site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मनसुनजन्य विपद्ले १० वर्षमा लियो तीन हजार बढीको ज्यान, ७९१ जना बेपत्ता
SkywellSkywell

काठमाडौं । ३१ वर्षअघि अर्थात् २०५० साउन ५ गते मकवानपुरको टिस्टुङ वर्षा केन्द्रमा ५४० मिलिमिटर वर्षा मापन गरिएको थियो । त्यसअघि चौबिस घण्टामा त्यति ठूलो वर्षा नेपालमा मापन गरिएको थिएन ।

२०५० साउन ३ देखि ६ गतेसम्म अविरल ठूलो वर्षा देशैभरी भएको थियो । साउन ५ गते सबैभन्दा ठूलो वर्षा मापन गरिएको थियो । उक्त मनसुनजन्य विपद् (बाढी, पहिरो, भारीवर्षा र चट्याङ)ले नेपालको इतिहासमा एकै वर्ष सबैभन्दा ठूलो क्षति गरेको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार, २०५० साउन ५ गतेको मुसलधारे वर्षाले देशभर १ हजार १७० जनाको ज्यान लिएको थियो । पाँच लाख मानिस प्रभावित भएका थिए भने ४२ हजार ९९५ हेक्टर जग्गाका कृषि बालीलाई असर गरेको थियो ।

KFC Island Ad
NIC Asia

यो घटना भएको ३१ वर्षपछि अर्थात २०८१ असार २३ र २४ गते नेपालको इतिहासमै सबैभन्दा ठूलो वर्षा मापन गरियो ।
 
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागका अनुसार, यही असार २४ गते विहान २४ घण्टाको अवधिमा कञ्चनपुरको दोधारा वर्षा केन्द्रमा ६२४ मिलिमिटर वर्षा मापन गरिएको थियो ।

यस्तै, हनुमान नगर वर्षा केन्द्रमा ५७३.६ मिलिमिटर र सुन्दरपुर वर्षा केन्द्रमा ५५५.८ मिलिमिटर वर्षा मापन गरिएको थियो । 

Royal Enfield Island Ad

पछिल्लो ७८ वर्षको तथ्याङ्कले नेपालमा सबैभन्दा ठूलो वर्षा यस वर्षको मनसुनमा मापन गरियो । असार २३ र २४ गते सुदूरपश्चिम क्षेत्रमा परेको नेपालको इतिहासकै सबैभन्दा ठूलो वर्षाले तीन जनाको ज्यान लियो । वर्षाले १ हजार ३०० घर परिवार प्रभावित भए ।
 
२०५० सालको भन्दा ठूलो वर्ष यस वर्ष भएको थियो । तर वर्षाले मानवीय, भौतिक तथा आर्थिक क्षति भने २०५० सालको तुलनामा यस वर्ष निकै कम गरेको छ । के नेपालको विपद् व्यवस्थापन क्षमतामा सुधार भएको हो ?

“पहिलेको तुलनामा विपद् व्यवस्थानमा धेरै सुधार भएको छ । प्रविधिको विकास र प्रयोगले विपद्बाट हुने क्षति कम गराउन मद्दत गरेको छ,” प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बाह्रखरीसँग भने, “यसको उदाहरण २०५० साल र यस वर्ष (२०८१) को सबैभन्दा ठूलो वर्षालाई लिन सकिन्छ । हाम्रो विपद् व्यवस्थापन क्षमतामा सुधार भएकै कारण क्षति कम भएको हो ।”

ठूलो वर्षा हुँदा पनि क्षति कम हुनु पछाडि केही कारण छन् । कञ्चनपुर र आसपासका क्षेत्रमा ठूलो वर्षा हुनु अगावै र वर्षा भइरहेको बेला जल तथा मौसम विज्ञान विभागले स्थानीय प्रशासन र नदी किनारका समुदायलाई मोबाइल फोनमा सूचना पठाई सतर्क गराएको थियो । नदीको जलसतह बढ्दै गरेको जानकारी छिनछिनमा दिइएको थियो ।

“मोबाइलमा पठाइएका सूचनाले स्थानीय प्रशासन र समुदायलाई सतर्क रहन र जोखिम आइपरे तत्काल सुरक्षित स्थानमा सर्न सघायो,” प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले भने ।

विभागको सूचनाका आधारमा स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले नियमित रूपमा नदीको सतहको अनुगमन गरेका थिए । पुनर्वास, लालझडी र बेलौरी नगरपालिकाका विपद् जोखिम न्यूनीकरण (डीआरआर) फोकल पर्सन र वडा अध्यक्षको नेतृत्वमा ‘स्मार्ट साइरन’  सञ्चालनमा ल्याइएको थियो ।

केन्द्र र स्थानीय स्तरबाट आएका चेतावनीमूलक सूचनाले समयमै स्थानीयवासीको उद्धार र उनीहरुलाई आफ्ना सामानसहित उच्च भू–भागमा सर्न मद्दत मिलेको थियो । पानी निरन्तर बढ्दै जाँदा तटबन्धमा भत्किन थालेका थिए । स्थानीय सहोगमा बोरामा बालुवा, माटो, ढुंगाहरु राखी नदी किनारमा पर्खाल बनाई पानी छेक्ने काम गरिएको थियो ।

प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले भने, “वर्षाको पूर्व जानकारी दिने प्रणालीको विकासले सबै प्रकारका क्षति कम गर्न सघाएको छ ।” 

प्रविधिको प्रयोगले सुदूरपश्चिम क्षेत्रमा मनसुनजन्य विपद्ले गर्ने क्षति घटाएको भए पनि चितवनमा भने ठूलो क्षति बेहोर्नुपर्यो । 

असार २८ गते विहान चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा आएको पहिरोमा परी दुई वटा यात्रुवाहक बस त्रिशुली नदीमा खसेका थिए । दुई वटा बसमा ६० जनाभन्दा बढी यात्रु रहेका थिए । बसमा रहेका ३ जना यात्रु हाम्फालेर बाँच्न सफल भएका थिए ।

बस त्रिशुलीमा खसेको तीन दिन हुँदा पनि न बस भेटिएको छ न यात्रुहरु नै । नेपाल प्रहरीका अनुसार, आइतबार साँझसम्म ५ जनाको शव मात्र नदी किनारमा भेटिएका छन् भने ५७ जना यात्रु बेपत्ता छन् ।

वर्षाको समयमा उक्त सडक मार्गको जोखिम आँकलन गर्न नसक्दा र घटना भइसकेपछि खोजी तथा उद्धार गर्न अत्याधुनिक प्रविधि तथा उपकरण नहुँदा बेपत्ता भएकाको खोजीमा कठिनाइ भएको छ ।
 
एक महिनामै झण्डै दुइगुणा मानवीय क्षति

गतवर्षको मनसुनमा विपद्ले जति मानवीय क्षति गरेको थियो त्योभन्दा झण्डै दुईगुणा मानवीय क्षति यस वर्ष (२०८१) मनसुन सुरु भएको एक महिना गरेको छ । 

यसवर्ष जेठ २८ गतेबाट नेपालमा मनसुन प्रवेश गरेको थियो । नेपाल प्रहरीको तथ्याङ्क अनुसार, जेठ २८ देखि असार ३० गते दिउँसोसम्म मनसुनजन्य विपदका घटनामा परी १०८ जनाको मृत्यु भइसकेको छ ।
 
गत वर्ष २०८० जेठ ३० गते नेपालमा मनसुन प्रवेश गरेको थियो । मनसुन १२४ दिन सक्रिय रहेको थियो । प्राधिकरणका अनुसार उक्त अवधिमा देशभर ७६९ वटा विपद्का घटना भएका थिए । ती घटनामा परी ६३ जनाको मृत्यु, ३० जना बेपत्ता र ५ हजार ९३७ परिवार प्रभावित भएका थिए ।

उक्त समयमा मनसुनजन्य विपद्बाट सर्वसाधरणले ३३ करोड २२ लाख रुपैयाँ बराबरको भौतिक क्षति व्यहोरेका थिए ।

२०८० जेठ २८ देखि असार ३० गते दिउँसोसम्म ६२५ भन्दा बढी मनसुनजन्य विपद्का घटना रेकर्ड भएका छन् । ती घटनामा परी ६१ जना बेपत्ता, ११९ जना घाइते भएका छन् । यस अवधिमा विपद्का घटनाबाट ३ हजार ५५२ घर परिवार विस्थापित भएका छन् ।

दश वर्षमा तीन हजार बढीको मृत्यु 

नेपालमा वर्षेनी मनसुनजन्य विपद् (बाढी, पहिरो, भारीवर्षा, चट्याङ)का घटनाले ठूलो मानवीय र आर्थिक क्षति गर्ने गरेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्क अनुसार पछिल्लो १० वर्षमा नेपालमा रेकर्ड भएका ८ हजार ४४१ वटा मनसुनजन्य विपद्का घटना भएका छन् ।

२०७१ वैशाख देखि २०८० चैत्रसम्मको अवधिमा मनसुनको दौरान १ हजार ६०२ वटा बाढी, २ हजार ८४० पहिरो, १ हजार ५९७ वटा भारीवर्षा र २ हजार ४०० वटा चट्याङका घटना घटेको देखिन्छ ।

ती घटनामा परी ३ हजार ५२ जनाको मृत्यु, ७९१ जना बेपत्ता र ४ हजार १७६ जना घाइते भएका थिए । उक्त अवधिमा मनसुनजन्य विपद्का घटनाले १६ हजार ५४ व्यक्तिगत घर टहरामा पूर्ण क्षति र ४६ हजार ६९ घरटहराहरूमा आंशिक क्षति गरेको थियो ।
 
बितेको १० वर्षम सबैभन्दा ठूलो मानवीय क्षति पहिरोका घटनाले गरेको छ । उक्त अवधिमा पहिरोमा परी १ हजार ३१४, चट्याङ लागेर ८८५, बाढीमा परी ७४७ र भारीवर्षाका कारण १०६ जनाको मृत्यु भएको केन्द्रको तथ्याङ्कले देखाउँछ ।

केन्द्रका अनुसार, पछिल्लो १० वर्षमा मनसुनजन्य विपद्का घटनाले १८ अर्ब ७१ करोड रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ । 

प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलका अनुसार, देशको भौगोलिक तथा जलवायुको अवस्था, हरित ग्यास उत्सर्जनका कारण जलवायुमा भइरहेको सुक्ष्म परिवर्तनले विपद् निम्त्याएको छ । अव्यवस्थित मानव बस्ती विकास, अनियन्त्रित प्राकृतिक स्रोतको दोहन पनि विपद्का कारण बनेको छ ।

उनी जथाभावी हुने गरेका संरचनाहरूको निर्माण तथा विपद् प्रतिकार्मा रहेका कमी कमजोरी लगायतका कारणहरूबाट मनसुनजन्य विपदका घटनाहरू घट्दा ठूलो जनधनको क्षति हुने गरेको बताउँछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro