site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जादुगरजस्तो उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिऊँ : गगन थापा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरू पार्टी निर्माणमा लाग्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनमा उनले यस्तो बताएका हुन् ।

आउँदो निर्वाचनमा कांग्रेसले कम्तीमा १०० सिट ल्याउने गरी लाग्न उनले पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे । ०८४ सम्म कांग्रेसले सरकारतिर फर्किएर हेर्नै नहुने र योबीचमा पार्टी निर्माणमा लाग्नुपर्नेमा उनले जोड दिए ।

Argakhachi Cement Island Ad

उनले ‘जादुगरजसरी यताउति उफ्रिने काम’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छोडिदिन आग्रह गरे ।

महामन्त्री थापाले कांग्रेसले ०८४ मा कम्तीमा ४० प्रतिशत मत ल्याउने गरी पार्टी निर्माणमा लाग्नुपर्ने बताए ।

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनमा गगन थापाको भनाइ पढ्नोस्–
यो सरकार जसले चलाइरहेको छ, यसलाई चलाउन दिऊँ । एमाले, माओवादी, घण्टीबन्टी, जोजोले चलाएका छन्, चलाउन दिऊँ । चलाऊन् । सरकारतिर हामी हेर्दै नहेरौँ । र, यत्ति राम्रोसँग हामी पार्टी निर्माण गरौँ कि पार्टीलाई स्वच्छ पनि पारौँ, बलियो पनि बनाऔँ । तलैबाट पार्टीको एकता पनि गरौँ । हार्दिकता पनि बनाऔँ । धेरै पनि भन्दिनँ म, २०८४ सालमा कम्तीमा पनि १०० सिट जित्ने गरीकन र ४० प्रतिशत मत ल्याउन सक्ने गरीकन गयौँ भने यही मिश्रित प्रणालीमा एकल सरकार चलाउने तागत मात्रै होइन, संविधानमा लेखिएका यी कुराहरूलाई सकारात्मक ढंगले कार्यान्वयन गर्न सक्ने त्यो तागत पनि नेपाली कांग्रेसले राख्छ । त्यस्तो तागत भएको पार्टी नेपाली कांग्रेसलाई बनाउनुपर्छ । यता मिल्ने, उता मिल्ने, ऊसँग मिल्ने कुरा छोडिदिऊँ । म जादुगर हो भनेको जस्तो गरी यता उफ्रिने, उता उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिऊँ । यो उहाँहरूकै जिम्मा हो । योबीचमा पार्टी निर्माण गर्ने काममा लागौँ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १६:१५
प्रतिक्रिया दिनुहोस्