site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भलिबलमा लागेर के पाएँ र गुमाएँ सोच्ने समय नै भएन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

घरेलु कोर्टमा हालै सम्पन्न काभा महिला नेसन्स भलिबल लिगपछि नेपालमा भलिबलको चर्चा ह्वात्तै बढेको छ । प्रतियोगिताको फाइनलमा भारतसँग ३–२ सेटले निराश बने पनि नेपाली टिमको प्रदर्शनले समर्थकको मन जितेको थियो । जगदीश भट्टको प्रशिक्षणमा रहेको नेपाली टिमले लिग चरणमा भारतविरुद्ध ३–२ सेटकै ऐतिहासिक जित निकालेको थियो । त्यसपछि नेपाली महिला भलिबलको चर्चा झनै चुलिएको हो ।

प्रशिक्षक भट्ट नेपालका पूर्वराष्ट्रिय खेलाडी समेत हुन् । सन् १९९३ देखि भलिबल करियर सुरु गरेका उनले १३ वर्ष अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरे । १८ वर्षयता उनी प्रशिक्षणमा सक्रिय छन् । उनले राष्ट्रिय टिमलाई प्रशिक्षण दिन सुरु गरेको नै १७ वर्ष भइसक्यो । उनै प्रशिक्षक भट्टसँग बाह्रखरीका आशिष पुडासैनीले गरेको कुराकानीको सम्पादित अंश :

काभा महिला भलिबल नेसन्स लिगमा अपेक्षा कस्तो थियो र कस्तो भयो ?
भलिबल संघले विगत १०-१२ वर्षदेखि आफ्ना कार्यक्रमहरूलाई निरन्तरता दिँदै आन्तरिक र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता गराउँदै यहाँसम्म आइपुगेका छौँ । हामी यसअघि बाहिर मात्र प्रतियोगिता खेल्न जान्थ्यौँ । तर, यो काभा महिला नेसन्स लिगले अब नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्छ भन्ने देखाएको छ । यो प्रतियोगिता आयोजना र व्यवस्थापनाका हिसाबले सेन्ट्रल एसियाका धेरै प्रतियोगिताहरूमध्ये सबैभन्दा उत्कृष्ट लागेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

तर, हाम्रोे कभर्ड हल अन्तर्राष्ट्रिय मापदण्डको नभए पनि त्यहाँको स्थितिलाई सुधार गरेर अन्तर्राष्ट्रिय मापदण्डको गाँस र बासको व्यवस्था गरेर र निर्णायकका हिसाबले पनि प्रतियोगिता उच्च नै रह्यो ।

नेपाली टिमको प्रदर्शन कस्तो हुन्छ भन्नेबारे आमसमर्थक र संघले नजिकबाट नियालिराखेको थियो । पछिल्लो चार–पाँच वर्षमा हामीले जति पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेल्यौँ, त्यसमा हामी स्टेप बाई स्टेप माथि जाँदै गर्दा गत वर्ष नेपालमै भएको प्रतियोगितामा भन्दा उच्चस्तरको टिमको सहभागिता यसपटक थियो । इरानको पुरुष टिम बलियो छ, महिला टिम पनि स्तरीय छ । भारतको स्तर पनि निकै माथि छ ।

Royal Enfield Island Ad

तर पनि हामीले खेल्नुपर्छ, घरेलु मैदानमा उपाधि जित्नुपर्छ भन्ने हाम्रो तयारी थियो । त्यसैअनुरूप हामीले उच्च मनोबलसाथ प्रतियोगितामा प्रतिस्पर्धा गर्‍यौँ । तर, नतिजा हाम्रो साथमा नरहे पनि हामीले सहभागी सबै टिमलाई हराउन सफल भयौँ ।

तर, अन्त्यमा नेपाली खेलकुद समर्थकको आशा र भरोसाअनुरूपको नतिजा निकाल्न सकेनौँ । त्यो नतिजाका लागि हामीले अझै संघर्ष गर्नुपर्नेछ र योभन्दा एक स्टेपमाथि गएर प्रतिस्पर्धा गर्नुपर्ने मैले देखेको छु ।

फाइनलमा नेपाल कहाँ चुक्यो र भारत कुन कुरामा नेपालभन्दा अब्बल रह्यो ?
नेपालले भारतलाई जित्ने भन्ने सपना थियो । त्यो लिग चरणमा पूरा भयो । भारतलाई जितेर इतिहास कायम गरियो । महिला भलिबलले भारतजस्तो शक्तिशाली राष्ट्रलाई पराजित गर्‍यो र देशको ध्यान नै तान्न सफल भयौँ । भारतलाई हराएपछि लिग चरणको विजेता बन्छौँ र सेमिफाइनलमा भारतसँग नै खेल्छौँ भन्ने थियो । तर, इरानसँग पराजित हुँदा सेमिफाइनलमा पनि इरानसँग नै खेल्नुपर्‍यो ।

सेमिफाइनलमा खेलाडी जुन मानसिकता लिएर उत्रिए र इरानलाई सोझो सेटमा हराए, त्यो बेला मलाई भारतलाई पनि सहज जित्छौँ, पाँच सेट खेल्नु पर्दैन होला भन्ने थियो । एकातिर लिग चरणमा भारतलाई हराएर हाम्र्रो मानसिकता माथि भएको थियो, अर्कोतिर सामाजिक सञ्जालले माहोल एकदमै तताएको थियो । आमखेलकुदप्रेमीहरूको आर्शीवाद थियो । महिला भलिबल टिमले राष्ट्रको लागि जुन बलिदान दिएको छ, त्यो उच्च रहेको छ भन्ने मानसिकता विकास भएको थियो । देश नै भलिबलको पछि कुदिरहेको अवस्थामा हामी त्यो फाइनल खेलको तयारीमा थियौँ । त्यस बेला हामीलाई उच्चस्तरको नेतृत्वले पनि काउन्सिलङ गर्नुभयो । भारतलाई जितिसकेको फेरि जित्न सकिन्छ भन्ने थियो । तर, फाइनल खेल हो, भारत पनि कोर्टमा दबाबसहित उत्रिन्छ कि उत्साहसाथ उत्रिन्छ भन्ने सबै आममानिसले हेरिरहेका थिए ।

भारत पनि नेपालजस्तो टिमले हरायो, फाइनलमा हामीले हराउन सकेनौँ भने भलिबल र भारतको नै इज्जत र प्रतिष्ठाको कुरा छ भन्ने हिसाबले आफैँ सेल्फ मोटिभेट भएर आएको देखियो ।

हामीले पहिलो सेट २१–२३ हुँदा पनि कमब्याक गरेर जितेपछि त्यहाँ मलाई सोझो सेटमा जित्छौँ कि भन्ने लागेको थियो । तर, दोस्रो सेटमा हामी कम अंकमा हार्नु भनेको नै दुःखद भयो । यसबाट उनीहरूको मनोबल माथि आयो । त्यही पनि हामीले तेस्रो सेटमा कमब्याक गर्‍यौँ । दुई सेट आफ्नो पक्षमा भएपछि हामीले चौथो सेट जित्नुपर्थ्यो । चौथो सेट नजित्नु नै हाम्रो दुर्भाग्य भयो । त्यहाँ हामी थोरै सम्हालिएको भए, चार–पाँच मिनेट धैर्य गरेको भए हामीले चौथो सेट जित्थ्यौँ । पाँचौँ सेटमा हामी एकदमै तल झर्‍यौँ र पराजय भोग्नुपर्‍यो ।

jagdish-bhatta2-1724050984.jpg
उनीहरूको जुन माथिल्लोस्तरको रिच छ, खेलको अनुभव छ, ट्यालेन्ट छ, जुन मोमेन्टसहित डिफेन्सिभ पोजिसनले खेले, त्यो हामीभन्दा धेरैमाथि नै थियो । तर, हामीमा उनीहरूलाई हराउन सक्छौँ, जुनसुकै टिमसँग खेल्न सक्छौँ भन्ने कन्फिडेन्ट माथि आएको थियो । यो विश्वास रसियासँगको खेलले र विगतमा पनि भारतसँग खेलेको भएर आएको हो ।

फाइनल हामीले हार्‍यौँ, त्यसलाई स्वीकार नगरी सकिँदैन । तर, हामीले जित्नैपर्थ्यो भन्ने लागेको छ अझै पनि ।

एक प्रशिक्षकका रूपमा नेपाल र भारतीय टिमबीचको फरक कस्तो पाउनुभयो ?
फरकपनमा भारतीय टिमको आत्मविश्वास धेरैमाथि देखियो । यति धेरै समर्थकबीच पनि उनीहरूले निर्धक्कसाथ खेले । अर्को कुरा, उनीहरूको रिच धेरैमाथि छ । हाइट छ, ट्यालेन्ट छ । हामीभन्दा ब्लक रिच र स्पाइकर धेरैमाथि देखिन्छ । फाइनलमा उनीहरूको सर्भिस, ब्लक राम्रो भयो ।

हामी पनि भिड्न त अन्तिमसम्म भिड्यौँ, तर तुलनात्मक रूपमा हामीभन्दा उनीहरू हरेक कुरामा अब्बल देखियो । तर, कोर्टमा हामीसँग भएको स्पोर्ट्स स्पिरिटलाई कायम राख्न सकेको भए हामीले उनीहरूलाई हराउन पनि सक्थ्यौँ । कहीँ कतै सेमिफाइनलमा इरानसँग खेलपछि रिकभरी नपुगेको जस्तो पनि देखियो । समर्थकको उपस्थितिले पनि प्रभाव पारेको जस्तो लाग्छ । पहिलो सेट २१–२३ को हुँदा नै काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर आउनुभयो, जसले दर्शकको उत्साह बढायो र टिमले कमब्याक गर्दै सेट जित्यो । दोस्रो सेटमा प्रतिस्पर्धात्मक रूपमा गएको भए समर्थकले पनि साथ दिन्थे होला । तर, यसमा खेलाडीकै कमजोरी देखियो ।

घरेलु कोर्टमा दर्शक भरिभराउ हुँदा कि उच्च मनोबल हुन्छ कि दबाब हुन्छ । यो दबाब र मनोबलको बीचबाट हामी निस्किनुपर्ने थियो, त्यहाँ हामी चुक्यौँ ।

सुमित्रा रेग्मी र आरती सुवेदीलाई ‘डेब्यु’ गराउनुभयो, उहाँहरूको प्रदर्शन कस्तो रह्यो ?
हामीले १४ जना खेलाडी छनोट गर्दा कुन खेलाडीको क्षमता कस्तो छ त्यसानुसार प्रयोग गर्नुपर्छ भन्ने सोच राखेका थियौँ । त्यसानुसार मैले हरेक खेलमा सबै खेलाडीले मौका दिएको छु र उनीहरूले खेलेका पनि छन् । भलिबलमा उच्चकदका खेलाडीले धेरै महत्त्व राख्छ । आरती र सुमित्रा दुवै उच्चकद भएका खेलाडी हुन् । उनीहरूले डेब्यु खेलमै शतप्रतिशत प्रदर्शन दिए । कोर्टमा हेर्दा भलै उनीहरूको प्रदर्शन अन्य अनुभवी खेलाडीजस्तो नदेखिएको होला, तर उनीहरूको आँट, साहस र कोर्टमा उत्रिएर आफूले पाएको जिम्मेवारी पूरा गरे, त्यो उत्कृष्ट थियो । यही आत्मविश्वाससाथ आगामी दिनमा प्राविधिक कुराहरूलाई सुधार गर्न सके उनीहरू दुवैजनाको भविष्य उज्ज्वल छ ।

यो प्रतियोगितामा नेपालको प्रदर्शनलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
हरेक टिमले खेल्नुभन्दा पहिले विपक्षी टिमको अनुसन्धान गरेको हुन्छ । भारतीय प्रशिक्षक धेरै पुरानो र धेरै अनुभवी प्रशिक्षक हुन् । अब भारतसँग नेपाल पुरानोजस्तो रहेन । नेपाली टिमको स्तर उकास्न भलिबल संघ सबै हिसाबले काम गरिरहेको छ । यसैकारण हामी मध्य एसियामा मात्र नभई विश्व भलिबलमै धेरैमाथि आएका छौँ । अहिले हामीलाई प्रतियोगिता र प्रशिक्षणबाट फुर्सद नै छैन । यस्तो गतिविधिले हामीलाई भारतसँग प्रतिस्पर्धा गर्न सहज भएको छ । भारतीय खेलाडी पनि नेपालका लिग खेल्न आइरहेका छन् ।

नेपालको यो युवा टिमसँग जुन प्रकारको आत्मविश्वास छ, स्पिरिट छ, जसरी उनीहरूले प्रदर्शन गरे, त्यो उच्च रह्यो जस्तो मलाई लाग्छ । यो प्रतियोगितामा सहभागी सबै टिमलाई हराएर नेपाल अब्बल टिम रहेको सन्देश दिन सफल भयौँ ।

भारतविरुद्ध ऐतिहासिक जितपछिको अनुभव कस्तो थियो ?
हामीले यसपटक जसरी पनि भारतलाई हराउनुपर्छ भन्ने लक्ष्य बनाएका थियौँ । इरानसँग नेपालले धेरैपछि खेल्दै थियो । त्यसैकारण इरानभन्दा पनि छिमेकी भारतलाई हराउनुपर्छ भन्ने हामी सबैको सपना थियो । उक्त जितपछि भारतलाई हराएको कुरा नेपाली खेलकुदको इतिहासमै स्वर्णअक्षरले लेखिन्छ भन्ने कुरा महसुस भयो । तर, यसैमा धेरै उत्साहित हुनुपर्ने कुरा पनि केही थिएन । किनकि, हाम्रो लक्ष्य अझै टाढा थियो । सेमिफाइनल र फाइनल जित्नुपर्छ भन्ने भावना थियो । तर, त्यो भारतलाई जित्दाको खुसी हामी बिर्सन सकिँदैन । त्यो इतिहास हो । भारतजस्तो शक्तिशाली राष्ट्रलाई पनि जित्यो भन्ने भयो । भारतसँगको जितपछि जुन माहोल बन्यो, त्यो नेपाली खेलकुद विकासको एउटा कडी हो जस्तो मलाई लाग्छ । भारतसँगको जितपछि आममानिसमा भलिबलको चर्चा छ । गल्लीगल्लीमा भलिबलको चर्चा चुलिएको छ । खेलाडी, प्रशिक्षक सबैको चर्चा धेरै नै बढेको छ ।

भलिबलले राष्ट्रिय खेलको तक्मा पाएको एक दशक पुग्न लाग्दा पनि गतिलो कभर्ड हल नहुनुमा कुन निकाय धेरै जिम्मेवार देख्नुहुन्छ ?
यो केसमा नेपालभर बसेर जति पनि व्यक्तिहरू आफ्नो संस्थाको विकासमा लाग्नुभएको छ, सबै जिम्मेवार हुन् । सबैभन्दा ठूलो जवाफदेहिता राज्य र खेलकुद निकायको नै हुन्छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुको कारण पनि यो सबै क्षेत्रमा खेल्न सकिन्छ र चर्चित छ भनेर हो । नेपालको खेलकुदको ह्विम ल्याउन भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको हो । तर, राष्ट्रिय खेलको प्रशिक्षणका लागि कभर्ड हल छैन । यसले नकारात्मक सन्देश पनि गइराखेको छ । यसलाई हटाउन नेपाल सरकारले गर्छौँ त भनिरहेको छ, तर जग्गा र अन्य आधारभूत कुरा नै उपलब्ध नभएकोले यसको काम अघि बढ्न सकेको छैन । राष्ट्रिय खेलकुद परिषद्ले यसलाई उच्च चासोमा राखेको छ । यसका लागि काठमाडौं महानगरपालिकाका मेयरले पनि सहयोग गर्छु भनेका छन् । विश्व भलिबलको नियामक निकायले पनि नेपालमा सहयोग गर्ने वाचा गरेको छ । यसैकारण नेपाल सरकारसँग खेलाडीलाई पायक पर्ने पाँच हजार दर्शक क्षमताको निर्माण परियोजना अघि बढाउन अनुरोध गर्न चाहन्छु । त्यसो भयो भने नेपालमा एसियनस्तरको भलिबल च्याम्पियन आयोजना गर्न सकिन्छ । राखेपले कभर्ड हलका लागि पहल गरिरहेको छ । मलाई लाग्छ, अबको एकडेढ वर्षमा नयाँ कभर्ड हल बन्छ होला ।

नेपाली भलिबलको आगामी यात्रा कस्तो देख्नुहुन्छ ?
अहिले भलिबलले यति माया पाएको छ, राज्यले चासोमा राखेको छ भन्नेतर्फ भन्दा पनि भबिलबलाई माथि लैजान स्टेप बाई स्टेप काम गर्नुपर्ने हुन्छ । अहिले भलिबलले जुन माहोल बनाएको छ, त्यसलाई बचाउन र भलिबलाई माथि लैजान सबै द्रुत रूपमा लाग्नुपर्ने देख्छु । यो ब्रेक भयो भने यो माहोल यत्तिकै सेलाएर जान्छ ।

भोलिको पिँढीले सुख पाउन पनि हामीले अहिले दुःख गर्नुपर्नेछ । भोलिको भलिबललाई एसियन मापदण्डमा पुर्‍याउन र मेडल ल्याउन १० वर्षको योजना आज हामीले बनाउनुपर्नेछ । हिजोको अवस्थाभन्दा थोरै राम्रो भएको छ । तर, योभन्दा अझ राम्रो बनाउन हामीले अहोरात्र खट्नुपर्नेछ ।

क्रिकेट र फुटबललाई बाहिरी फन्ड आउँछ । आन्तरिक रूपमा पनि उनीहरूसँग धेरै सहयोग छ । तर, भलिबल मात्र यस्तो खेल हो, जुन आफ्नो व्यक्तिगत प्रयासमा संघ चलाइराखेको छ । अहिले भलिबललाई सबैले माया गर्नुभएको छ, अब हामीलाई आर्थिक सहयोगको खाँचो पर्दैन भन्ने अपेक्षा राखेको छु । अब हामी ब्याक हुने हैन, एक स्टेप अघि बढेर यसको पछि लाग्ने हो ।

jagdish-bhatta3-1724051015.jpg
तपाईं र भलिबलबीचको सम्बन्ध कस्तो देख्नुहुन्छ ?
मैले भलिबल खेल्न सुरु गर्दा राष्ट्रिय खेलाडी बन्छु र यहाँसम्म आइपुग्छु भन्ने सोचेको थिइनँ । दीपक विष्ट र म सँगै भलिबल खेल्थ्यौँ, एउटै कलेजमा । हामीले एउटै ठाउँमा २०५१ सालमा डोटीबाट सँगै खेलेको । तर, उनले भलिबल छोडेर तेक्वान्दो खेल्न थाले । आज उनले दक्षिण एसियाली, एसियाली र ओलम्पिक खेलेर आफूलाई नयाँ खेलाडीको आइडलको रूपमा उभ्याएका छन् । म भलिबलमै लागिरहेँ । पछि राष्ट्रिय टिममा पनि परेँ र अहिले प्रशिक्षकको रूपमा कार्यरत छु ।

हामीले खेल्दा राष्ट्रियता र इच्छाशक्ति धेरै थियो । भोको पेटमा साइकलमा चार घण्टा गएर नांगो खुट्टाले एक पैसा नपाई खेल्यौँ । विदेश जाँदा पनि ट्रेनमा गएर खेलेका थियौँ । धेरै कुराहरू नहुँदा र सेवासुविधा कम हुँदा पनि हामीले खेल्यौँ । तर, त्यस बेला राष्ट्रियता–अनुशासन धेरै थियो । अहिले सेवासुविधा पनि बढेको छ । खेलाडीहरू पनि एम्बिसियस भएका छन् ।

खेलाडी र प्रशिक्षकको रूपमा अन्तर्राष्ट्रिय सहभागिता नै ३० वर्ष पुगिसक्यो मेरो । यो ३० वर्षमा मैले कतै केही सोचिनँ ।

भलिबलमा लागेर के पाएँ र गुमाएँजस्तो लाग्छ ?
के पाउँछु र के गुमाउँछु भन्ने सोच्नलाई समय नै भएन । बेलुका गयो, सुतिहाल्यो । बिहान उठ्यो, काममा गइहाल्यो । त्यो समय नै भएन । अब चार वर्षपछि रिटायर्ड लाइफमा बस्दा जिन्दगीमा राम्रो र नराम्रो के भएछ भन्ने सोचिएला । भलिबलमा प्रतिभा भएका खेलाडीलाई ठाउँमा पुर्‍याउन सकेकोमा सन्तुष्ट छ ।

राम्रो भनेको पैसा नै त हो । म कहिल्यै पनि अभावसँग जुध्छु जस्तो लाग्दैन । मसँग धेरै पैसा होला भन्ने आकलन पनि होला धेरैको । तर, कसैले पैसा मागिहाले कहाँबाट दिने भन्ने सोच्नुपर्ने अवस्था छ । तर, भोलि के गर्ने भन्नेबारे भने आफैँ काम बनिरहेको हुन्छ । मलाई भलिबलमै लागेर कुनै समस्या पनि परेको छैन र कुनै चिज धेरै पनि भएको छैन । इमानदारितासाथ हिँड्ने मान्छे कहिल्यै छलकपटमा पर्दैन । मलाई धेरै दौडिन छैन । धेरै भाग्यो भने एकैचोटि उठ्न सकिँदैन । विस्तारै हिँडे लक्ष्यमा पुगिँदैन । आफ्नै गतिमा हिँडिराख्नुपर्छ । दुःख र सुख भनेको एकार्काका परिपूरक हुन् । त्यो चलिराख्छ । तर, ठूलो दुःख नपरोस् भन्ने लाग्छ ।

नेपाली समर्थकले जगदीश भट्टलाई कहिलेसम्म कोर्टमा प्रशिक्षकका रूपमा देख्न पाउँछन् ?
मलाई अब अर्को पेसामा जान मन छैन । धेरै साथीहरूले राजनीतिमा आउनुपर्‍यो पनि भन्छन् । त्यो हाम्रो क्षेत्र हैन । त्यहाँ जानु पनि छैन । मैले गर्ने भनेको भलिबल विकास नै हो । अझै म सात–आठ वर्ष काम गर्न सक्छु जस्तो लाग्छ । ६० वर्षसम्म भलिबल राष्ट्रिय टिममा नभए पनि कहीँ न कहीँ लाग्ने नै छु । त्यसपछि पनि आफूले जानेबुझेका कुरा व्यवस्थापनमा लगाएर जिन्दगी भलिबलमै बिताउन चाहन्छु ।

यसको अर्थ म मात्र राष्ट्रिय टिममा बसिराख्नुपर्छ भन्ने हैन । नयाँ प्रशिक्षकहरू आउँदा मैले विश्राम पनि लिन सक्छु । नेपालमा अहिले प्रशिक्षकहरूको अभाव भएको हुँदा पनि बाध्यात्मक परिस्थितिले लाग्नुपर्ने स्थिति छ । अहिले मैले चाहेर पनि साथीहरूसँग रमाइलो गर्ने, परिवार, बालबच्चासँग घुम्ने स्थिति नै छैन । जति बेला समय हुन्छ, त्यस बेला त्यसखाले इच्छा मर्छ कि जस्तो पनि लाग्छ ।

नयाँ प्रशिक्षक आउँदा उनीहरूलाई मोनिटर गर्ने ठाउँमा म रहने गरी विश्राम लिन सकिएला । अहिले पनि कोही विदेशी प्रशिक्षक आए भने मलाई थोरैबहुत सहारा हुन्थ्यो । जिम्मेदारी अलि कम हुन्थ्यो । तर, विदेशी प्रशिक्षकको तलब धेरै भएकाले संघले उठाउन नसक्ने अवस्था छ ।

jagdish-bhatta4-1724051045.jpg
भलिबलमै लागेका कारण परिवारको गुनासो आयो कि आएन ?
यो कुरामा म एकदमै भाग्यमानी छु । भलिबलमा लागेयता घरमा धेरै बसेको भनेको त्यही लकडाउनको समयमा होला । त्यो बेला ६–७ महिना बसियो । अहिले मलाई मेरो छोरी कति बेला ठूलो भइन् भन्ने पनि याद छैन । म परिवारलाई धेरै माया गर्ने र मलाई पनि परिवारले धेरै विश्वास गर्ने भएकाले जहाँ भए पनि राम्रो गरिरहेको छ भन्ने माहोल छ । मलाई आजसम्म मेरो श्रीमतीले कहाँ जान्छ, के गर्छ, कति कमाउँछ भनेर सोधेको छैन । अहिलेसम्म अपुग पनि भएको छैन । घरमा यो आवश्यक छ भन्ने भावना त होला, तर आजसम्म मलाई कसैले भनेका छैनन् । परिवारलाई समय नै नदिएको पनि हैन, तर अरूजसरी धेरै समय दिन पनि सकिएन ।

बुवा बितेको १३–१४ दिनपछि नै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि गएँ । पेसा र राष्ट्रका लागि धेरै कुराहरूलाई थाती राखेर जानुपर्छ भन्ने मानसिकता थियो । अहिले पनि त्यही छ ।

भलिबल समर्थक र नयाँ आउने खेलाडीलाई के भन्न चाहनुहुन्छ ?
भलिबलमा मैले पनि १२–१३ वर्ष राष्ट्रको प्रतिनिधित्व गरेँ । त्यो समयमा मैले पनि विदेश जाने धेरै अवसर पाएको थिएँ । तर, विदेशमा गएर बोटमा पैसा टिप्ने हैन । तपाईंसँग क्षमता र दक्षता छ भने देशमै राम्रो गर्न सकिन्छ । अहिले सरकारले केही गरेन, खेलाडी सबै विदेश गए भन्नेखालको वातावरण बनेको छ । तर, त्यस्तो पनि हैन । अब नेपालमा भलिबल मात्र हैन, अरू खेलमा पनि भविष्य छ ।

नकारात्मकताबाट सकारात्मकतातर्फ उन्मुख गराउने माध्यम पनि खेलकुद भएकाले यसमा लाग्न आवश्यक छ । अहिलेका युवालाई म के भन्न चाहन्छु भने– तपाईं खेलकुदमा हुनुहुन्छ भन्ने खेलमै ध्यान दिनुस्, पढाइमा हुनुहुन्छ भने पढाइलाई राम्रोसँग लैजानु । जहाँ जुन फिल्डमा भए पनि आफ्नो स्किल बढाउनमा ध्यान दिनु । राज्यलाई कुन ठाउँबाट सहयोग गर्नुपर्छ भन्नेमा ध्यान दिनुहोला ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro