site stats
बाह्रखरी :: Baahrakhari
देश
डढेलोबाट जोगाउने वन समूहलाई २० हजार पुरस्कार
फाइल तस्बिर ।

गण्डकी । कास्कीको रुपा गाउँपालिकाले डढेलोबाट वन जोगाउन सफल सामुदायिक वन समूहलाई २० हजार नगद पुरस्कार दिने घोषणा गरेको छ । 

सामुदायिक वन दिवसका अवसरमा ठूलो वन समूहद्वारा निर्मित हरियाली पार्कमा आयोजित वृक्षरोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष नवराज ओझाले वन जोगाउन सफल सामुदायिक वन समूहलाई नगदसहित पुरस्कृत गर्ने घोषणा गरेका हुन् ।

Argakhachi Cement Island Ad

वन क्षेत्रमा आगो लगाउँदा जैविक विविधता, वनमा रहेका वनस्पति, जीवजन्तुसहित वातावरणीय असर पर्ने हुँदा त्यस्तो आपराधिक काम रोक्न पालिकाले चालु आर्थिक वर्षदेखि पुरस्कृत गर्ने अध्यक्ष ओझाले जानकारी दिए । उनले भने, “डढेलोबाट वन जोगाउन सामूहिक प्रयासको खाँचो छ । वन संरक्षणमा लाग्ने, डढेलो लाग्ने नदिने समूहलाई प्रोत्साहनस्वरुप पुरस्कृत गर्नेछौँ ।”

‘सामुदायिक वनको प्रभावकारिता, तीन तहको सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ जिल्ला महासंघको आयोजना एवं डिभिजन वन कार्यालय कास्की र (यूएसएआडी) जलजंगलको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा असोका, धुपी, तेजपात, अमलालगायत विभिन्न प्रजातिका ४० वटा बिरुवा रोपिएको थियो । 

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्यसमेत रहेकी जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुमालले रोपिएका बिरुवाको संरक्षण गर्दै प्राकृतिक स्रोतलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिइन् ।

डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले सामुदायिक वन क्षेत्रमा रहेका पुराना रुख निकाल्न उपभोक्तालाई सुझाव दिँदै त्यसका लागि कार्यालयको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ठूलो वन समूहका अध्यक्ष ईश्वर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदी, जिल्ला महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेलगायतले वन संरक्षण, प्रवर्द्धन र विकासमा योगदान गर्दै आएका उपभोक्ताले सहज रूपमा उपयोग गर्ने व्यवस्था हुनुपर्ने खाँचो औँल्याएका थिए । रासस

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्