site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मौसमविद्लाई प्रश्न– कञ्चनपुरमा ‘रेकर्ड ब्रेक’ वर्षाको कारण के हो ? (भिडियो)
लगातार वर्षाका कारण डुबानमा परेको कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्र । तस्बिर : शेरबहादुर सिंह/रासस ।

काठमाडौं । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका केही स्थानमा ‘अति भारी’ वर्षा मापन गरिएको छ । कञ्चनपुरका केही स्थान र कैलालीमा अति भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार (हिजो) बिहान ८ः४५ देखि सोमबार (आज) बिहान ८ः४५ बजेसम्म गरिएको मापनमा कञ्चनपुरमा ‘रेकर्ड ब्रेक’ वर्षा भएको छ । उक्त अवधिमा कञ्चनपुरको दोधारा केन्द्रमा ६२३.९ (६२४) मिलिमिटर वर्षा मापन गरिएको केन्द्रकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

उनका अनुसार, यो ‘अति भारी’ वर्षा हो । नेपालमा वर्षाको तथ्यांक राख्न थालेयताकै त्यहाँ (२४ घण्टामा) धेरै वर्षा भएको उनले बताइन् । ७७ वर्षको इतिहासमा कुनै स्थानमा यसअघि २४ घण्टामा धेरै वर्षा सन् २०१७ अगस्ट १३ मा मकवानपुरमा मापन गरिएको थियो ।

“कञ्चनपुरको दोधारा चाँदनीमा ६२४ मिलिमिटर हाराहारीमा वर्षा भएको देखियो । अहिलेसम्म मापन भएअनुसार २४ घण्टामा सबैभन्दा बढी वर्षा भएको हो,” उनले भनिन्, “योभन्दा पहिलाको रेकर्ड भनेको मकवानपुर, टिस्टुङ–पालुङमा ५४० मिलिमिटरसम्म वर्षा मापन भएको थियो ।”

मनसुनी वायु र एउटा अर्को प्रणालीका कारण त्यहाँ अति भारी वर्षा भएको उनले बताइन् । तर, त्यसको थप अध्ययन–अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।

“मनसुनी न्यूनचापीय रेखासँगै त्यहाँ एउटा प्रणाली छ, त्यो प्रणालीको प्रभावले र मनसुनी वायुको प्रणालीले रेकर्ड ब्रेकिङ वर्षा भएको हो,” उनले भनिन्, “यो किन भयो, कस्तो अवस्थामा यस्तो हुन्छ भन्नेचाहिँ थप अध्ययन–अनुसन्धान गर्नुपर्ने हुन्छ ।”

कुनै स्थानमा रेकर्ड ब्रेकिङ नै वर्षा हुन्छ भन्ने अनुमान गर्न नसकिने उनले स्पष्ट पारिन् । “रेकर्ड ब्रेकिङ नै हुन्छ भनेरचाहिँ हामीलाई पनि थाहा हुँदैन । हामीमा पनि त्यो प्रविधि छैन,” उनले भनिन्, “त्यो ठाउँमा ६०० मिलिमिटर वर्षा हुन्छ भनेर पहिल्यै भन्न सक्ने हामीसँग ठ्याक्कै प्रविधि छैन ।”

उक्त प्रणाली कमजोर भइसकेको र नेपालमा मनसुनको प्रभाव तत्काललाई कम भएको उनले जानकारी दिइन् ।

कुनै स्थानमा २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी पानी पर्नुलाई अति भारी वर्षा भनिने महाशाखाले जनाएको छ । कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ ।

कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटर पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । २४ घण्टामा १० देखि ५० मिलिमिटरलाई हल्कादेखि ‘मध्यम’ र १ देखि १० मिलिमिटरसम्म पानी पर्नुलाई ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

भिडियो हेर्नोस्–

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro