एजेन्सी । भारतमा १८औं लोकसभाको निर्वाचन सकिएको दुई महिना मुश्किलले नाघेको छ ।
गत जुन १ मा त्यहाँ सात चरणमध्येमा अन्तिम चरणको मतदान भएको थियो । यो निर्वाचनमा त्यहाँ विपक्षी गठबन्धन पहिला भन्दा केही बलियो रुपमा देखा परेको छ । तर, दुई महिनाको समयमा नै विपक्षीबाट तात्विक रुपमा देखिनेगरी त्यहाँ कुनै सकारात्मक प्रभाव परिसकेको छैन । यद्यपि केही संकेत भने पाइएका छन् ।
यस प्रसंगमा चर्चा गर्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राहुललाई व्यंग्य गर्दै जुलाईको पहिलो हप्तामा संसदको बैठकमा एउटा बालकको कथा सुनाएका थिए ।
उनका अनुसार एउटा बालकले परीक्षामा ९९ नम्बर ल्याएर खुसी हुँदै गाउँमा आफनो मार्कसिट देखाउँदै हिंडेछ । मानिसले उसको प्रशंसा गरेछन् । तर त्यो नम्बर १०० मा ९९ थिएन । ५४३ मा ९९ थियो, मोदीले राहुलको नाम नलिइ बुझिनेगरी व्यंग्य गरेका थिए ।
वास्तवमा कांग्रेस आईले ल्याएको सिट संख्या भनेको खासमा ५४३ मा ९९ मात्रै हो । त्यसैले धेरै अपेक्षा गरिहाल्ने अवस्था भने होइन । तथापि राहुलले कडाइका साथ संसदमा प्रस्तुती गरिरहेका छन् ।
विपक्षी दल भनेको छाया सरकार हो । छाया सरकारको आवाज भनेको विगतको तुलनामा बढी देखिने र सुनिने गर्दछ ।
लोकसभा निर्वाचनमा पहिलाको भन्दा विपक्षी गठबन्धनको सुधार भएजस्तै पछिल्लो पटक १३ वटा विधान सभा सिटको लागि भएको उपचुनावमा कांग्रेस गठबन्धनले १० सिट जित्नु र भाजपा २ सिटमा खुम्चिनुले पनि विपक्षी प्रभाव बढेको देखिन्छ । सो उपनिर्वाचनमा १ सिट स्वतन्त्र उमेदवारले जितेका थिए ।
अपेक्षा निकै छ
त्यहाँ विपक्षी दल विगत १० वर्ष निकै कमजोर भएकोले यो भन्नु अहिले अपेक्षा निकै बढेको छ ।
संसदभित्र र बाहिरका कतिपय शक्तिशाली नियुक्तिमा पनि अब विपक्षीको बलियो हात हुनेछ । त्यसैले विगतमाजस्तो बेलगाम सरकार वा प्रधानमन्त्री नरेन्द्र मोदी चल्ने अवस्था छैन ।
त्यसले भारतमा मात्रै होइन छरछिमेकका थुप्रै नीतिमा पनि यसले सकारात्मक प्रभाव पर्ने संकेत देखिएको छ । राहुल २००४ मा चुनावी राजनीतिमा आएपनि त्यसपछि कुनै पनि पद पाएका थिएनन् । उनले पार्टी प्रमुखबाट पनि राजीनामा दिएका थिए । तर, अब राहुल पद लिन अनिच्छुक नेताको छबी तोड्दै छन् । राहुलले विपक्षी नेताको पद लिएका छन् ।
बितेका दुई चुनावमा कांग्रेससँग संसदको १० प्रतिशत सिट अर्थात् ५४ सिट पनि थिएनन् । यस्तो अवस्थामा कांग्रेसले संसद्मा विपक्षको नेता दाबी गर्न पाएन ।
२०१४मा कांग्रेससँग ४४ सिट थियो भने २०१९ मा ५२ । यसपालि कांग्रेससँग ९९ सिट छ ।
के हुन्छ जिम्मेवारी ?
भारतीय संसदमा विपक्षी नेताको भूमिका निकै अहम् हुन्छ । उनी संसद्मा सबै विपक्षीको आवाज त बन्छन् नै उनका साथ आफ्नो शक्ति र विशेषाधिकार पनि हुन्छ ।
विपक्षका नेता कैयौं प्रमुख समितिजस्तै पब्लिक अकाउन्ट, पब्लिक अन्डरटेकिङलगायतका हिस्सा बन्दछन् । विपक्षी नेताको सबैभन्दा महत्वपूर्ण भूमिका संयुक्त संसदीय समिति र चयन समिति हुन्छन् ।
चयन समितिमा प्रवर्तन निर्देशनालय (ईडी), केन्द्रीय जाँच ब्यूरो (सीबीआई), केन्द्रीय सतर्कता आयोग, केन्द्रीय सूचना आयोग, लोकपाल साथै चुनाव आयुक्त र राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षजस्ता पदको नियुक्ति बैठकमा विपक्षको नेता पनि बस्ने गर्दछ ।
विपक्षको नेता एक क्याबिनेट तहको पद हो । जसको आफ्नै भत्ता हुन्छ । यो पदमा जो व्यक्ति हुन्छ उसलाई संसद् सदस्यको तलब, भत्ता र पेन्सन अधिनियम १९५४को धारा ३ मा दर्ज रहेको वेतन र हरेक दिनको भत्ता दिइने गरेको छ ।
राहुललाई यसअघि त्यति पत्याइने नगरेकोमा यसपालि उनी कडा रुपमा प्रस्तुत भइरहेका छन् ।
एक दिन त संसदमा प्रधानमन्त्री बोलुन्जेल विपक्षी सांसदहरुले नाराबाजी गरिरहे । त्यसलाई लिएर प्रधानमन्त्री मोदीले सार्वजनिकरुपमा गुनासो नै गर्नुपरेको थियो । विगतका दुई कार्यकाललाई हेर्दा विपक्षीसँग मोदी त्यसरी गुनासो गर्दै हिंड्ने मान्छे नै होइनन् । उनले विपक्षीलाई पेलेर एकलौटी गरिरहेका थिए ।
के थियो मोदीको गुनासो ?
मोदी कडा मिजासका मानिन्छन् । तर, पछिल्लो समय लोकसभाको बजेट सत्र सुरु हुनुअघि उनले नै विपक्षीले आफूलाई बोल्न नदिएको भनेर गुनासो गरेका थिए । संसद् भवनमा छिर्नुअघि उनले पत्रकारहरुसँग कुराकानीका क्रममा त्यस्तो गुनासो गरेका हुन् ।
उनले त्यतिबेला सांसदहरुलाई आफूहरुले जति लड्ने लडेको अब ५ वर्ष देशको लागि लड्नुपर्ने बताएका थिए ।
उनले भनेका थिए, “म बहुत दुःखका साथ भन्न चाहन्छु कि केही सांसदले आफ्नो क्षेत्रको कुरा राख्ने मौका दिएनन् । आफ्नो राजनीतिक विफलतालाई ढाक्नका लागि उनीहरुले संसदको महत्वपूर्ण समयको गलत रुपमा प्रयोग गरे ।”
उनले चुनिएको सरकारको आवाज कुल्चने प्रयास अलोकतान्त्रिक भएको बताउँदै २ घण्टा ५० मिनेटसम्म देशको प्रधानमन्त्रीको गला घोट्ने र आवाज दबाउने प्रयास गरिएको र लोकतान्त्रिक व्यवस्थामा यस्तो कामलाई कुनै स्थान नहुने बताएका थिए ।
अघिल्लो संसदमा प्रधानमन्त्री बोल्दा विपक्षी कांग्रेसका सांसदहरुले नाराबाजी गरेको विषयलाई लिएर मोदीले त्यसरी गुनासो गरेका हुन् ।
गठबन्धन कस्तो छ ?
पहिला दुई कार्यकाल सरकार चलाउनका लागि जसरी मोदीलाई सजिलो थियो, अहिले त्यस्तो अवस्था छैन । त्यसले गर्दा विपक्षीको प्रभाव स्वतः नै बढ्ने अवस्था छ ।
उनको गठबन्धनमा रहेका अर्थात् सरकारमा भएका नेतासँग पहिला मोदीको सम्बन्ध कस्तो थियो एक पटक हेरौं –
जब गुजरातमा सन् २००२मा दंगा भएको थियो, त्यतिबेला चन्द्रबाबु नायडु एनडीएका त्यस्ता नेता थिए जसले तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीलाई राजीनामा दिन आग्रह गरेका थिए । ती नायडु अहिले मोदी सरकारमा मन्त्री छन् ।
अप्रिल २००२मा टीडीपीले मोदीको विरुद्धमा साम्प्रदायिक द्वन्द्वका पीडितलाई राहत दिन असफल भएको एक प्रस्ताव पारित गरेको थियो ।
जब आन्ध्र प्रदेशमा टीडीपीलाई १६ सिट आयो र जब उनी किंगमेकर भूमिकामा देखिइरहेका छन् तब आन्ध्र प्रदेशमा मोदीले एकताको सम्बन्धमा दिएको भाषणको भिडियो खुब चर्चामा आएको थियो ।
त्यस भाषणमा मोदीले नायडुलाई आफ्नो ससुराको ढाडमा छुरा रोप्नेवाला भनेका थिए ।
एक चुनावी र्यालीमा उनको भनाई थियो, “ती(चन्द्रबाब् नायडु) आफूलाई म भन्दा सिनियर भन्ने ठान्छन् । ठीक कुरा हो, तपाईं सिनियर हो । तर, तपाई सिनियर हो पार्टी बदल्नाका लागि, आफ्नो ससुराको पीठमा छुरा रोप्नका लागि, अनि तपाईँ एकपछि अर्को चुनाव हार्नका लागि । त्यसमा त म सिनियर होइन ।”
यदि प्रसंगमा भाजपाका नेता अमित शाहले एक कार्यक्रममा नायडुलाई अवसरवादी बताउँदै एनडीएको ढोका उनका लागि अब सधैं बन्द रहेको बताएका थिए । यद्यपि टीडीपी २०२४ को लोकसभा निर्वाचनको ठिक अघि एनडीए गठबन्धनमा गएको थियो ।
२०१८मा नायडुले आन्ध्र प्रदेशलाई विशेष राज्यको माग गर्दै एनडीए छोडेका थिए र उनले केन्द्रबाट दुई मन्त्रीलाई पनि फिर्ता गरेका थिए ।
सो समयमा नायडुले मोदी सरकारविरुद्ध अविश्वास प्रस्ताव पनि ल्याएका थिए ।
सो प्रस्ताव पास त भएन तर उनी १६ जना सांसदसहित एनडीएबाट बाहिरिएका थिए । सन् २०१९मा उनी गठबन्धनबाट निस्किएपछि नायडुले एक्समा लेखेका थिए, “मोदीले योजनाबद्ध तरिकाले भारतको प्रतिष्ठित संस्थानको नस्ट पारे । भाजपा सरकारको शासनमा संस्थागत स्वायत्तता र लोकतन्त्रमाथि हमला भएको छ ।”
नीतीश कुमारसँगको नाता
नीतीशकुमारलाई यसै पनि भारतमा पल्टुराम भन्ने गरिएको छ । नीतीशकुमारले जब २०१३ मा एनडीए छोडे त्यसको कारण मोदी नै थिए । त्यतिबेला भाजपाले मोदीलाई नै चुनावी अभियानको प्रमुख बनाएको थियो । तर नीतीशलाई अनुमान भइसकेको थियो कि मोदीलाई नै प्रधानमन्त्रीको उमेदवार बनाइनेछ ।
नीतीशका लागि यो सह्य थिएन । नीतीशलाई त्यतिबेला लागेको थियो एन्डीएमा बसेमा मुश्लिमको मत पाइने छैन । नीतीशले २०१३ भन्दा अघि २०१० मा विधानसभाको निर्वाचनमा विहारमा प्रचार गर्न समेत मोदीलाई दिएका थिएनन् ।
नीतीशले २००५को विधानसभा निर्वाचनमा पनि मोदीलाई यस्तै गरेका थिए । २०१४मा नीतीशको पार्टी एक्लै मैदानमा उत्रिएको थियो । तर, दुई सीटमा मात्रै सीमित भएको थियो ।
२०१५मा नीतीशले विधानसभा चुनावमा आरजेडीसँगै चुनाव लड्ने घोषणा गरेका थिए । नभन्दै बम्पर जित हासिल गरेका थिए । उनी फेरि २०१९को आम चुनावमा भने एनडीएतर्फ नै लागेका थिए । विहारमा सो समयमा एनडीएलाई जम्मा ४० सिटमा ३९ सिट प्राप्त भएको थियो । सन् २०२२मा फेरि आरजेडीको साथमा गएका थिए ।
नीतीशले गठबन्धन हेरफेर गर्ने प्रक्रिया भारतीय राजनीतिमा हैरान गर्ने खालको छ । त्यसैले पनि अहिले उनको १२ सिट आफ्नो पक्षमा पारिराख्न मोदीलाई अप्ठेरो पर्नसक्ने अनुमान गरिएको छ ।
यी अवस्थाले गर्दा भारतमा मोदीलाई पहिला भन्दा अप्ठेरो अवस्था र राहुलका लागि सजिलो अवस्था देखिन्छ । तर, प्रभाव मूल्यांकनका लागि भने अझै केही समय लाग्ने अवस्था छ । एजेन्सीको सहयोगमा