-1718627794.jpg)
काठमाडौं । मनसुन अवधिमा देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मनसुनी वायुको प्रभावले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।
पानी पार्ने मनसुन प्रणाली बेलाबेलामा धेरै र थोरै सक्रिय हुने गर्छ । मनसुन प्रणाली शुक्रबार र शनिबार कम सक्रिय देखियो । शनिबार र आइतबार (भोलि)को तुलनामा सोमबार (पर्सि) मनसुन अलि बढी सक्रिय हुने सम्भावना रहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।
“हिजोआज र भोलि (आइतबार)भन्दा सोमबार मनसुन सक्रिय हुने सम्भावना छ,” उनले बाह्रखरीसित भनिन्, “देशभर सोमबार घाम लाग्ने सम्भावना अहिलेको स्थितिबाट हेर्दा देखिँदैन ।”
महाशाखाले देशका केही स्थानमा सोमबार ‘धेरै भारी’ वर्षाको पनि सम्भावना रहेको जनाएको छ । तर, त्यस दिन यसै सिजनमा भएको ‘रेकर्ड ब्रेक’जस्तो अत्यधिक वर्षाको स्थिति नरहेको उनले स्पष्ट पारिन् ।
उनका अनुसार, सोमबार दिउँसो कोसी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । सोमबार राति कोसी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको उनले बताइन् ।
शनिबारदेखि आइतबारसम्म वर्षाको सम्भावनै नरहेको भने होइन । यी दुई दिनको तुलनामा सोमबार बढी वर्षाको सम्भावना छ ।
“आजै पनि वर्षा भएको छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना त हुन्छ नै,” उनले भनिन्, “एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ ।”
आउँदो मंगलबार, बुधबार मौसममा थप परिवर्तन हुनसक्छ । तर, त्यो आउँदो दिनमा स्पष्ट हुने मौसमविद् मानन्धरले बताइन् । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास छ ।
काठमाडौंमा आइतबार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन् । रातिको समयमा वर्षाको सम्भावना बढी रहेको उनले बताइन् ।
“मनसुनमा साँझपछि रातिको समयमा वर्षाको सम्भावना हुन्छ,” उनले भनिन्, “मनसुनको विशेषता नै यस्तै हुन्छ ।”
महाशाखाले आइतबार वाग्मतीलगायत प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ । “एक–दुई स्थान भन्नुको अर्थ सम्भावना न्यून छ भन्ने हो,” उनले भनिन्, “तर, सम्भावना नै नभएको पनि होइन ।”
महाशाखाले शनिबार बेलुका जारी गरेको मौसम पूर्वानुमान बुलेटिनको ‘आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श’मा उल्लेख छ, “देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ । साथै, कोसी, मधेस र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ ।”
कुनै स्थानमा २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी पानी पर्नुलाई ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ । कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ ।
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटर पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । २४ घण्टामा १० देखि ५० मिलिमिटरलाई हल्कादेखि ‘मध्यम’ र १ देखि १० मिलिमिटरसम्म पानी पर्नुलाई ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ ।