site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नागढुङ्गा–मुग्लिन सडक अस्तव्यस्त, सांसद भन्छन्– दसैंमा सहज यात्रा हुन्छ ?
SkywellSkywell

काठमाडौं । लगातारको वर्षाका कारण देशभरका अधिकांश सडक यतिबेला अस्तव्यस्त छन् ।

नागढुङ्गा– मुग्लिन सडकको अवस्था पनि त्यस्तै छ । दैनिक हजारौँको संख्यामा सवारीसाधन ओहोरदोहोर हुने मुख्य मार्गको अवस्था साह्रै बिग्रँदो छ ।

अहिलेदेखि नै अस्तव्यस्त सडक चाडपर्वका बेलासम्म पनि कायमै रहन सक्ने भन्दै सरोकारवालाले ध्यानाकर्षण गराएका छन् ।

Dabur Nepal
NIC Asia

काठमाडौं भित्रिने तथा बाहिरिने मुख्य सडक नागढुङ्गा–मुग्लिन सडक पुर्ननिर्माणका कारण अस्तव्यस्त भएपछि दसैं–तिहार जस्ता ठूला चाडपर्वमा यात्रुहरूले सास्ती खेप्नुपर्ने भन्दै अहिलेदेखि नै ध्यानाकर्षण गराएका हुन् ।

उक्त सडक खण्डअन्र्तगत पहिलो खण्ड नागढुङ्गा–नौबिसे, दोस्रो खण्ड नौबिसे–मलेखु तथा तेस्रो खण्ड मलेखु–मुग्लिन हाल निर्माणाधीन छन् । निर्माणाधीन सडकखण्डका कारण यात्रुहरूले निकै सास्ती भोग्नु परेको छ ।

निर्माणाधीन सडक तत्काल नसकिने भएपछि यात्रुहरूले यो वर्षको चाडपर्वमा पनि घर जाँदा सास्ती खेप्नुपर्ने भएको हो ।  यस्तै नारायणघाट–बुटवल सडक खण्ड समेत निर्माण पूरा भएको छैन ।  सडक विभागकाअनुसार नागढुङ्गा–मुग्लिन सडकको काम सकिन अझै ६ महिना बढी समय लाग्छ । 

नारायणगढ–बुटवल सडक खण्ड अझै आधा बाँकी छ । मुख्य राजमार्ग नै अस्तव्यस्त हुँदा यात्रुले वर्षेनी सास्ती भोग्नुपर्ने देखिन्छ । सरकारले देशका मुख्य राजमार्ग एकैपटक पुनर्निर्माणको स्वीकृति दिने र ठेकेदारले समयमै काम नगर्ने गरेका कारण पनि वर्षौँदेखि यात्रुहरू समस्यामा पर्ने गरेका छन् ।
 
चाडपर्व नजिकिँदै गर्दा पनि राजमार्गको हालत नाजुक रहेको भन्दै सांसदहरूले चिन्ता व्यक्त गरेका छन् । देशभरका ठुला राजमार्ग निर्माणका नाममा भत्काउने र समयमा नबनाएको भन्दै सांसदहरूले चासो दिएका छन् । 

पूर्वाधार विकास समिति बुधबार बोल्दै सांसदहरूले चाडपर्व नजिकिँदै गर्दा देशभरका सडकको अवस्था दयनीय रहेको भन्दै चिन्ता व्यक्त गर्दै यसको उचित सम्बोधन गर्न र सुरक्षित यात्राको वातावरण बनाउन आग्रह गरेका छन् । 
सडक विभागले सडक पुनर्निर्माणका नाममा सडक भत्काउने र समयमा नबनाउने गरेको भन्दै ठेकेदारले समयमै काम सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।  सडक भद्रगोल हुँदा नजिकिँदै गरेको दसैं–तिहार जस्ता ठूला चाडपर्वमा यात्रुहरूको आवत–जावतलाई सास्ती हुने भन्दै सांसदहरूले समयमै सडक मर्मतको व्यवस्था गर्न सांसद प्रतिमा गौतमले माग गरिन् ।

काठमाडौं भित्रिने मुख्य राजमार्गको अवस्था बेहाल रहेको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसमा चासो नदिएको उनले बताइन् । 

“नागढुङा–नौबिसे सडक खण्ड निर्माण राम्रो भएपनि अन्य दुई प्याकेजको अवस्था नाजुक छ,” गौतमले भनिन्, “ठेकेदारले किन समयमा काम नगरेको ? चाडपर्व नजिकिँदै कसरी यात्रा गर्ने ?”

सांसदहरूले सडकका खाल्टा–खुल्टी पुर्न पटक–पटक निर्देशन दिएपछि सडक विभागले नटेरेको भन्दै गौतमले आक्रोश व्यक्त गरिन् ।

“हामी निरीक्षणमा जाँदा सडकका खाल्टाखुल्टी पुर्न विभागलाई भन्यौं, तर अर्को सात दिनपछि जाँदा उस्तै थियो । हामीले निर्देशन मात्रै दिने तर काम नहुने हो ?,” उनले प्रश्न गरिन् । 

ठेकेदारलाई दबाब दिएर भए पनि समयमा काम सक्ने वातावरण निर्माण गर्नुपर्ने सांसद गौतमको भनाइ छ । 

नागढुङ्गा–मुग्लिन सडक खण्डको पहिलो प्याकेजमा केही प्रगति भएपनि दास्रो र तस्रो प्याकेजमा निकै ढिलासुस्ती रहेको भन्दै यसलाई चाँडोभन्दा चाँडो सक्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग माग गरिन् ।

गतसाताको सुरूङ तथा सडक अनुगमनका क्रममा नागढुङ्गा–मुग्लिन सडक खण्डमा दोस्रो र तेस्रो प्याकेजमा निकै ढिलासुस्ती भएको र वर्षाअघि राजमार्ग मर्मत गरेर यात्रुलाई सहजरूपमा घर पुग्ने वातावरण बनाउन भौतिक पूर्वाधार मन्त्रालयसँग सांसदहरुले आग्रह गरे । 

कतिपय स्थानमा ठेकेदारलाई त्यहाँका ‘टोले गुण्डा’ हरूले दुःख दिने गरेको भन्दै सुरक्षाको प्रबन्ध मिलाउन समेत आग्रह गरे ।

सांसद माधव सापकोटाले नागढुङ्गा–मग्लिन सडकखण्डअन्र्तगत गल्छी र सोभन्दा तलका सडक खण्डहरू ज्यादा खराब रहेको भन्दै त्यसको तत्काल मर्मत गर्न माग गरे । 

“गल्छीभन्दा तलको सडक खण्ड निकै खराब छ । कतिपय स्थानमा माटो हाल्दा त्यसले बाटो झन् खराब बनाएको छ,” उनले भने, “रोडा हालेर मर्मत गर्नुपर्ने ठाउँमा माटो हाल्दिएको छ । यसमा त अलिकति सोच विचार गरौं न ।” 

दसैं–तिहार जस्ता ठूला चाडपर्वका समयमा सडक भताभुंग भएको र यात्रुहरूले सास्ती पाउने भन्दै छिटोभन्दा छिटो पूर्व तयारी गर्न सापकोटाले आग्रह गरे । 

“देशभरका सडक खण्ड बनाउने नाममा भताभुङ बनाउने काम भएको छ । काभ्रेको धुलिखेल–खावा सडकमा ४ किलोमिटर क्षेत्रमा पनि रोडा हालिएको छैन,” सापकोटाले भने, “दसैंको लागि चीनबाट आउने लत्ताकपडा सोही क्षेत्रबाट आउनुपर्ने बाटाको हालत हेरिनसक्नु छ ।”

अरनिको राजमार्ग छिटोभन्दा छिटो मर्मत गर्न भौतिक मन्त्री दाहालको ध्यानाकर्षण गराए ।  यस्तै असारको अन्तिममा आएर विकास गर्ने कार्यले दीगो विकास हुन नसकेको भन्दै उनले यसमा पनि सुधार हुनुपर्ने बताए । 

“हाम्रोमा असारको अन्तिममा आएर विकास गर्ने प्रवृति छ,” उनले भने, “एउटा विकासे क्यालेण्डर बनाएर काम गर्न किन नसकेको ? यसमा हामीले नीतिगत सुधार गर्न किन नसकेको ?”

काठमाडौं पस्न वैकल्पिक बाटोको रूपमा सीतापाइला धार्के सडक खण्डलाई सुधार गरे त्यसले धेरै मात्रामा नागढुङ्गाको जाम कम गर्न सकिने सांसद बिना लामाले बताइन् ।

सुरूङ मार्गका कारण धादिङको धुनिबेशी नगरपालिकाका कतिपय स्थानमा खानेपानीको समस्या भएको हुँदा यसको सम्बोधन गर्न उनले माग गरिन् । यस्तै राजमार्गको हालत नाजुक रहेको भन्दै यसलाई छिटोभन्दा छिटो मर्मत गरेर भएपनि यात्रा सहज हुने वातावरण बनाउन आग्रह गरिन् । 

“म धादिङको सांसद भर्खरै घर गएर आएको थिएँ । नागढुङ्गादेखि नै सडकको अवस्था नाजुक छ,” उनले भनिन्, “दुई पाङ्ग्रे यात्रुहरू पानी नपर्दा पनि रेनकोट लगाएर हिँड्नुपर्ने अवस्था छ । ”

सांसद शंकर भण्डारीले समितिमा जति छलफल गरी निर्देशन दिए पनि सुधार नभएकोमा आक्रोश जनाए । 

“हामीले धेरै अनुगमन, छलफल र निर्देशन दियौं, तर कतै सुधार भएको छैन्,” उनले भने, “यसअघि पनि पटक पटक हामीले छलफल गरेर निर्देशन दिएको नै हो कतै सुधार भएको छैन् । नयाँ मन्त्री आउने यो गर्छु र त्यो गर्छ भनेर प्रचार गर्ने काम केही नगर्ने ? पहिला काम देखाए हुँदैन ।” 

यसअघि पनि आफूहरूले सात दिनभित्र राजमार्गको खाल्टाखुल्टी पुर्न निर्देशन दिएपनि हालसम्म त्यसमा कुनै काम नभएको भण्डारीले बताए । 

सरकारकै निकायबीचको अन्तरसमन्वय अभावका कारण पनि समयमै काम नभएको उनको भनाइ छ ।  सांसद महेश बस्नेतले ठूला राजमार्गमा नजिक ट्रमा सेन्टर बनाउनुपर्ने बताए ।  “राजमार्ग छेउमा ट्रमा सेन्टर बनाएर घाइतेहरूलाई उचित उपचार गर्न सकिन्छ । अब बन्ने राजमार्गहरूमा यसको पनि व्यवस्था हुनुपर्छ,” उनले भने । 

देशभर समस्याहरूको चाङ रहेको र कुर्सीमा बस्नेहरूले आफ्नो काम राम्रोसँग नगरेको भन्दै सांसद शिव नेपालीले चिन्ता व्यक्त गरे । 

“देशभर जताततै समस्याको चाङ छ । कुर्सीमा बस्नेहरूले राम्रोसँग काम गर्दैनन् । देशभरको राजमार्ग एकैपटक बनाउन दिएको छ । ठेकेदारले समयमा काम गर्दैनन्,” उनले भने ।

उनको भनाइमा “अब मुग्लिन आबु खैरेनीको पनि ठेक्का लाग्दैछ । यसमा पनि यस्तै समस्या आउन नदिन के गर्ने ? सडक खण्ड एकैपटक खन्न नदिने हो कि ? कसरी गर्ने हो ? सांसदहरूले दिएको निर्देशन पालना नगर्ने हो भने यस्ता छलफलको कुनै औचित्य छैन । ”

मुग्लिन–नारायणगढ सडक खण्डको हालको स्थानमा समस्या आइरहने र त्यसलाई बनाइरहने भन्दा पनि त्यसको पारी तर्फबाट बाटो बनाउन अध्ययन हुनुपर्नेमा गोरखाका सांसद राजेन्द्र बजगाईंले बताए । “हालको सडक खण्डमा लामो समयदेखि समस्या आएको आएै छ । यसको विकल्पको रूपमा पारी ट्र्याक खोल्न अध्ययन किन नगरेको हो ?” उनले प्रश्न गरे । 

नेपालमा ढिलासुस्ती वंशानुगत हुँदै गएको सांसद निशा डाँगीले बताइन् । “हाम्रोमा प्रत्येक वर्ष सडकका कारण यात्रुहरूले सास्ती खेप्नुपरेको छ । हरेक काममा ढिलासुस्ती हुँदा यो वंशाणुगत हो कि भन्ने मलाइ लाग्छ,’ उनले भनिन् ।

प्रत्येक वर्ष दसैंमा घर जाँदा यात्रुहरूले दुख पाउने गरेको भन्दै यसवर्ष पूर्व तयारी गर्न उनले आग्रह गरिन् । 

सडक बनाउँदा जथाभावीरूपमा काट्ने गरेका कारण पनि पहिरोको समस्या भएको सांसद सुशीला श्रेष्ठले बताइन् । “सडक बनाउँदा माटोको माया नगरी जथाभावी काट्ने गरिएको छ । यताको माटो बगाएर तराईंका खोला भरिएको छ,” उनले भनिन्, “माटो काटेर खोलामा फाल्नेभन्दा पनि त्यसलाई व्यवस्थित गर्नुपर्छ । माटाको माया गर्ने संस्कृति बनाउनुपर्छ । ”

सांसद लालवीर चौधरीले नेपालमा ठेक्का टेण्डर भइसकेपछि परामर्शदाता छनोट गर्ने परम्परा रहेको र यसले निर्माण कार्य ढिलो हुने गरेको भन्दै यसको समाधान गर्नुपर्ने बताए । “हाम्रो टेण्डर लागेपछि परामर्शदाता हायर गर्ने चलन छ । उसले त्यसको बारेमा बुझ्न नै ६–७ महिना त्यसै जान्छ,” उनले भने, “ यसलाई कसरी सम्बोधन गर्ने त्यसको बारेमा छलफल हुनुपर्छ ।”

समितिका सभापति दीपकबहादुर सिंहले सुरूङ मार्ग गौरवको आयोजना भएका कारण यसलाई चाँडोभन्दा चाँडो सक्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग आग्रह गरे । 

“नागढुङ्गा सुरूङमार्ग देशकै गौरव आयोजना हो । यसमा कतिपय बासिन्दाले आफ्नो जग्गा परेको, घर परेको भनेका छन् । उनीहरूको पनि उचित व्यवस्थापन गर्ने गरी काम गर्न म मन्त्रीज्यूसँग आग्रह गर्छ,” उनले भने । 

यस्तै चाडपर्वमा सडकमार्गबाट आवातजावत गर्ने यात्रुहरू सहज रूपमा घर जाने व्यवस्था मिलाउन उनले आग्रह गरे । यस्तै सुरूङ मार्ग निर्माणपश्चात काठमाडौंको ट्राफिक व्यवस्था कसरी समाधान गर्ने भन्नेमा तयारी गर्नपनि उनले आग्रह गरे । 

सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै सडक विभागका महानिर्देशक रामहरि पोख्रेलले वर्षापछि सडक मर्मतका लागि विभागले पूर्व तयारी गरिरहेको बताए । 

“हामीले वर्षापछिको सडक मर्मतको लागि अहिले नै तयारी गरेका छौं,” उनले भने, “सडक मर्मत भएको नभएको राम्रोसँग अध्ययन गर्नेछौं ।” भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले नागढुङ्गा सुरूङ मार्गमा ११ वटा घरमा क्षति पुगेको र त्यसको उचित व्यवस्थापन गर्ने तयारी भएको बताए । 

“सुरूङ मार्गमा ११ वटा घर चर्किएको छ । हामीले यसको उचित व्यवस्थापन गर्न एउटा समिति बनाएका छौं । सोही समितिको सिफासिको आधारमा काम गर्छौं ” उनले भने ।  चाडपर्वको समयमा सहज यात्राका लागि बाटो मर्मत गर्न मन्त्रालयले पूर्व तयारी गरेको दाहालले जानकारी गराए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu