site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गठबन्धनको ‘ग’ र सरकारको भविष्यबारे ‘स’ उच्चारणबिनाको शीर्ष नेताका भाषण
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सत्ताकै प्रमुख घटक नेकपा (एमाले)ले सहयात्री दल सत्तारूढ नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन बहिष्कार गर्‍यो ।

कमलादीस्थित प्रज्ञा भवनमा आइतबार भएको उद्घाटन सत्रमा एकीकृत समाजवादीले संसद्‌मा प्रतिनिधित्व गर्ने र समाजवादी मोर्चामा रहेका दललाई निम्तो पठाएको थियो ।

पार्टी गठनको तीन वर्ष नपुग्दै एकीकृत समाजवादी दशौँ महाधिवेशन गएको हो । यो एमालेबाटै विभाजित दल हो ।

Agni Group
NIC Asia

संसद्‌मा प्रतिनिधित्व एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी महाधिवेशको उद्घाटन समारोहमा अनुपस्थित रहे । 

अरू दलका अध्यक्ष र सभापति उपस्थित भएका थिए । एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठका अनुसार, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निमन्त्रणा पठाइएको थियो ।

Global Ime bank

एमाले नेताहरूले आइतबार बिहानसम्म ओली नजाने तर प्रतिनिधि पठाइने बताएका थिए । तर, ओली सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र गृहमन्त्री रवि लामिछानेसँग भेटमा व्यस्त भए ।

त्यसपछि पार्टीले राखेको एक सार्वजनिक कार्यक्रममा सहभागी बने । तर, सत्तारूढ घटकको महाधिवेशनमा प्रतिनिधि पनि पठाएनन् । अर्थात्, एमालेले महाधिवेशन बहिस्कार गर्‍यो ।

०७८ भदौमा एमालेबाट छुट्टिएको पार्टीले १०औँ महाधिवेशन गर्दा एमालेको अनुपस्थितिले उक्त पार्टीलाई पार्टी नै स्वीकार नगरेको टिप्पणी पनि भइरहेको छ ।

एमाले अध्यक्ष ओली र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीचको टकराब कायम छ । तथापि, वर्तमान गठबन्धन निर्माण हुँदा ओलीले माधव निवास गएरै सरकारमा सामेल हुन आग्रह गरेका थिए । 

सत्तामा हुँदा पनि टकराबका कारण नेपाल असन्तुष्ट हुँदै आएका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एकीकृत समाजवादीले विद्रोहको औचित्य पुष्टि गर्न नसकेकाले महाधिवेशनमा जानुपर्ने आवश्यकता महसुस नगरिएको जिकिर गरे ।

“महाधिवेशनमा एमालेको उपस्थिति भएन । एमालेमाथिका मुद्दा उठेका छन् । एमाले विभाजनको औचित्य पुष्टि गर्न नसकेर राष्ट्रिय पार्टी पनि बन्न सकेन,” उनले बाह्रखरीसँग भने, “हामीले त्यहाँ गएर आफ्नो धारणा राखिरहनुपर्ने आवश्यकता ठानेनौँ ।”

उता, अध्यक्ष नेपालले एमालेको अनुपस्थितिबारे उद्घाटन सत्रमै बोले । आफूले ओलीको फोन नलागेछि पीए (निजी सहयोगी)लाई फोन गरेको र म्यासेज पठाएको सुनाए ।
 
“तपाईंहरूको मनमा जिज्ञासा होला, एमाले किन आएन भन्ने होला ? मैले आफैँले दशौँपटक फोन गरेको छु । फोन नलागेपछि पीएहरूलाई पनि लगातार फोन गरेको छु, एउटा पीएले भएन, अर्को पीएलाई गरेको छु,” कार्यक्रममा नेपालले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सुनाउँदै नेपालले भने, “कस्तो फोन ! प्रधानमन्त्रीज्यू ! तपाईंको टेलिकम्युनिकेसनलाई सुधार गर्नुपर्‍यो । म्यासेज पठाइदिएको छु, डिटेलमा । म्यासेज पाएको सूचना पनि भएको छ ।”

उनले पार्टी विभाजनको घाउ आलै भएकाले पचाउन नसकेको ठम्याइ प्रस्तुत गरे ।

“भर्खर तीन वर्षको घाउ, अझै पनि आलो छ, त्यसैको असर बाँकी होला, राजनीतिमा यस्ता कुरा पचाएर जान सक्नुपर्छ,” उनले भने, “नआएकाप्रति धेरै गुनासो नगरौँ ।’’

उनले सबैप्रति सद्भाव राखेर जान सक्नुपर्ने बताए । उनले भने, ‘‘कुनै घृणाभाव राख्न जरुरी छैन । यो यात्रामा यस्तो भइरहन्छ । अगाडि बढिन्छ । लक्ष्यमा पुगिन्छ ।”

बोल्न बित्तिकै निष्किए देउवा 

कार्यक्रमका विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अरू बेलामा भन्दा असहज महसुस गरेजस्तो देखिन्थे ।

कार्यक्रमका विशेष अतिथि देउवा खासै लामो बोल्दैनन् । उनले कार्यक्रममा छोटो बोल्नुस् भनेको विषयमा व्यंग्य भने हान्न भ्याए ।

उनले अरू बेलामा छोटो बोल्छ भनेको हुँदा आफूले लेखेर ल्याएको सुनाउँदै भन्न पाइँदैन कि भनी व्यंग्य गरे ।

लेखेकै भए पनि अरू नेताको भन्दा उनको शुभकामना मन्तव्य छोटै थियो । उनी पछि प्रधानमन्त्री बोल्ने कार्यसूची थियो । तर, देउवा आफू बोल्नबित्तिकै निस्किए ।

उनले अरू प्रधानमन्त्री र नेपालको मन्तव्य नराख्दै कार्यक्रम स्थलबाट बाहिरिए । शनिबारमात्र एमाले अध्यक्ष ओली र देउवाबीच लामै संवाद भएको थियो ।

बालकोटमा भएको संवादले गठबन्धन नै फेरिन लागेको आशंका राजनीतिक पंक्तिमा छ । जसले एकखालको तरंग पैदा भएको छ । आजको कार्यक्रममा शीर्ष नेताहरूको कानेखुसी देखिएन ।

प्रधानमन्त्रीको आक्रोश 

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड ‘बडी ल्याङ्ग्वेज’ पनि सदाजस्तो नदेखिएको आकलन महाधिवेशन प्रतिनिधिहरूले सुनाए । 

एकीकृत समाजवादीसँग पार्टी एकताको चाहना प्रस्तुत गरे । उनले एकताका लागि प्रयास भइरहेको सुनाए । तर, एकीकृत समाजवादीको राजनीतिक प्रतिवेदनमा आफूलाई ‘अस्थिर’ भनेकोप्रति आक्रोशित बने ।
 
“अलि नजिकको मित्र पनि भन्नुभएको छ । साथसाथै अलिक अस्थिर पनि भन्नुभएको छ । तपाईंहरूलाई भन्ने अधिकारमाथि प्रश्न उठाउन चाहन्न,” उनले भने ।

प्रधानमन्त्री प्रचण्डले आफू अस्थिर नभएको भए ‘जनयुद्ध’ नहुने भन्दै शान्ति सम्झौता पनि त्यसैको उपज भएको जिकिर गरे । “युद्धबाट शान्तिमा आयो भने गतिशीलता हो, अस्थिरता होइन,” उनले भने ।

त्यसलगत्तै एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आफूले जवाफ दिन नखोजेको भन्दै दस्तावेजमा अरू कुरा पनि गरिएको स्पष्टीकरण दिए ।  

सरकार र गठबन्धनबारे शीर्ष नेताहरूको मौनता 

सत्ता गठबन्धनका नेताहरूले यसको आयुबारे बोल्न छुटाउँदैनन् । गठबन्धनका नेताहरूको असन्तुष्टि वा विपक्षी दलका नेतासँगको भेटघाटपछि प्रधानमन्त्रीले गठबन्धन टिक्ने दाबी गर्दै आएका छन् ।

तर, विपक्षी दलको नेता र एमाले अध्यक्षको भेटले तरंगित बनेको अवस्थामा प्रचण्ड गठबन्धनको आयुबारे मौन रहे । उनले गठबन्धनको आयुबारे केही बोलेनन् ।

त्यस्तै, एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनाल, अध्यक्ष नेपाललगायतका शीर्ष नेताहरू गठबन्धन र सरकारको भविष्यबारे मौन रहे ।

बरु, एकीकृत समाजवादीका अध्यक्ष नेपालले संसद् विघटनको विषय उप्काए ।

उनले एमाले अध्यक्ष ओलीले संसद् विघटनलाई ठिक भन्ने गरेको स्मरण गर्दै फेरि गर्न सक्नेतर्फ होसियार रहन आग्रह गरे । 

“प्रधानमन्त्रीज्यू विघटन गरेर ठिक गर्‍यौँ भनेर कतिपयले बोल्ने गर्छन् । हिजो विघटन गरेर ठिक गर्‍यौँ भन्नेहरूले भोलि फेरि विघटन गर्देलान्, ख्याल गर्नुस्,” नेपालले भने, “विघटन गर्नुपर्ने आवश्यकता छैन । हामी पनि छौँ । संख्या कम छ भनेर आत्तिनु पर्दैन । जनताको भोटले पनि हुँदो रहेनछ ।”

उनले समाजवादी मोर्चामा आउन एमालेलाई आग्रह गरिए पनि सहकार्य गर्न नमानेको बताए ।

गठबन्धन भत्किन लागेको हो ?

एमाले प्रचार विभाग प्रमुख गौतम महाधिवेशनमा नजाँदैमा गठबन्धन भत्किने भन्ने नहुने बताउँछन् ।

“महाविधेशनमा नजाँदैमा गठबन्धन भत्किने र नभत्किने भन्ने हुँदैन,” उनले भने, “सत्तारूढ र विपक्षी दलका नेताहरूको धेरै कुरा हुन्छन् । भेट्दैमा गठबन्धन परिवर्तन हुन्छ भन्ने हुँदैन ।”

माओवादी नेताहरूले भने हिजोको भेटपछि गठबन्धन परिवर्तन हुन खोजेको आशंका गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  २१:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय