काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गलत प्रवृत्तिका विरुद्धमा नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरू समाजलाई रूपान्तरण गर्न, समाजवादी दिशामा जान चाहेको बताए ।
"यो सांस्कृतिक जागरणको अभियन्ताको रूपमा तपाईंहरूले नयाँ नयाँ गीतहरूको रचना गर्नुपर्छ । नयाँनयाँ नाटकहरूको रचना गर्नुपर्छ । नयाँनयाँ विधाका योग्य र सक्षम युवाहरूलाई अगाडि बढाउनुपर्छ । यी खुबी र क्षमता भएका युवाहरू देशका विभिन्न ठाउँमा छरिएका छन्," उनले भने ।
अध्यक्ष नेपालले नेपालको कम्युनिस्ट आन्दोलनमा आफूहरूले विद्रोहको ज्वाला दन्काएको पनि जिकिर गरे । कम्युनिस्ट आन्दोलनमा देखापरेका विकृति, विसंगतिविरुद्ध विद्रोहको ज्वाला दन्काएको उनको दाबी छ ।
"हामी सबैलाई थाहा छ, नेपालको कम्युनिस्ट आन्दोलनमा हामीले जुन पहल गरेका छौँ । विद्रोह गर्ने आँट गरेका छौँ, कम्युनिस्ट आन्दोलनमा देखापरेका विकृति, विसंगतिविरुद्ध विद्रोहको ज्वाला दन्काएका छौँ । एक्लै भए पनि अघि बढ्ने हिम्मत गरेका छौँ । एक्ला चलो, एक्ला चलो, एक्ला चलो रे भन्दै हामी अघि बढ्यौँ," उनले भने ।