site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सेमिफाइनलबाट बाहिरिएपछि भारको निर्णयप्रति डच प्रशिक्षक आक्रोशित

काठमाडौं । नेदरल्यान्ड्सका प्रशिक्षक रोनाल्ड कोम्यानले ‘फुटबललाई टुक्राएको’ भन्दै भिडियो असिस्टेन्ट रेफ्री (भार)को निर्णयप्रति आक्रोश पोखेका छन् । युरो–२०२४ को सेमिफाइनलमा बुधबार इंग्ल्यान्डसंग २–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि कोम्यान भारको निर्णयप्रति आक्रोशित बनेका हुन् । 

जर्मनीको डर्टमन्डमा भएको खेलमा जाभी सिमोन्सको शक्तिशाली प्रहारबाट डच टिमले सुरुआती मिनेटमै अग्रता बनाएको थियो । तर, ह्यारी केनले प्राप्त पेनाल्टीलाई सदुपयोग गरेपछि ग्यारेथ साउथगेटको टोली खेलमा फर्किएको थियो । डेन्जेल डम्फ्रिजले पेनाल्टी क्षेत्रमा केनमाथि नै फाउल गरेपछि इंग्लिस टिमले भारको सहयोगमा पेनाल्टी पाएको थियो ।

रेफ्री फेलिक्स ज्वायरले पहिले फाउलको निर्णय नगरे पनि इंग्ल्यान्डले भारबाट पेनाल्टी पाएको थियो । जसमा केनले कुनै गल्ती नगरी बललाई जालीको दिशा दिए । ९०औँ मिनेटमा ओले वान्ट्किन्सले निर्णायक गोल गरेपछि इंग्ल्यान्ड लगातार दोस्रोपटक युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो । 

“मेरो विचारमा यो पेनाल्टी हुनुपर्ने थिएन । उसले बल प्रहार गरेको थियो र बुटमा छोइएको थियो । हामीले भारको कारण राम्रोसँग खेल्न सकेनौँ । यसले साँच्चै फुटबललाई टुक्राएको छ,” खेलपछि नेदरल्यान्ड्सका प्रशिक्षक कोम्यानले आक्रोस पोखे । 

इंग्ल्यान्डका पूर्वरक्षक तथा टेलिभिजन प्रस्तोता ग्यारी नेभिलले पनि नेदरल्यान्ड्ससँग आक्रोशित हुने पूर्ण अधिकार रहेको बताए । “एक रक्षकको रूपमा यो पक्कै पनि निकै अनुचित निर्णय थियो,” नेभिलले भने, “त्यहाँ पेनाल्टी हुनुपर्ने कुनै आधार थिएनन् । उनी प्राकृतिक रूपमै प्रहारलाई छेक्न गएका थिए । मेरो लागि त्यो पेनाल्टी थिएन ।” 

नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइकले पनि पेनाल्टीको निर्णयप्रति असन्तुष्टि पोखे । “मलाई लाग्छ पेनाल्टीको उक्त क्षण खेलकै महत्त्वपूर्ण थियो । त्यसबाट इंग्ल्यान्डले आत्मविश्वास पायो । खेलमा धेरै निर्णय हाम्रो पक्षमा रहेन । तर, म रेफ्रीबारे बोल्न चाहन्न,” भान डाइकले भने । लगातार दोस्रो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको इंग्ल्यान्ड अब उपाधिका लागि स्पेनसँग खेल्ने छ ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro