट लगेर अध्ययन गरिरहेको छ, त्यसबाट पनि केही न केही कुरा त आउला नै,” उनले भने, “विदेशमा गएर बस्नुपर्ने बाध्यतामा नेपाली होलान्, त्यो बेग्लै कुरा भयो । तर, जसरी बदमासी भइरहेको छ, यसले सच्चा सर्जक जो हो, उसलाई असर गर्छ ।”

विदेशमा गरिने विभिन्न म्युजिक र फिल्म अवार्डको मुख्य उद्देश्य नै त्यहाँ लगेर गैरकलाकारलाई छोड्नु र उनीहरूसँग मोटो रकम असुल गर्नु रहेको ती संगीतकारको जिकिर छ । प्रहरी र अदालतसामु देखाउने प्रमाण नहुने भएकाले यसबारे धेरै मान्छे नबोल्ने गरेको उनको बुझाइ छ ।

“परीक्षामा चिट चोर्न दियो भने कक्षामा मिहिनेत गर्ने जेहेनदार विद्यार्थीलाई असर गर्छ,” ती संगीतकार भन्छन्, “नजान्ने विद्यार्थीले चिट चोरेर जान्नेले भन्दा राम्रो लेख्छ । यस्तै अवस्था सांगीतिक क्षेत्रमा पनि देखिएको छ ।”

ग्रीन कार्डका लागि गैरकलाकारले मोटो रकम तिरेर फेक डकुमेन्ट बनाउने गरेको अधिकांश कलाकारले नै बताउँदै आएका छन् । यसका कारण सच्चा स्रष्टाले दुःख पाइरहेको उनीहरूको भनाइ छ । 

नेपाल संगीत उद्योग संघले क्यानडामा कार्यक्रम गर्ने तयारी गरेको थियो । त्यहाँ गर्ने भनिएको कार्यक्रम स्थगित भयो । त्यसपछि संघले अस्ट्रेलियामा दसैँको छेको पारेर कार्यक्रम गर्ने तयारी गरेको थियो ।

उक्त कार्यक्रम संघका तर्फबाट भन्दा पनि यताको र अस्ट्रेलियाको आयोजक मिलेर गर्ने तयारी गरिएको स्रोतले बताएको छ । व्यक्तिगतभन्दा संस्थागत रूपमा सिफारिस गर्दा भिसा लाग्ने सम्भावना धेरै हुने भएकाले संघका अध्यक्ष सूर्यबहादुर मगरले कार्यालयको लेटरप्याड प्रयोग गरेको स्रोत बताउँछ । यद्यपि, उनले यसलाई अस्वीकार गर्दैै आएका छन् ।

“कतिपय कार्यक्रममा सच्चा स्रस्टा जान पाइरहेका हुँदैनन् । तर, कलाकारको फेक पेपर बनाएर गैरकलाकार लैजाने गरेको सबैलाई थाहै छ,” एक गायक बाह्रखरीसँग भन्छन्, “कलाकार भन्दै गैरकलाकार लैजाने र २०÷२२ लाख रुपैयाँ प्रतिव्यक्ति लिएर उतै छोडेर आउने गरेका छन् ।”

नेपाल संगीत उद्योग संघका अध्यक्ष मगरले २२ लाख रुपैयाँ जम्मा गरे आफूले अस्ट्रेलिया पठाइदिने भन्दै गरेको भिडियो केही दिनअगाडि सार्वजनिक भएको थियो । उक्त भिडियो सार्वजनिक भएपछि प्रहरीले संघमा छापा मारेको हो ।

भिडियोमा उनले ‘भोलि नै’ पैसा जम्मा गर्न भनेका छन् । फर्कने कलाकार भनेर जानुपर्ने बताएका मगरले अस्ट्रेलिया पुगेको दुई दिनमै त्यहाँ सबै ‘सेटल’ गरिदिने बताएका छन् ।

आफूहरू पनि जाने र सँगै १० दिन बस्ने उनले बताएका छन् । पत्रकार वा कलाकार बनाएर लैजाने पनि उनले बताएका छन् । कलाकार बनाएर लैजाँदा सहज हुने उनले बताएको भिडियोमा प्रस्टै सुनिन्छ ।

भिडियोमा उनले अस्ट्रेलियाका विभिन्न स्टेटमा दसैँमा सांगीतिक कार्यक्रम गर्ने र ४०÷४२ गैरकलाकारलाई लगेर उतै छोड्ने बताएका छन् । संघका अध्यक्ष मगरको यो भनाइले पनि कलाकारका नाममा ठूलो संख्यामा गैरकलाकारलाई विदेश लगेर छोड्ने कार्य भइरहेको भन्ने पुष्टि गर्छ ।

संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारी गैरकलाकारलाई कलाकार बनाएर विदेश लगेर छोड्ने गलत प्रवृत्तिले वास्तविक कलाकार समस्यामा परिरहेको बताउँछन् ।

“चार वर्षअगाडि फ्रान्समा हाम्रो सांस्कृति कार्यक्रम थियो । हामी २२ जना कलाकार थियौँ । तर, यहाँ एम्बेसीले कलाकारका नाममा गैरकलाकार जाने सम्भावना हुन्छ भनेर हामीलाई भिसा दिएन,” सुरेश भन्छन्, “पछि उतैबाट फोर्स लगाएर भिसा लाग्यो । यो भनेको गैरकलाकारलाई कलाकार बनाएर लैजाने प्रवृत्तिले वास्तविक कलाकारले भोग्नुपरेको समस्या हो ।”

संघको घटनाबारे आफूलाई जानकारी नभए पनि कलाकारको नाम लिएर मानव तस्करी हुने गरेको आफूले सुनेको उनको भनाइ छ । “यस्तै समस्या भारतमा पनि कुनै समय धेरै थियो । संगठित रूपमै गैरकलाकारलाई विदेश लगेर छोड्न थालेपछि त्यहाँ धेरै मान्छे कारबाहीमा परे,” उनी भन्छन्, “नेपालमा पनि यो प्रवृत्ति मौलाउँदै जाँदा वास्तविक स्रस्टालाई समस्या भइरहेको छ । राज्यले यसलाई गम्भीर रूपमा लिएर कारबाही गर्नुपर्छ ।” 

गैरकलाकारले फेक डकुमेन्ट बनाएर विदेश जाँदा वास्तविक कलाकारको भने भिसा नलाग्ने समस्या रहेको उनको गुनासो छ । “जो गैरकलाकार छ, उसले फेक डकुमेन्ट बनाउने भएपछि राम्रो बनाउने नै भयो । तर, वास्तविक कलाकारसँग जे हो, त्यही डकुमेन्ट हुन्छ,” सुरेश भन्छन्, “फेक डकुमेन्ट बनाउनेले वास्तविक कलाकारको भन्दा राम्रो बनाउने भएपछि पेपर हेर्दा जसको राम्रो छ, उसैलाई दूतावासले दिन्छ । यसरी पनि रियल कलाकार मारमा परिरहेका छन् ।”

अमेरिकाले एक्स्ट्रा अर्डिनरी व्यक्तिलाई दिने भिसामा समेत फेक डकुमेन्ट बनाएर जानेको संख्या उलेख्य रहेको उनी सुनाउँछन् । साँच्चै क्षमतावान् व्यक्ति भने यो भिसा पाउनबाट वञ्चित भइरहेको अधिकारी बताउँछन् ।

पछिल्ला केही वर्षयता कहिल्यै नाम नसुनेका म्युजिक र सिने अवार्ड हुँदै आएका छन् । यस्ता अवार्ड विदेश जानका निम्ति डकुमेन्ट बनाउन सहज होस् भन्ने उद्देश्यले हुने गरेका टिप्पणी हुँदै आएको छ । यस्ता अवार्ड पनि डकुमेन्टकै लागि खरिदबिक्री हुने गरेका समाचार आउने गरेका छन् ।

यसबाहेक हरेक महिनाजसो नेपाली सांगीतिक र सिने अवार्ड विभिन्न देशमा हुँदै आएका छन् । यस्ता अवार्डमा केही गैरकलाकारलाई लैजाने र आयोजकले मोटो रकम लिएर उतै छाड्ने गरेको पनि मगरको भिडियोले पुष्टि गर्छ ।

यो ‘धन्दा’ व्यवसायकै रूपमा चलेको ओपन सेक्रेटजस्तै रहे पनि पर्याप्त प्रमाणका अभावमा कारबाही हुन सकेको छैन । गत वर्ष क्यानडामा भएको एउटा म्युजिक अवार्डमा ४२ जनाको भिसा लागेकामा ३८ व्यक्ति उतै भागेका चर्चा नेपाली सांगीतिक र चलचित्रवृत्तमा भुसको आगोझैँ सल्किएको थियो । तर, कसैले उजुरी नगरेको र फेक डकुमेन्ट पुष्टि गर्ने प्रमाण कसैसँग नहुँदा कारबाही भने हुने गरेको छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro