काठमाडौं । काठमाडौंमा सन् २००२/२००३ ताका कडा मलेरिया, जापनिजइन्सेफ्लाइटिज,हेपटाइटीस'बी',टाइफाइडजस्ता पानी तथा लामखुट्टेजन्य रोगको संक्रमण उच्च थियो ।
तराईका जिल्लाहरूबाट कालाजारका बिरामी बस नै रिजर्भ गरेर उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु आइपुग्थे । अस्पतालका भित्तामा किला ठोकेर स्लाइन झुन्ड्याएर उपचार गरेको अनुभव छ, अस्पतालका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनको ।
एकैदिन ४/५ जनाको मृत्यु हुन्थ्यो । एकै घण्टामा ३५ देखि ४० जना झाडापखालाका बिरामी भर्ना हुन्थे । अस्पतालको शय्याले नधान्ने भएपछि घण्टैपिच्छे त्यति नै संख्यामा बिरामी डिस्चार्ज गर्नुपर्थ्यो । “हामी ३/४ दिनसम्म पनि घर नगएर उपचार गर्थ्यौं,” डा. पुन सुनाउँछन् ।
सन् २०१० पछि पानीजन्य रोगसँगै जनावर र किट तथा हावाबाट सर्ने रोगको प्रकोप बढ्दै गयो । पछिल्ला वर्षहरूमा झाडापखाला तथा हैजा बर्सेनि देखिन थालेको छ ।
काठमाडौं उपत्यका बर्खायाममा पानीजन्य संक्रामक रोगको डरलाग्दो 'हब' बनिरहेको छ । अहिले २१ वर्ष अगाडिकै नियति नदोहोरिएला भन्ने अवस्था छैन टेकु अस्पतालमा ।
२० जनामा हैजा पुष्टि, मुख्य कारण दूषित पानी
यो वर्ष (सन् २०२४ मा) १८ जुलाईदेखि देखिएको हैजा संक्रमण २८ जुलाईसम्म आइपुग्दा २० जनामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुरको गोदावरी–१४ स्थित एउटै रिह्याबिलिटेसन सेन्टरका १२ जनामा हैजा देखिएको छ ।
काठमाडौंमहानगरपालिका–१३ का एक र टोखा नगरपालिका–२ का दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांक छ । यस्तै, कैलालीमा सात जनामा हैजा देखिएको छ । संक्रमितहरूमध्ये सात जनाको अस्पताल भर्ना गरेरै उपचार गर्नुपरेको थियो ।
यसअघिका वर्षहरूमा पनि काठमाडौंमा हैजाको 'हब' नै बनेको थियो । ०७९ असार ५ गतेदेखि काठमाडौंमा देखिएको हैजा पाँच जिल्लामा फैलिएको थियो । ईडीसीडीका अनुसार सो वर्ष उपत्यकाका ७६ जनामा हैजा पुष्टि भएको थियो ।
२०७८ मा उपत्यकाका ११ पालिकासहित नुवाकोटको ककनीमा हैजा संक्रमित देखिएका थिए । गएको वर्ष असारको दोस्रो सातादेखि नै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा हैजाका बिरामी भर्ना भएर उपचार गराएका थिए ।
अस्पताल आइपुग्ने संक्रमित सीमित भए पनि समुदायमा करिब एक महिना अघिदेखि नै हैजा संक्रमण देखिएको वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. पुन दाबी गर्छन् । सामान्य हैजाका बिरामी अस्पताल नआए पनि समुदायमा हैजा फैलिरहेको उनको भनाइ छ ।
काठमाडौं उपत्यकामा हैजाको ठोस कारण पहिचान गर्न पानीको नमुना परीक्षण गरिँदै छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख सागर घिमिरेका अनुसार हैजा देखिएका क्षेत्रहरूबाट पानीको नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको छ ।
“पानीमा दिसामा पाइने जीवाणु भए नभएको पुष्टि हुन केही दिन लाग्ला, तर हैजा देखिएका स्थानको पानी प्रदूषित छ भन्न सकिन्छ,” इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डा. यदुचन्द्र घिमिरे भन्छन् ।
उपत्यकाका खानेपानीका स्रोतहरू सुरक्षित नहुुन, ढल निकास व्यवस्थित नहुनु, जारको पानीसमेत शुद्ध नहुनु र सरकारी निकायको अनुगमन फितलो हुनुले हैजा फैलिने वातावरण बनाएको डा. पुनको दाबी छ ।
काठमाडौं उपत्यकाको पानीका स्रोतहरू सुरक्षित नहुनु र जनस्तरमा सरसफाइको कमी हुनु नै हैजा फैलिनुको मुख्य कारण भएको बताउँछन्, सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोला । पानीको स्रोतको सुरक्षित बनाउन नसक्दाको परिणामस्वरूप बर्सेनि हैजा देखिने गरेको उनको बुझाइ छ ।
पूर्वतयारी र नियन्त्रणमा तीन तहको हानथाप
पछिल्ला केही वर्षयता हरेक वर्ष काठमाडौंमा पानीजन्य संक्रमण फैलिँदै आएको छ । वर्षायामका झन्डै पाँच महिना हैजा, डेंगी, स्क्रब टाइफसजस्ता रोग समुदायस्तरमा नै देखिन्छन् ।
तर, सरकारी निकायको यस्ता रोगप्रति पूर्वतयारी पर्याप्त छैन । तीन तहका सरकार बनेपछिका दिनमा नियमन, नियन्त्रण, महामारीको पूर्वतयारी तथा नियन्त्रणमा हानथाप भएको देखिन्छ ।
संक्रमण रोकथाम तथा नियन्त्रण निर्देशिका, २०७९ ले कुनै पनि संक्रमणजन्य रोगको नियन्त्रणमा तीन तहका सरकारको काम कर्तव्य र अधिकार प्रस्ट छुट्याएको छ ।
जसमा संघले कार्यायोजना र रणनीति बनाउने, प्रदेशले अस्पताल र जनशक्तिको व्यवस्थापन गर्दै उपचारको पाटोमा काम गर्ने र स्थानीय तहले केस रिपोर्टिङ, महामारी नियन्त्रणका निम्ति बजेट सिफारिस, नियन्त्रणका समग्रीको जोहोलगायत संघको कार्यायोजना अनुसारका काम गर्ने उल्लेख छ ।
काठमाडौंमा हैजा देखिएको सन्दर्भमा शंकास्पद क्षेत्रको पानी परीक्षण र बिरामीलाई उपचारको व्यवस्था जिल्ला स्वास्थ्य कार्यालयहरूबाट भइरहेको छ ।
तर, पानीजन्य रोगको पूर्वतयारीमा स्वास्थ्यमात्र नभई खानेपानी तथा सहरी विकास मन्त्रालय मातहतका निकायहरूको उत्तिकै जिम्मेवारी हुन्छ ।
समुदायस्तरमा हैजा फैलिएपछि मात्रै यी मन्त्रालय मातहतका निकायहरू तातेका छन् । “आजमात्रै पनि केयूकेएल, प्रदेशका मन्त्रालय, स्वास्थ्य कार्यालयहरू र स्टेक होल्डर्ससँग बसेर संक्रमणको प्रतिकार्यबारे छलफल भएको छ,” ईडीसीडी निर्देशक डा. घिमिरेले भने ।
'योखाले समन्वय र तयारी गर्न ढिलो भएन र ?’ बाह्रखरीको प्रश्नमा डा. घिमिरे भन्छन्, “संक्रामक रोग नियन्त्रणमा तीन तहका सरकारको तथा सरोकारवालाहरूको जिम्मेवारी प्रस्ट छुट्याइएको छ, सबै निकायले आआफ्नो स्तरबाट काम गरिरहेकै छन् ।”
तर, जिम्मेवारी र अधिकार दिए पनि स्रोत साधन र जनशक्ति पर्याप्त नहुँदा प्रतिकार्यमा सहज नभएको स्थानीय तहहरूको गुनासो छ । त्यसो त ईडीसीडी नै मुख्य जिम्मेवार निकाय भए पनि संक्रामक रोगको पूर्वतयारीमा यसले प्रभावकारी काम नगरेको ईडीसीडीका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी टिप्प्णी गर्छन् ।
“पानीका स्रोतहरू सुरक्षित छन् छैनन्, ढल व्यवस्थापनको अवस्था के छ यसबारे मनिटरिङ गर्ने जिम्मेवारी ईडीसीडीको पनि हो । तर, प्रभावकारी काम गरेको देखिँदैन,” डा. मरासिनीको आरोप छ ।
पानीजन्य रोग होस् वा कुनै पनि संक्रमण समयमै पूर्वतयारी नहुनु र तीन तहका सरकारले आफ्नो जिम्मेवारी पूरा नगर्नुले रोग महामारीको रूपमा फैलिने जोखिम बढेको सरोकारवालाहरूको भनाइ छ ।
यो पनि पढ्नुहोस्