काठमाडौं । लक्ष्मण (सुवेदी) सिनेमाको कथा खोज्दै थिए । कथा त दिमागमा अनेक आयो, तर उनलाई चाहिएको थियो ट्रेन्ड सेटर सिनेमा बन्ने कथा । ट्रेन्ड सेट हुन्छ/हुँदैन, त्यो त रिलिज (भदौ ७)पछि थाहा हुनेछ, तर लक्ष्मणलाई विश्वास लाग्यो– यत्तिको कथामा चलचित्र बनाउनुपर्छ ।
त्यसपछि उनले थाले सिनेमाको कथा लेख्न । थालेपछि सकाएर मात्र विश्राम लिने उनको बानी छ । उनको सिनेमामा कथालाई लिड गर्न १८/१९ वर्षकी युवती आइपुगिन्, जसको काँधमा जिम्मेवारीको भारी छ । सिनेमाको कथाको भारी बोक्ने व्यक्तिले नै चलचित्रको भारी बोक्ने हो । त्यसैले त्यो व्यक्ति बलियो चाहिन्छ ।
सिनेमाको भारी कसको काँधमा बोकाउने ? कथा लेख्दासम्म लक्ष्मणको दिमागमा कसैको अनुहार आएको थिएन । पहिलो ड्राफ्ट सकियो । जिम्मेवारीको भारी कसलाई बोकाउने भन्ने सानोतिनो तनाव हुन थाल्यो ।
नयाँ मान्छे ल्याऊँ, ग्रुमिङ गरेर काम गर्न समय लाग्छ । पुराना ल्याऊँ, १८/१९ वर्षको अभिनेत्री त को होला ? मथिंगल रिङ्न थाल्यो ।
दैनिक कम्प्युटरमा घोत्लिएपछि श्रीमती र छोरीलाई थाहा हुने नै भयो । लक्ष्मणको स्क्रिप्ट श्रीमती र छोरीले पनि सुनेका थिए ।
लक्ष्मण केही गीतका भिडियो हेरिरहेका थिए । गीतका भिडियोमा केही महिला कलाकार राम्रै लागे पनि दुई/अढाई घण्टा लामो सिनेमामा काम गर्न सक्छन्/सक्दैनन् भन्ने शंका थियो ।
एक दिन लक्ष्मणकी छोरीले सोधिन्– बाबा, हिरोइन पाउनुभयो त ?
‘छैन ।’
‘मलिका महतलाई लिए हुन्न र ?,’ १४ वर्षीया छोरीले सुझाइन् ।
‘फूलबुट्टे सारी’ र ‘टाढा भए पनि’ गीतको भिडियोमा मलिकालाई हेरेका थिए उनले । ‘फूलबुट्टे सारी’को लिजेन्ड्री भर्सन बढी हेरेका थिए ।
“अब म ‘फूलबुट्टे सारी’को मलिका रहेको भिडियो हेर्न थालेँ । अरूअरू गीत पनि हेर्न थालेँ उनका,” लक्ष्मणले सुनाए, “भिडियो जुम गरेर हेरेँ, टाढा बसेर पनि हेरेँ । विभिन्न कोणबाट एनलाइसिस गरेर हेर्न थालेँ । सम्भावना देख्न थालेँ ।”
मलिकाको पहिलो सिनेमा ‘यात्रा : अ म्युजिक भ्लग’ लक्ष्मणलाई राम्रै लागेको थियो । दोस्रो, ‘पानी फोटो’ ठिकै । ‘अगस्त्य’मा पनि ठिकै लागेको थियो ।
अब लक्ष्मणले आफ्नो स्क्रिप्टकी ‘सतीदेवी’मा मलिकाबाहेक कसैलाई देख्नै छोडे । तर, उनलाई भनेनन् । अफर पनि गरेनन् ।
कारण ?
सेकेन्ड ड्राफ्ट सकाएर मात्र अफर गर्ने सोचाइ थियो । “जब मलिकालाई मेरो सिनेमाको हिरोइनको रूपमा देख्न थालेँ,” लक्ष्मणले सुनाए, “त्यसपछि मलिकालाई प्रस्ताव गर्दा उनले यो सिनेमा खेल्न मानिन् भने बनाउँछु, होइन भने यो चलचित्र नै बनाउँदिनँ भन्ने निर्णय गरेको थिएँ ।” लक्ष्मण दाबी गर्छन्– यदि, मलिकाले नखेलेको भए यो चलचित्र नै बन्दैन थियो ।
सेकेन्ड ड्राफ्ट सकाएपछि लक्ष्मणले फेसबुक म्यासेन्जरमा मलिकालाई वानलाइनर सुनाउँदै सिनेमाका निम्ति अफर गरे । मलिकाले स्क्रिप्ट मागिन् ।
जब मलिकाले सिनेमाको स्क्रिप्ट पढ्न थालिन्, उनलाई लाग्यो– यो सिनेमा त मैले गर्नैैपर्छ । एकातिर आमनेपाली महिलाले भोगिरहेको समस्यामा केन्द्रित कथा, अर्कोतर्फ महिलाप्रधान सिनेमा । त्यससँगै महिला मुख्य भूमिकामा रहनुले पनि उनलाई लोभ्यायो । उनले निर्णय गरिन्– यो सिनेमा मैले छोड्नु हुन्न ।
“काठमाडौंमै पनि महिलाले जेन्डरकै कारण विभेद भोग्नु परिरहेको छ । छोरी भएकै कारण विभेदको सिकार भइरहनु परेको छ,” मलिका भन्छिन्, “काठमाडौंबाहिर त झन यो घरघरकै समस्या हो । वेल एजुकेटेड समाजमा त विभेद छ भने दूरदराजका गाउँमा त यो हुने नै भयो । यही कथा महिलाको प्रस्पेक्टिभबाट भनिएको छ ।”
काठमाडौंमा जन्मेहुर्केकी उनलाई छोरी भएकै कारण परिवारले विभेद गरेन । तर, उनले आफ्नै आँखाले लिंगीय विभेद देखेकी छन् । त्यसैले उनले ‘सतिदेवी’मा आफूलाई पाइन् ।
स्क्रिप्टको पहिलो रिडमै आफू ‘हुक’ भएको मलिका सम्झिन्छिन् । “क्याक्टेर पढेर यो मेरा लागि टफ हुनेवाला छ, तर छोड्नु हुँदैन भनेर ओके गरेको थिएँ,” मलिका भन्छिन् ।
फर्स्ट लुकमै मलिकालाई फरक रूपमा देखाइयो । त्यहाँ उनी जुत्ताको माला लगाएकी र गाउँलेले लखेटिरहेको अवस्थामा देखिइन् । मोसो दलिएकी र जुत्ताको माला लगाइदिएर लखेट्ने सिन स्क्रिप्टमै थियो । उनी प्रिमियर थिइन् ।
लमजुङको एउटा गाउँमा छायांकन थियो । सिनेमाको छायांकन हेर्न गाउँले भेला भएका थिए । भीड चाहिने भएकाले प्रोडक्सनले केहीलाई आग्रह गरेर ल्याएको थियो ।
सिनेमाको छायांकन नै इन्डक्ल्यापको चरणतिर पुगिसकेको थियो । बिहानैदेखि हेवी छायांकन भइरहेको थियो । मलिका क्यारेक्टर जोनमै थिइन् । आफूले नभोगेको अनुभव नै किन नहोस्, उनले चरित्रलाई अनुभूत गरिरहेकी थिइन् ।
छोरी भएर जन्मिएकै कारण उनीहरूले घर र गाउँमै कसरी तितो अनुभव गरिरहेका छन् र त्यसको प्रभाव उनीहरूले कसरी सहनु परिरहेको छ, मलिकाले फिल गरिरहेकी थिइन् ।
सिनले इमोसन डिमान्ड गरिरहेको थियो । त्यसका लागि उनी तयार थिइन् । सम्बन्धित सिनहरू त केही दिनदेखि नै छायांकन गरिँदै थियो । त्यसले पनि इमोसन बढाउन सहयोग गरिरहेको थियो ।
“जे भइरहेको थियो, त्यो त क्यारेक्टरलाई भइरहेको थियो । म त त्यो चरित्र निभाउने व्यक्ति मात्रै थिएँ । तर, मलाई नराम्रो लागिरहेको थियो,” मलिका स्मरण गर्छिन्, “म आफैँ यो अवस्थाबाट गुज्रिरहेजस्तो फिल भइरहेको थियो । मलाई नै यस्तो भइरहेको छ जस्तै लागेर नरमाइलो लागिरहेको थियो ।”
जुत्ताको माला र मोसो लगाउनुपर्यो भन्दा पनि आफैँ यस्तो अवस्थाबाट बाँचिरहेको छु भन्ने तहको ‘कनेक्ट’ भएको उनी सुनाउँछिन् । आफ्नै वास्तविकता हो यो भन्ने साइकोलोजीले काम गरेको उनी बताउँछिन् ।
गाउँमा युवाको संख्या निकै कम थियो । त्यसैले वडासँग समन्वय गरेर छायांकनस्थलमा भीड जम्मा गर्न मान्छे ल्याउनु परेको थियो । “गाउँलेको भीड थियो । मान्छेहरू उत्साही भएर हेरिरहेका थिए । हामीले यस्तो सिन छ भनेर स्पटब्वाईलाई पनि भनेका थिएनौँ,” निर्देशक लक्ष्मण भन्छन्, “एक्कासि कालोमोसो र जुत्ताको मोसो दलेर लखेट्दा सबै छक्क परेका थिए ।”
सिनमा चारपाटा मुडेर गाउँबाट लखेट्ने भन्ने कुरा भइरहेको हुन्छ । गाउँको मुख्य मान्छेले ‘यो केही पनि गर्नु हुन्न’ भनिरहेको हुन्छ । तर, भीडको अगाडि उसको केही लाग्दैन । र, अन्ततः गाउँलेले ‘सतीदेवी’लाई जुत्ताको माला लगाएर लखेट्छन् । यसैका लागि प्रोडक्सनले गाउँले भेला गरेको थियो ।
“हेवी सिन थियो । जुत्ताको माला र कालोमोसो दलेर लखेट्नुपर्ने थियो । मलिका इमोसनल भएकी थिइन् । गिलसिरिनबिना नै उनका आँखाभरि आँसु भरिएका थिए,” लक्ष्मण सुटिङ अनुभव सुनाउँछन्, “सुटिङमा सबै खुसी छन्, हाँसखेलमै काम गरिरहेका छन् । तर, काठमाडौंमा हुर्केबढेकी २२/२३ वर्षकी युवतीको दिमागमा यस्तो समय केले घर गरिरहेको होला भन्ने लागिरहेको थियो ।”
फर्स्टलुक सार्वजनिक गरियो । मलिकालाई घरमा बुवाआमाले भने, ‘सुरुमै, त्यो पनि पोस्टरमै यस्तो तस्बिर त नआएको भए हुँदैन थियो ?’
मलिका सिनेमा गर्नुअगाडि बुवाआमालाई त्यसको कथा सुनाउने गर्छिन् । त्यसैले उनले भनिन्, ‘यो त स्क्रिप्ट मै थियो त ।’
त्यसो त सिनेमामा थियो, तर पोस्टरमा कस्तो लुक आउँछ त्यो मलिकालाई पनि थाहा थिएन ।
लक्ष्मण भन्छन्, “मेरो नराम्रो बानी छ नि, काम गर्नुअगाडि अरूलाई आफूले गरेको काम नदेखाउने, सल्लाह नगर्ने ।”