site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन : अर्थमन्त्री

काठमाडौं । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट बाधक नबन्ने बताएका छन् ।

सोमबार राष्ट्रपतिको कार्यालयमा शपथग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै उनले नवगठित सरकारले तय गर्ने कार्यदिशालाई आउँदो आर्थिक वर्षको बजेटले समस्या नपार्ने विश्वास व्यक्त गरे । उनले बजेट कार्यान्वयनमा कुनै समस्या देखिए त्यसलाई प्रक्रियागत रूपमा संशोधन गर्न सकिने बताए ।

“सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन । यदि, बाधा देखियो भने कसरी फुकाउने भनेर कानुनी र संवैधानिक व्यवस्था छन्, सोहीअनुसार संशोधन प्रक्रियामा जान्छौँ,” अर्थमन्त्री पौडेलले भने ।

संसद्का दुई ठूला दलसहितको संयुक्त सरकारसँगै राजनीतिक स्थिरताको सन्देश दिइएको उनले उल्लेख गरे । उनले नयाँ सरकार गठनसँगै मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गरे ।

“अहिलेको निराशा चिर्ने र आशा जगाउने गरी सरकार अगाडि बढ्छ । उत्पादन र रोजगारीमा केन्द्रित भएर अघि बढ्नेछौँ । यसका लागि सबै क्षेत्रले परिवर्तित सन्दर्भमा सहयोग गर्ने अपेक्षा गरेको छु,” उनले भने, “सेयर बजार अर्थतन्त्रको ऐनाका रूपमा रहेकाले यो क्षेत्र सन्तुलित ढंगले अघि बढोस् भन्ने चाहना छ ।”

अर्थमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेसँगै पौडेलले विकास वित्तका क्षेत्र पहिचानका निम्ति अध्ययन गरिनेसम्बन्धी पहिलो निर्णय गरेका छन् ।

मन्त्री पौडेलको उपप्रधानमन्त्रीका रूपमा यो तेस्रो र अर्थमन्त्रीका हिसाबले चौथो कार्यकाल हो । उनी प्रतिनिधिसभा निर्वाचन, २०७९ मा रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

वि.सं. २०५१ मा पहिलोपटक सांसद बनेका पौडेल ०६४ र ०७० मा संविधानसभा सदस्य थिए । उनले संविधान अभिलेख, अध्ययन तथा निर्क्योल समितिको सभापति (२०७०)का रूपमा काम गरेका थिए ।

नवनियुक्त अर्थमन्त्री पौडेलले यसअघि ०५३ मा युवा, खेलकुद तथा संस्कृतिमन्त्री, ०६५ मा जलस्रोतमन्त्री र ०६७ मा रक्षामन्त्रीका रूपमा काम गरिसकेका छन् ।

उपप्रधान एवं अर्थमन्त्री पौडेलले ०३५ देखि ०४६ सालसम्म भूमिगत जीवन बिताएका थिए । ०३७ सालमा तीन वर्ष जेल र तीन हजार रुपैयाँ जरिवाना सजाय गरिएकामा उनले ४५ दिनमा जेल विद्रोह गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को प्रभावशाली नेताका रूपमा परिचित उपप्रधानमन्त्री पौडेल चार दशकदेखि राजनीतिमा सक्रिय छन् । उनी अहिले एमाले उपाध्यक्षको जिम्मेवारीमा छन् ।

उनी अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोओर्डिनेसन कमिटी (माले)को सदस्य भएर ०३५ साल असोजमा राजनीतिमा प्रवेश गरेका थिए । मन्त्री पौडेलले ०३५ मंसिरदेखि पूर्णकालीन सदस्य भएर त्यसमा काम गरेका थिए ।

०४१ मा नेकपा (माले)को जिल्ला कमिटी सचिव, ०४७ मा नेकपा (एमाले)को केन्द्रीय कमिटी सदस्य र ०५९ मा एमाले स्थायी कमिटी सदस्य भएर उनले काम गरिसकेका छन् ।

०६५ मा एमाले सचिव, ०७१ मा नवौँ महाधिवेशनपछि एमाले उपमहासचिव र ०७५ सालमा एमाले महासचिवको जिम्मेवारी लिएर उनले काम गरेका थिए ।

वि.सं. २०१६ मंसिर १६ गते स्याङ्जामा जन्मिएका नवनियुक्त अर्थमन्त्री पौडेलको स्थायी ठेगाना रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ हो । हाल उनी ललितपुरमा बस्दै आएका छन् । रासस

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro