मंदारमाला कुलितालकायै
कपालमालांकृत शेखराय।।
दिव्याम्बरायै च दिगम्बराय
नमः शिवायै च नमः शिवाय।।
वर्षभरिका बाह्र महिनाको आआफनै विशेष महत्त्व छ । त्यस्तै प्रत्येक महिनाका सङ्क्रान्ति अर्थात् महिनाको पहिलो दिन १ गतेको पनि महत्त्व हुन्छ । हिन्दु धर्ममा साउन महिनाको आफनै विशेषता छ । साउने सङ्क्रान्ति, लुतोफाल्ने पर्व, हरेली सङ्क्रान्तिका नामले पनि यस दिनलाई नामाकरण गरेको पाइन्छ । सूर्य दक्षिणतिर सरेर ठीक कर्कट रेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । साउन १ गते सूर्य दक्षिणायन र माघ १ गतेका दिन सूर्य उत्तरायण हुनेहुँदा सनातन धर्ममा यी दुवै सङ्क्रान्तिको विषेश महिमा छ ।
कृषि प्रधान देश हुनाले मानो खाई मुरी उब्जाउने भन्ने कथनअनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्त साथीभाइका साथ रमाइलो गरी भोज खाने चलन छ । असारे हिलोका कारण छालासम्बन्धी फैलिन सक्ने रोगबाट जोगिन लुतो फाल्ने उद्देश्यले यो पर्व मनाउन थालिएको हो भन्ने मान्यता पनि छ । आज अनार, अमला, नासपाती, निबुवा, कागती, अम्बा आदि फलफूल चढाएर कण्डारक नामक राक्षसको पूजा गरेमा शरीरबाट दाद, लुतो, अरू खटिराजस्ता चर्मरोगहरूलाई जोगाउन सकिन्छ भन्ने जनविश्वास छ ।
सुदूरपश्चिम प्रदेशमा साउन १ गतेका दिन झिझिरकाँडी नामक वनस्पतीलाई घरको मुख्यद्वारमा र गाई गोठको ढोकामा तोरण बनाएर लगाइन्छ ( तंत्रमंत्रमा प्रयोग गरिने एउटा बुटी, कुरिलो प्रजातिको वनस्पति हो ।) डडेल्धुरामा यसलाई झिजराइन भनिन्छ । साउन महिनामा सर्प, कीरा फट्याङ्ग्राको डर हुने र घरभित्र नकारात्मक ऊर्जा प्रवेश हुनबाट रोक्न झिझिरकाँडीको प्रयोग गरिने मान्यता सुदूरपश्चिम समाजमा रहेको छ । यसबाट श्रावण र भाद्रको कालो रातमा सल्बलाएका नकारात्मक शक्तिको नाश हुन्छ भन्ने जनविश्वास आज पनि सुदूरपश्चिमको जनमानस छ ।
झिझिरकाँडीको विरुवा
चारैतिर हरियाली, किसानहरूले खेतमा रोपाइँ सिध्याएर थकाइ बिसाउने बखत महिलाका लागि विशेष उत्साही साउन सोमबारको ब्रतले आफ्नै मौलिकता र आध्यात्मलाई झल्काउँछ । शिव पुराणमा उल्लेख गरिएअनुसार भगवान शिवको पूजा रातिका बेला उत्तम मानिन्छ । शिवलाई वैदिक देवता पनि भनिन्छ जसको अर्थ कल्याण हुन्छ । साउन महिनाभरि नै शिवजीको आराधना गर्ने भनिए पनि उक्त महिनाको सोमबारको आफ्नै मौलिकता छ । मौसम र ऋतुहरूले व्यक्तिको मन मस्तिष्कमा तरङ्ग र ऊर्जा उत्पन्न गर्दछन् । शारीरिक क्रियाकलाप सक्रिय बनाउँछ । शास्त्रमा वर्णन गरिएको धार्मिक मान्यताअनुसार जब चतुर्मासमा भगवान विष्णु (साउन, भाद्र, असोज,कार्तिक) योगनिद्रामा जानुहुन्छ । त्यसबेला सृष्टिको पालन हेतु भगवान शिव पृथ्वीमा निवास गर्नुहुन्छ ।
अर्कोतर्फ मार्कण्डेय ऋषिले लामो आयुका निम्ति भगवान शिवको घोर् तपस्या गरेर दीर्घायुको वरदान पाए भन्ने मान्यता छ । सत्ययुगमा भगवान र दानव मिलेर अमृतको खोजी गर्न समुद्र मन्थनबाट विभिन्न रत्न निकाल्ने क्रममा कालकुट नामक विष हलाहल निस्कन थाल्यो । उक्त विषको प्रभावले सम्पूर्ण पृथ्वी नै विषमय हुने भयो । पृथ्वी र मानव जीवनलाई जोगाउन भगवान शिवले सम्पूर्ण विषको सेवन गर्नुभयो र विष सेवनपछि शरीरमा भएको जलन कम गर्न गोसाइकुण्डको उत्पत्ति गरेर आफ्नो जलन कम गर्नुभयो । यही कारण हो साउन महिनामा शिवलाई जलाभिषेक गर्ने प्रचलन रहेको छ । यस महिनामा प्रकृतिले नै रुद्राभिषेक गर्छ । शिव पुराणअनुसार शिव स्वयं जल हुन् । मानव जीवनका समस्त कष्टको संहार र मानवीय जीवनका सुखभोगका लागि साउन महिना र शिवजीको भक्ति, पूजा अर्चनाको महत्त्व छ । साउन महिनाभरि नै शिवजीको आराधना गर्ने भनिए पनि उक्त महिनाको सोमवारको आफ्नै मौलिकता छ ।
साउनमा पाँचवटा सोमवार पर्नु उत्तम मानिन्छ । भनिन्छ, पहिलोपटक व्रत बस्दा पाँचवटा सोमबार पर्दा प्रारम्भ गर्नुपर्छ । अटल सौभाग्यको आशीर्वादका निम्ति विवाहित र अविवाहित महिलाले साउने सोमबारलाई विशेष श्रद्धा र भक्तिका सात मनाउने गर्छन् । महिनाको अन्तिम सोमवारका दिन ब्राह्मणलाई बोलाएर व्रतको पारण गरेर समापन गरिन्छ । माता पार्वतीको प्रिय रंग हरियो भएकाले महिला हरियो चुरा, पोते, टीकामा सजिएर विभिन्न शिवालयमा गएर शिवजीको आराधना गर्नेगरेको देखिन्छ । सोमवारलाई शिवजीको प्रिय वार पनि भनिन्छ । साउनको सोमवार व्रत बसेर पूजा अर्चना गरी महामृत्युञ्जय मन्त्र, शिव पुराण, शिव रुद्राष्टकमको वाचन गरी शिवजीका प्रिय, जल, धतुरो, विल्वपत्र, समी, करवीरको फूल, आँकको फूल अर्पण गरेमा जीवनमा आइपर्ने समस्त दुःख कष्ट, रोग नाश भई सुखशान्ति पूर्ण जीवनको आशीर्वाद प्राप्त हुन्छ भन्ने मान्यता हिन्दु धर्मावलम्बीमा पाइन्छ ।