site stats
बाह्रखरी :: Baahrakhari
देश
'सिधा कुरा'विरुद्धको अवहेलना मुद्दा : १५ दिनभित्र बहस नोट, भदौ ६ गते फैसला हुने

काठमाडौं । 'सिधा कुरा' मिडियाविरुद्धको अदालतको अवहेलना मुद्दामा फैसलाको मिति तोकिएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नेतृत्वमा गठित ९ सदस्यीय बृहत्‌पूर्ण इजलासले १५ दिनभित्र बहस नोट पेस गर्न आदेश जारी गर्दै भदौ ६ गतेलाई फैसलाको मिति तोकेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

'सिधा कुरा'ले ‘द डार्क फाइल’ नाम दिएर प्रसारण गरेको सामग्रीमा सर्वोच्च अदालतका न्यायाधीशसमेत संलग्न भएर भ्रष्टाचारका मुद्दा खारेज गर्ने सेटिङ गरेको दाबी गरिएको थियो । उक्त कार्यले अदालतको न्याय सम्पादनमा नै असर परेको भन्दै सर्वोच्चले सुमोटो लिएर मुद्दा चलाएको थियो । सिधा कुराविरुद्ध सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले अदालतको अवहेला भएको दाबीसहित निवदेन दर्ता गरेका थिए ।

सर्वोच्चकै आदेशमा सिधा कुरामा प्रसारित सामग्रीमा प्रयोग भएको अडियो फरेन्सिक परीक्षणबाट फेक प्रमाणित भइसकेको छ ।

सिधा कुरा, त्यसका सञ्चालक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानासहितलाई विपक्षी बनाइएको मुद्दामा बिहीबार नौजना न्यायाधीशको बृहत्‌पूर्ण इजलास सुनुवाइ भएको थियो । इजलासमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुँयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेशशर्मा पौडेल र बालकृष्ण ढकाल छन् । 

पत्रकार महासंघले भने 'सिधा कुरा'ले गरेको गल्तीमा आमसञ्चार क्षेत्रको स्वतन्त्रता खुम्चिने र संविधानको प्रस्ताव‍नाको पूर्ण प्रेस स्वतन्त्रताको मर्म मर्ने गरी फैसला नगर्न ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १७:५८
प्रतिक्रिया दिनुहोस्