काठमाडौं । देशका केही नदी तथा खोलामा आज आकस्मिक बाढीको सम्भावना रहेको छ । रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुरका नदी तथा खोलामा बाढी आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मकवानपुर, लमजुङ, कास्की, पर्वत, सल्यान, सुर्खेत, दैलेख, अछाम र आसपासका जिल्ला भएर बग्ने अधिकांश नदी तथा खोलामा बहाव बढ्ने तथा केहीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान रहेको विभागले जनाएको छ ।
नदीको तटीय क्षेत्रबाट यात्रा गर्ने तथा बसोबास गर्नेले उच्च सावधानी अपनाउनुपर्ने विभागको भनाइ छ ।
आगामी तीन दिन महाकाली, कर्णाली र यसका प्रमुख सहायक नदीहरूको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान रहेको विभागले बताएको छ ।