site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्‌मा तहल्का मच्चाइरहेको ‘मुनरो डक्ट्रिन’ के हो ? दुईसय वर्षदेखि कसरी प्रयोग भइरहेछ ?

काठमाडौं । अमेरिकामा दुई सय वर्षअघि प्रयोग भएको ‘मुनरो डक्ट्रिन’ नेपालको संसद्‌मा प्रवेश गरेको छ । केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले एउटा सार्वजनिक कार्यक्रममा क्षेत्रीय रुपमा ठूलो मुलुकको भूमिकाबारे बालेका थिए ।

उनले भारतलाई आसपासका मुलुकको गतिविधि हेर्ने अधिकार हुन्छ भन्ने शैलीमा ‘मुनरो डक्ट्रिन’को वकालत गर्न खोजेका थिए । 

एमाले सांसद रघुजी पन्तले गएको सोमबार त्यसमा प्रतिवाद गरे  । त्यसपछि डा. वाग्लेले मंगलबार त्यसमा थप स्पष्टीकरण दिनुपरेको थियो ।  पन्तको स्वरमा कांग्रेसका केही सांसदले पनि साथ दिएका छन् । आखिर दुई सय वर्षअघिको त्यो डकुमेन्टबारे नेपालमा यतिखेर चर्चा भइरहँदा त्यसबारे चासो जाग्नु स्वाभाविक हो । आखिर के थियो त त्यो डक्ट्रिन ?

द मुनरो डक्ट्रिन अमेरिकी राष्ट्रपति जेम्स मुनरो (कार्यकाल सन् १८१७–१८२५)को सातौं वार्षिक सन्देशका क्रममा कंग्रेसमा सन् १८२३ डिसेम्बर २ मा आएको हो ।
 
जसको मुख्य उद्देश्य तत्कालीन समयमा युरोपेली उपनिवेश पश्चिमी गोलार्ध खासगरी अमेरिका आसपास हुनुहुन्न भन्ने हो । यो सिद्धान्त अमेरिकाको विदेश नीतिमा २०औं शताब्दीमा महत्वपूर्ण रह्यो । 

पश्चिमी गोलार्ध भन्नाले पृथ्वीको आधा भाग हो, जुन प्राइम मेरिडियन र १८०औं मेरिडियनको पूर्वमा छ । अर्को आधा भागलाई पूर्वी गोलार्ध भनिन्छ ।  यो गोलार्धमा अमेरिका आसपासका मात्रै होइन अन्य महादीपका भाग पनि छन् । यसमा अफ्रिका र युरोपका कतिपय मुख्य भू–भाग पनि पर्छन् ।

जुन बेलामा यो डक्ट्रिन आयो त्यतिबेला अमेरिकी शासकलाई युरोपियनहरुले अमेरिकामा अतिक्रमण गर्न सक्छन् भन्ने चिन्ता थियो । त्यसैले राष्ट्रपति मुनरोले संसदमा यो ‘डक्ट्रिन’ पेश गरेका हुन् ।

अमेरिका त्यतिबेला त्यति शक्तिशाली पनि थिएन । त्यसैले अमेरिकाबाहिर त्यो ‘डक्ट्रिन’ आम रुपमा अस्वीकृत थियो । ३० वर्षसम्म यो कुनै काममा आएन । त्यसपछि पनि दक्षिणी गोलार्धमा बेलायत र स्पेनले १८४८ सम्म अतिक्रमण गर्दै आए । 

संसद्‌मा स्वर्णिम वाग्लेको जवाफ– 'मनरो डक्ट्रिन' उच्चारणै गर्न नसक्नेहरू रातारात विज्ञ भएछन् !

तर, पछि अमेरिकी राष्ट्रपति जेम्स के पल्कले मुनरो सिद्धान्तको हवाला दिँदै ओरेगन, क्यालिफोर्निया र मेक्सिकोको युकाटान पेनिन्सुएलामा आफ्नो कदम अघि नबढाउन बेलायत र स्पेनलाई चेतावनी दिएका थिए ।

सन् १८७० पछि अमेरिका जब विश्व शक्तिका रुपमा देखियो त्यसपछि यसको उपादेयता बढ्न थालेको हो । राष्ट्रपति थियोडर रुजवेल्टले १९०४ मा यसलाई अर्कै हिसाबले अघि बढाए । 

त्यतिबेला उनले ल्याटिन अमेरिकी कुनै पनि देशमा कुनै खराबी भए अमेरिकाले आन्तरिक मामिलामा हस्तक्षेप गर्न सक्ने बताए ।  बेलायत, इटाली र जर्मनीले सन् १९०२ मा भेनेजुएलालाई ऋण नतिरेको भनी समुद्रसम्म जान नाकाबन्दी गर्न खोजेपनि रुजभेल्टले अमेरिकी नाबीको बलमा त्यसलाई निस्तेज पारेका थिए । 

पछिल्लो समयमा सन् २०१३ मा अमेरिकी विदेशमन्त्री जोन केरीले मोनरो डक्ट्रिनको युग सकिएको एक कार्यक्रममा बताएका थिए । त्यसको ६ वर्षपछि राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सन् २०१९ मा सो डक्ट्रिन अझै जीवित रहेको बताएका थिए ।

रिपब्लिकन नेताहरु विवेक रामास्वामी र रोन डेससान्टिज जस्ताले केही महिना अघिसम्म पनि ल्याटिन अमेरिकाका चीनको उपस्थिति कम गर्न यो डक्ट्रिनलाई ल्याउनुपर्ने बताएका थिए । 

यद्यपि यसको प्रभाव त्यस क्षेत्रमा किन पनि छैन भने यतिखेर चीनले भेनेजुएला, इक्वेडरजस्ता मुलुकमा दशौं बिलियन डलर ऋण दिएको छ र कम्पनी तथा कामदार फैलाएको छ ।

रुस र इरान पनि कतिपय मामिलामा संलग्न छन् । अमेरिकाले सो डक्ट्रिन कडाइका साथ लागू गर्न सक्ने अवस्था त्यस क्षेत्रमा पाइँदैन । तर, चासो भने अझै पाइन्छ । बाइडेन प्रशासनले ल्याटिन अमेरिकी देशलाई थप चिढ्याउन चाहेको पाइएको छैन । 

खासगरी अमेरिकाले लागू गर्ने भन्दा पनि यसलाई त्यस क्षेत्रका मुलुकले कसरी लिन्छन् भन्ने कुराले यसमा महत्व राख्छ । खासगरी त्यस क्षेत्रका मुलुकले यसलाई पछिल्लो समय विषाक्त मानेको पाइन्छ । त्यसलाई अमेरिकी बर्चश्वका रुपमा लिएको पाइएको छ । 

यो डक्ट्रिन सन् १८२३ मा आएपनि १८५० सम्म यसमा मुनरोको नाम पनि जोडिएको थिएन । त्यतिबेला सबै स्पेनी कोलोनीहरु या त स्वतन्त्र भएका थिए वा स्वतन्त्र हुने प्रक्रियामा थिए । मुनरोले नयाँ संसार र पुरानो संसार पुरै पृथक हुनुपर्ने जनाएका थिए । जसमा पश्चिमी गोलाद्र्धलाई अमेरिकी चासोको क्षेत्रमा रुपमा व्याख्या गरिएको छ ।

संसद्‌ छिर्‍यो भारतबारे वाग्लेको पाँच महिनाअघिको अभिव्यक्ति, एमालेले किन जनायो आपत्ति ?

अमेरिकाले पश्चिमी गोलाद्र्धका आफ्ना छिमेकीहरुबारे मुख्य रुपमा चासो व्यक्त गरिएको  छ । यद्यपि त्यो चासोलाई अमेरिकी महादेशका मुलुकहरुले उत्तिकै रुपमा समर्थन गरेको पाइँदैन । मुनरो डक्ट्रिनलाई पश्चिमी गोलाद्र्धमा अमेरिकाको महत्वपूर्ण नीतिका रुपमा लिने गरिएको छ । त्यसले युरोपेली मुलुकलाई थप उपनिवेश खडा गरेर ‘पपेट बादशाह’ नबनाउन चेतावनी दिएको छ ।

त्यतिबेला युरोपेली मुलुकलाई रोक्न त्यो आएपनि पछि अमेरिकी नीतिमा पश्चिमी गोलाद्र्धलाई हेर्ने नीतिका रुपमा अघि सारिएको थियो । त्यो डक्ट्रिन पहिलो पटक सन् १८६५ मा लागू गरियो जतिबेला मेक्सिकोका तत्कालीन राष्ट्रपति बेनितो जुवारेजलाई कुटनीतिक र मिलिटरी दबाब मार्फत समर्थन गरिएको थियो ।

जसले गर्दा बादशाह म्याक्सीमिलियनविरुद्ध विद्रोह गर्न जुवारेजलाई सजिलो भयो । म्याक्सिमिलियनलाई फ्रान्स सरकारको सहयोगमा मेक्सिकोमा गद्धीमा राखिएको थियो । उनी खासमा अष्ट्रियाका राजपरिवारका सदस्य हुन् ।

त्यसको मुख्य मजबुन अबको संसारमा कुनै पनि मुलुक उपनिवेश हुुनुहुन्न भन्ने थियो । त्यसो गर्न खोजिएमा अमेरिकाले प्रतिवाद गर्ने भनिएको थियो । त्यतिबेला नाबी र आर्मी नभएको अमेरिकाको सो डक्ट्रिन अष्ट्रियाका राजाले अस्वीकार समेत गरेका थिए । ल्याटिन अमेरिकी राष्ट्र केही सशंकित भएपनि समर्थनमा नै थिए ।

सन् १८४२ मा अमेरिकी राष्ट्रपति जोहन टेलरले हवाइमा मोनरो डक्ट्रिन प्रयोग गरेका थिए । त्यतिबेला हवाई अमेरिकामा ल्याउने प्रक्रिया चलिरहेको थियो । सन् १९०४ ताका युरोपेली क्रेडिटर्सले ऋण उठाउन ल्याटिन अमेरिकी देशलाई सैनिक प्रयोग गर्ने धम्की दिएका थिए । अमेरिकी राष्ट्रपति थियोडोर रुजवेल्टले यसमा अमेरिकी मुनरो नीतिको चर्चा गरेका थिए ।

यसअन्तर्गत १९०४ मा सान्तोडोमिंगोमा अमेरिकी मेरिन्स पठाइयो । सन् १९११ मा निकारागुवामा र सन् १९१५ मा हैटीमा पनि  पठाइयो । अन्य कतिपय मुलुकले यसलाई हस्तक्षेपका रुपमा पनि लिएका थिए ।

यो डक्ट्रिनपछि सन् १९६२ मा पनि प्रयोगमा आयो । जतिबेला सोभियत संघले क्युबामा मिसाइल लन्चिङ साइट बनाएको थियो । त्यसपछि राष्ट्रपति जोहन एफ केनेडीले नाभल र एयर क्वारेन्टाइन आसपासका आइल्याण्डमा पठाएका थिए । 

केही दिनको तनावपछि सोभियत संघले मिसाइल फिर्ता गर्न साइट भत्काउन सहमति जनाएको थियो । यससँगै अमेरिकाले टर्कीका आफ्ना एयर र मिसाइल बेस साइट भत्काएको थियो । यो प्रसंग र दृष्टान्त एकातिर छ, तर हाम्रा सांसद र संसदलाई यो विषय बेला न कुबेला किन आयो त्यो भने अस्पष्ट देखिन्छन् ।

अब दुई सय वर्षअघिको विषय जुन सम्बन्धित देशलाई नै अनुपयुक्त भयो भन्न थालिएको छ, त्यसमा जति माथापच्ची गरेपनि थप केही झर्नेवाला देखिएको छैन– सिवाय इतिहासको जानकारीबाहेक । (एजेन्सीको सहयोगमा)
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro