site stats
बाह्रखरी :: Baahrakhari
देश
सुरक्षित छैन काठमाडौंको पानी : उमालेर मात्रै पिउन विज्ञको आग्रह  
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबारसम्म हैजा (कोलेरा) संक्रमितको संख्या १२ पुगेको छ । हैजाको मुख्य कारण इकोली जीवाणुयुक्त पानी भएको परीक्षणहरूले पुष्टि गरेका छन् ।  

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले धारा, ट्युवबेल, इनार, बोतल, जार र ट्याङ्करको पानीमा हैजा संक्रमण गराउने जीवाणु भेटिएको जनाएको छ । 

महाशाखाका निर्देशक डा. चुमनलाल दासले आज संसदको शिक्षा तथा स्वास्थ्य समितिमा काठमाडौंका बागबजार, डिल्लीबजार, बुढानीलकण्ठ र ललितपुरको सानेपामा पानीको नमुना परीक्षणमा हैजाका जीवाणु भेटिएको जानकारी गराए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बल्खु र कोटेश्वरको पनि नमुना लिएको तर रिपोर्ट आइनसकेको उनले बताए । शनिबार यी दुई क्षेत्रका दुईजनामा हैजा संक्रमण पुष्टि भइसकेको छ । 

“काठमाडौंमा वितरित १५ प्रतिशत जारको पानी पनि प्रदूषित पाइएको छ,” निर्देशक दासले भने, “बुढानीलकण्ठ नगरपालिकाले गरेको नमुना परीक्षणका क्रममा ७२ प्रतिशत पानी प्रदूषित देखिएको छ ।”

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले सन् २०२० मा गरेको जारको पानीको ¥यान्डम परीक्षणमा ७६ प्रतिशत नमुनामा इकोली भेटिएको थियो । त्यस्तै ९२ नमुनामा कोलिर्फम ब्याक्टेरिया भेटिएको थियो । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको मापदण्ड अनुसार पानीमा कोलिफर्मको मात्रा शून्य प्रतिशत नै हुनुपर्छ । नास्टले नै सन् २०२१ मा गरेको बागमती किनारका इनारको पानीको नमुनामा २१.५ प्रतिशतमा इकोली भेटिएको थियो । सोही पानीको ८५ प्रतिशत  नमुनामा कोलिर्फम भेटिएको थियो ।

फिल्टर गरेर वा रसायन हालेर पानी शुद्ध बन्छ त ? 

केही दिनअघि काठमाडौंको बागबजारमा एकै परिवारका दुई दिदीबहिनीमा हैजा संक्रमण देखिएको थियो । उनीहरूले ट्युवबेल र धाराको पानी नउमाली खाने गरेको स्वास्थ्य कार्यालय काठमाडौंको परीक्षणले देखाएको थियो । 

पानी शुद्धीकरणका लागि विभिन्न उपायहरू अपनाइए पनि सबैभन्दा भरपर्दो उपाय उमालेर पिउनु नै भएको बताउँछन् नास्टका वरिष्ठ वैज्ञानिक भोजराज पन्त । 

“पछिल्लो समय घरमै पानी शुद्धीकरणका लागि विभिन्न प्रविधिहरू पनि आएका छन् तर युभी फिल्टर नभएको युरोगार्डले ब्याक्टेरिया छुट्याउन सक्दैन,” पन्त भन्छन्, “पानी शुद्धीकरणका लागि विभिन्न रसायनहरू पनि प्रयोग गर्न सकिन्छ, तर यदि रसायनको मात्रा मिलेन भने त्यसले उल्टै स्वास्थ्यमा हानी गर्दछ त्यसैले सबैभन्दा उत्तम उपाय उमालेर पिउनु नै हो ।” 

ठूलो भाँडोमा एकपटक उमाल्ने र छोपेर राखेर पटक पटक प्रयोग गर्न सकिने उनको सुझाव छ ।  
 

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १८:४४
प्रतिक्रिया दिनुहोस्