काठमाडौं । वर्षासँगै देशका केही सानाठूला नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । कतिपय नदीमा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस दिन सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, पाल्पा, रुपन्देही, कपिलवस्तु, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर भई बहने अधिकांश साना नदीमा बहाव बढ्नेछ । यी जिल्लाका केही साना नदीमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिम रहने महाशाखाको अनुमान छ ।
यस्तै, ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धादिङ, मकवानपुर, प्युठान, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, बझाङ, दार्चुला र कैलाली भई बहने अधिकांश साना नदीमा पनि बहाव बढ्नेछ । ती क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूको जलसतह समेत बढ्दो हुनेछ । तर, ती नदीको जलसतह सतर्कता तहभन्दा तलै रहने अनुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि बढ्दो हुने महाशाखाको अनुमान छ ।